कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रानीटारमा हिले जात्राको रौनक [तस्बिरहरु]

लक्ष्मी गौतम

पाँचथर — फिदिम नगरपालिका-७ रानीटारको बराजु रंगशाला शनिबार अपराह्न सांस्कृतिक भेषभुषामा सजिएका बालबालिकाले भरिभराउ थियो । हिले अर्थात् रोपाइँ जात्रा मनाउन नजिकैको रानीटार माध्यमिक र सगरमाथा आधारभूत विद्यालयबाट विद्यार्थी यहाँ आइपुगे । पानी जमेको रंगशालामा गोरु र घोडाको स्वरुपमा सजाइएका विद्यार्थीमध्ये केहीले गोरु जोतेको, केहीले दाँते र फ्यारी लगाएको र केहीले बाउसे गरेको नक्कल गर्न थाले ।

केहीबेरपछि खेतका मालिक सुरक्षाकर्मीसहित मैदान प्रवेश गरेर रोपाइँ सुरु गर्न आदेश दिए । लगत्तै लामबद्व भएर आएका छात्राले रोपाइँ सुरु गरे । करिब दुई सयको संख्यामा आएका विद्यार्थीले एकसाथ रोपाइँ सुरु गर्दाको दृश्य दर्शकले केहीले ओत लागेर, केहीले रुझ्दै त धेरै जसोले छाता ओढेर हेरिरहे ।

रोपाइँ जात्रामार्फत यस क्षेत्रमा रहेका राई, लिम्बू, मगर, गुरुङ, सुनार, ब्राहृमण र क्षेत्रीसहित विभिन्न जात जातिको संस्कृति र भेषभुषाको संरक्षणसॅगै विद्यार्थीलाई जीवनोपयोगी कृषि प्रणाली र धानखेती प्रविधिको ज्ञान र सिप हस्तान्तरण गर्न खोजिएको फिदिम-७ का वडाध्यक्ष रुपेन्द्र तामाङले बताए । यो जात्रा २०३८ सालदेखि भदौ ४ गते बाल दिवसको अवसर पारेर आयोजना गर्न थालिएको इतिहास छ । ०३८ सालमा तत्कालीन मुमा बडामाहारानी रत्नराज्य लक्ष्मीदेवीको जन्मोत्सवको अवसर पारेर सुरु गरिएको इतिहासका जानकार रानीटार माविका पूर्वप्रधानाध्यापक भक्त राई बताउँछन् । पछि माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका कारण २०५८ देखि २०६९ सम्म सञ्चालन हुन सकेन । मुलुकमा गणतन्त्र स्थापना भएपछि भदौ २९ गते बाल दिवसका अवसरमा जात्रा देखाउन थालिएको पनि राईको भनाइ छ ।

प्रकाशित : भाद्र २९, २०८१ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्