कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

तिम्बुङ पोखरी क्षेत्रमा यसरी दौडिए धावक [तस्बिरहरु]

लक्ष्मी गौतम

पाँचथर — मान्छे हिँडेर पुग्नै हम्मे हम्मे पर्ने तिम्बुङ पोखरी क्षेत्रमा देश विदेशका धावकलाई निम्तो गरेर ट्रेल रेसको आयोजना गरिएको छ । समुद्री सतहदेखि ४ हजार ३ सय ५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीदेखि पाङदुवासम्मको ८ किलोमिटर लामो चट्टानी सडकमा दौडेका धावकले यो क्षेत्र धार्मिक र पर्यटकीय क्षेत्रसॅगै पदयात्रा र साहसिक दौडका लागि उत्कृष्ट गन्तव्य भएको सन्देश दिए ।

यस क्षेत्रको पर्यटकीय सम्भावना, जैविक विविधता र धार्मिक विश्वासलाई प्रचार गर्दै साहसिक पर्यटनको सम्भावना खोज्न पहिलो पटक तिम्बुङ पोखरी ट्रेल रेसको आयोजना गरिएको आयोजक समितिका संयोजक अमिर राईले जानकारी दिए । दौडमा यस क्षेत्रमा वर्षौंदेखि चौंरी पाल्दै आएका पशुपालकसॅगै नेपालका विभिन्न स्थानमात्रै नभएर छिमेकी मुलुक भारत र सिक्किमबाट आएका ३ महिलासॅगै ३० जना धावक एकै ठाउँबाट दौडिए ।

प्रतियोगितामा सहभागी भएका २९ जना धावकलाई पछि पार्दै ३३ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गरेर पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई प्रथम स्थान हासिल गर्न सफल भए । सुरुवाती चरणबाटै उनलाई पछ्याइरहेका छिमेकी भारतको सिक्किमका पिङ्सो नाम्ग्याल भुटियाले यो दूरी ३६ मिनेट ७ सेकेण्डमा पार गरेर द्वितीय स्थान ओगटे ।

तिम्बुङ पोखरीकै चौंरी पालक भरत बानियाँले ३६ मिनेट ३७ सेकेण्डमा दूरी पार गरेर तेस्रो बन्न सफल भए । सोही स्थानका चौंरी पालक बानियाँले तेस्रो स्थान हासिल गरेसॅगै आफूले पाएको यो सफलता जीवनकै पहिलो अनुभव भएको बताए ।

महिलातर्फ तीनजना प्रतिश्पर्धीमध्ये सबैभन्दा छिटो निर्धारित दूरी पार गर्दै पाँचथरको फाल्गुनन्दकी निक्की नेम्बाङ पहिलो स्थान ओगट्न सफल भइन् । यत्तिको उचाइमा आएर दौडिएका धावक त खुशी भए नै आयोजक पनि भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुत कार्यक्रम सफल भएकोमा उत्साहित देखिए ।

मानव बस्ती र सवारी साधनको पहुँच भएको स्थानदेखि झण्डै २ दिनको पैदल यात्रापछि पुगिने तिम्बुङ पोखरी क्षेत्र पर्यटकीय दृष्टिकोणले सम्पन्न भए पनि पर्यटक आकर्षित गर्ने गतिविधि हुन नसकेका बखत पहिलो पटक चट्टानी सडकमा सम्पन्न गरिएको ट्रेल रेसले यस क्षेत्रको प्रचारप्रसार र साहसिक पर्यटनमा बढोत्तरी हुने विश्वास सिदिङवा गाउॅपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले व्यक्त गरिन् ।

ट्रेल रेस आयोजना भइरहॅदा नेपाल र भारतका विभिन्न क्षेत्रबाट आएका सर्वसाधारणसॅगै पर्यटन व्यवसायी, सञ्चारकर्मी र सर्वसाधारण तिम्बुङ पोखरी आइपुगेका थिए । ट्रेल रेस ताप्लेजुङको सिदिङवा गाउॅपालिकाको र कोशी प्रदेश पर्यटन विकास समितिको सहयोगमा सम्पन्न भएको हो । प्रतियोगिताको कुल लागत ९ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ३० हजार, २० हजार १० हजार रुपैयाँ नगद पुरस्कारसॅगै ट्रफी र प्रमाणपत्र पाए ।

प्रकाशित : भाद्र २८, २०८१ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्