कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
नक्कली शरणार्थी प्रकरण

गिरोहकै पहलमा बनेको थियो सरकारी कार्यदल

वास्तविक शरणार्थीको समस्या समाधान गर्न होइन, नक्कली शरणार्थी खडा गर्ने र पैसा उठाउने उद्देश्यले बनाइएको थियो कार्यदल

पथरी, मोरङ — झन्डै एक हजार भुटानी शरणार्थी बस्ने पथरी–शनिश्चरे–१० स्थित रिफ्युजी–डाँडोमा अहिले सन्नाटा छ । नक्कली भुटानी शरणार्थी बनाउने गिरोहको पर्दाफास भएपछि यो टोलमा उकुसमुकुस छ । तर, यही टोलका बासिन्दा तथा गिरोह नाइके केशव दुलाल र सहयोगी सागर थुलुङ राई र अर्का नाइके सानु भण्डारीका बारे कोही बोल्न नसक्ने अवस्थामा छन् ।

गिरोहकै पहलमा बनेको थियो सरकारी कार्यदल

रिफ्युजी डाँडाको चियापसलमा गफिइरहेका एक वृद्ध भुटानी शरणार्थीले मुस्किलले भने, ‘केशव गाउँमा आइरहन्थ्यो, तीन–चारवटा गाडी लस्करै हुन्थे, सानु भण्डारीसहितका साथीभाइ लिएर सँगै हुन्थे, सबै शरणार्थी अमेरिका उड्छन्, चिन्ता नगर्नुस् भन्थ्यो । आज, यसरी पो उड्ने रहेछन् भनेजस्तो भएको छ ।’

टोलमा भेटिएका श्रेष्ठ थरका अर्का चिनारुले भने शरणार्थी बस्तीबाट पनि कम्तीमा २ लाख रुपैयाँका हिसाबमा गिरोहले पैसा उठाइसकेको बताए । ‘माथि करोड–करोडको कुरा भइरहेको छ,’ उनले सुनाए, ‘हाम्रो लाखको कुरा कसले गर्ने ? कसले सुन्ने, तर हाम्रो त सर्वस्व नै त्यही हो ?’

पथरीका दुलाल र सुनसरी, चक्रघट्टी मूल घर भएका भण्डारी पहिलेपहिले जापान, इजरायल, कतारजस्ता मुलुकमा श्रमिक पठाउने पेसामा जोडिएका थिए । उनीहरूले यो काम पछिसम्म जारी राखेका थिए । ‘दुई वर्षअघि जापान लैजाने भनेर झापा र मोरङका ४१ जनाबाट जनही १६ लाख रुपैयाँका दरमा रकम असुल्ने गिरोहमा पनि यी दुई जना जोडिएका छन्,’ स्थानीय भन्छन् ।

नेपालमा शान्ति प्रक्रिया सुरु भएपछि भण्डारी तत्कालीन माओवादी नेता टोपबहादुर रायमाझीका ‘दाहिने हात’ बने, उता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा कोइरालापुत्री सुजाता कोइरालाका औपचारिक सहयोगीका रूपमा दुलालले दायरा फराकिलो बनाए ।

यस्तै सम्पर्क सूत्र प्रयोग गर्दै गृह मन्त्रालयमा पकड जमाएर केशव–सानुको समूहले ठगीका लागि नीतिगत निर्णय गराउन सके । कतिसम्म भने रामबहादुर थापा गृहमन्त्री र डा. इन्द्रजित राई सल्लाहकार भएर आएपछि भुटानी शरणार्थी समस्या समाधानको नाममा कार्यदल गठन गराउने र त्यसमा आफूले रोजेकै व्यक्तिलाई नियुक्ति दिलाउन पनि उनीहरू सफल भए ।

यो योजना नै शरणार्थीको समस्या समाधान गर्न होइन, नक्कली शरणार्थी खडा गर्न कार्यदल गठन गरिएको थियो । त्यही प्रयोजनका लागि मन्त्रिपरिषद् र मन्त्रीस्तरीय निर्णय भएका थिए । ‘म त्यसबेला गृह सचिव थिएँ, गृहमन्त्रीज्यू (थापा) ले शरणार्थी समस्या समाधान कार्यदलमा नियुक्त गर्न भन्दै ३ जनाको नाम दिनुभएको थियो,’ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख रहेका प्रेमकुमार राईले भनेका छन्, ‘त्यसमध्ये गणेश केसी भन्ने व्यक्ति को थियो, मलाई थाहै थिएन ।’

कार्यदल संयोजकमा गृह मन्त्रालयको सहसचिवबाट अवकाश पाएका बालकृष्ण पन्थी थिए । हाल ललितपुरको महांकाल गाउँपालिका अध्यक्ष रहेका केसीलाई विज्ञका रूपमा सदस्य बनाइएको थियो । शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए ।

ललितपुरका केसी कसरी शरणार्थी समस्या समाधानसम्बन्धी विज्ञ भए ? उनी आफैंले कान्तिपुरसँग भने, ‘ललितपुर, हात्तीवनका मेरो छिमेकी हुन् सानु भण्डारी । उनैले गृहमा एउटा कार्यदल बन्दै छ, त्यसमा तपाईंलाई सदस्य राखिनेछ, अवसर हो, काम गर्नुहोला भनेका थिए । उनले भनेजस्तै मैले असार ३०, २०७६ मा पत्र पाएँ ।’

सरकारी कार्यदल र गिरोहले एकापसमै मिलेर काम गरेका थिए । केसीको भनाइमा पनि भण्डारीमार्फत दुलालसँग भेट भएको र एक पटक भण्डारीको हात्तीवन निवासमा खानपिनको कार्यक्रम हुँदा त्यहाँ नेता टोपबहादुर रायमाझीसँग पनि छलफल भएको थियो । उनीहरूको समेत उत्साहमा काम गर्दै जाँदा गृहमा इन्द्रजित राईसँग पनि सहकार्य भएको उनको भनाइ छ ।

‘मलाई भने गृह मन्त्रालयले सोधेरै कार्यदल संयोजकमा नियुक्ति दिएको थियो,’ संयोजक पन्थीको भनाइ छ, ‘हामीले बनाएको प्रतिवेदनमा यत्रो चलखेल भएको अहिले समाचारमा आएपछि मात्रै थाहा भएको हो ।’ तर, सदस्य केसीसहित गिरोहका दुलाल र भण्डारीको टोलीसँग ‘चिसो खान’ भेडेटारमाथिको नाम्जेमा बास बस्न गएको भने पन्थीले स्विकारे । उनले नेता रायमाझी, सदस्य केसी, केशव–सानुसहितको टोलीमा हिमालय होटल, पुल्चोकमा डिनरमा गएको समेत स्विकारे ।

केशव–सानुले नक्कली शरणार्थीको गिरोह सक्रिय गराइरहेका बेला स्थानीय तहमा चिनिएका व्यक्तिलाई एजेन्ट राख्ने क्रममा पथरी शनिश्चरे नगरपालिका–१० का वडाध्यक्ष सागर थुलुङ राईलाई गिरोहमा जोडेका थिए । अहिले केशव, सानुसहित सागर, अर्का एजेन्ट टंक गुरुङ, सन्देश शर्मा पोखरेलसहित ८ जना व्यक्ति प्रहरी हिरासतमा छन् । नेता रायमाझी र इन्द्रजितका छोरा भने फरार सूचीमा छन् ।

यो गिरोहले कास्की, सल्यान, म्याग्दीसहितमा एजेन्ट राखेर गरेको संगठित अपराधको फहेरिस्त अझै आएको छैन । पोखराका पीडित विक्रम गुरुङका अनुसार, आफ्नो चिनजानका ९३ जनामध्ये धेरैले सानु भण्डारीको नाममा बैंकमा पैसा पठाएको र बाँकी दुलाललाई भेटेर झोलामा हालेर पैसा दिएका थिए ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : वैशाख २४, २०८० ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×