कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

बसन्तपुरमा इन्द्रजात्रा [फोटोफिचर]

तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मंगलबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली जात्रामा सहभागी भएका छन् । आजको दिन मुख्य रूपमा मनाइएको इन्द्रजात्रा पर्वमा राष्ट्रपति पौडेलबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जंगलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिंगोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । 'भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्राध्यापक देवमणि भट्टराईले बताए ।

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लागेको छ ।


प्रकाशित : आश्विन १, २०८१ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्