नक्कली भुटानी शरणार्थी प्रकरण : एक पूर्वमन्त्री फरार, अर्का तानिए 

२०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै बालकृष्ण खाँणले सचिवमा टेकनारायण पाण्डेलाई ल्याएका थिए,  पाण्डेले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा आफूले नेतृत्वसँगको समन्वयमा काम गरेको बताएका छन् 

वैशाख २३, २०८०

देवेन्द्र भट्टराई, मातृका दाहाल

काठमाडौँ — भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका छन् । 

२०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए । त्यसअघि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सचिव थिए । 

गृह मन्त्रालय हुँदै पछिल्लो पटक उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन् ।

बुधबार जडीबुटी/पेप्सिकोला क्षेत्रबाट पक्राउ परेका सचिव पाण्डेको मोबाइल तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, पाण्डेको मोबाइल ‘फर्म्याट’ गरेर खाली बनाएको भेटिएको छ । त्यसलाई प्रयोगशाला पठाएर विवरण ‘रिकभर’ गर्न लागिएको प्रहरी अधिकारीले बताएका छन् । 

प्रहरीका अनुसार सचिव पाण्डेको मोबाइल विवरण तत्काल नभेटिए पनि पक्राउ परेका अन्य केही आरोपितका मोबाइलबाट यो गिरोहमा पाण्डे पनि सामेल भएको विवरण भेटिएको छ । यो विवरणअनुसार पाण्डे गिरोहसँग निरन्तर सम्पर्कमा थिए । ‘उनीहरूबीच फोन र म्यासेज आदानप्रदान भएको देखिन्छ, कुराकानी नक्कली शरणार्थी बनाउने विषयमा केन्द्रित छ,’ अनुसन्धानमा रहेका एक प्रहरीको भनाइ छ । 

२०७८ असार २९ देखि २०७९ पुस ११ सम्म गृहमन्त्री भएका खाँण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले पनि बताएका छन् । कहिले शरणार्थी समस्याको कुरामा, कहिले यही दुलाल–भण्डारीको टोलीमा र कहिले भेला–बैठकमा उहाँ आउनुभएको हो, तर गिरोहसँगको काममा हो कि होइन भन्न सकिएन,’ झापा प्रशासनका एक अधिकारीले भने । तर, यो लहरो तान्दा अझै एक दर्जन ‘हाई प्रोफाइल’ तानिने अनुसन्धानकर्मी अधिकारीको भनाइ छ । यता, प्रहरीले रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् । 

प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन् । आफूलाई पक्राउ गर्न लागिएको जानकारी पाएलगत्तै रायमाझीले प्रहरी उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई फोन गरी आक्रोश पोखेका थिए । ‘पक्राउ पुर्जी काटेर आफ्नो बेइज्जत गरेको भन्दै उहाँले असन्तुष्टि पोख्नुभएको थियो, तर आफ्नो जे भनाइ छ अनुसन्धान गरिरहेको सम्बन्धित प्रहरी कार्यालयमै गएर राख्न भनेर उहाँलाई सुझाव दिइएको छ,’ प्रहरीका एक अधिकारीले भने । 

तर, यसका लागि पक्राउ गरिरहन पर्दैन, म आफैं उपस्थित हुन्छु भन्दै फोन काटेका रायमाझी त्यही साँझदेखि सार्वजनिक सम्पर्कबाहिर छन् । अर्घाखाँचीको कार्यक्रम सकेर उनी बुधबार साँझ नै भैरहवा हुँदै बुद्ध एयरको उडानबाट काठमाडौं आउने तयारी थियो । तर, बुटवल झरेपछि भैरहवा विमानस्थल जानुको सट्टा उनले अन्तिम समयमा टिकट रद्द गरेका थिए । आफूसँगै गएका चालकलाई पनि उनले मोटर काठमाडौं लैजान निर्देशन दिएका थिए ।तर, त्यसपछि रायमाझी कता गएभन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

‘पक्राउ पुर्जी जारी हुँदा आरोपित व्यक्ति (रायमाझी) उपत्यकाबाहिर रहेको अवस्था थियो । त्यसपछि निरन्तर निगरानी गर्न सम्बन्धित जिल्लाको प्रहरीलाई भनेका थियौं,’ अनुसन्धानमा रहेका एक अधिकारी भन्छन्, ‘विगतमा उच्च ओहदामा रहिसकेका, बहालवाला सांसद, विपक्षी दलको जिम्मेवार पदमा रहेका व्यक्तिले म आफैं उपस्थित हुन्छु भनेपछि केही लचकता अपनाइयो । तर, आफ्नै प्रतिबद्धताविपरीत सम्पर्कविहीन हुँदा आरोपलाई स्विकारेजस्तो भयो । यसले अनुसन्धानलाई असहयोग पुगेको छ ।’

रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् । हिरासतमा रहेका गिरोहका सदस्यहरूले यो धन्दामा रायमाझीको संलग्नता रहेको बयान दिएका छन् ।

सम्बन्धित समाचार

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully