कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गिरोहका अर्का नाइके राई समातिए

‘राई कांग्रेसका निर्वाचित क्षेत्रीय जनप्रतिनिधि हुन्’
देवेन्द्र भट्टराई

काठमाडौँ — नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता संचालित गिरोहमा संलग्न पूर्वान्चल क्षेत्रका नाइके पथरी घर भएका सागर राई बुधबार अपराह्न बालकुमारीबाट पक्राउ परेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गिरोहका अर्का नाइके राई समातिए

पथरी–शनिश्चरे नगरपालिका, वार्ड १० का निर्वतमान वाडाध्यक्षसमेत रहेका राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।

‘शरणार्थी बनाउने र अमेरिका उडाउने’ भनेर गिरोह चलाउँदै आएका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई आइतबार अपराह्न काठमाडौंमा पक्राउ गरिएको थियो । त्यसपछि आएको थप जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

आफू निर्वाचित वडाध्यक्ष भएकै बेलामा राईले पूर्वका जिल्ला केन्द्रित हुँदै अमेरिका जाने सपना देखाएर मोटो रकम उठाउन थालेका थिए । यो गिरोहका नाइके दुलालका तर्फबाट पूर्वान्चल क्षेत्रको आर्थिक कारोबार जिम्मा लिएका राईलाई पूर्वमा ‘दुलालको मुन्सी’ भनेर चिनिने गरेको पीडितले जनाएका छन् । स्रोतका अनुसार दुलाल पक्राउ परेपछि उनले आफ्नो बयानमा समेत राईको नाम मुछेका छन् ।

गत आइतबार अपराह्न कान्तिपुरसँग पथरीबाट फोनमा कुरा गर्दै राईले ‘अमेरिका उडाउने गिरोहबारे मिडियामा हल्ला चलेको र आफ्नो नामसमेत मुछिएको भए पनि बोल्ने ठाउँमा पुगेर आवश्यक परे बोलौंला’ भनेर प्रतिक्रिया दिएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार यही गिरोहको संजाल र तिनकै स्थानीय एजेन्टको भरमा परेर ठगिएका एक सयभन्दा बढी पीडितले कास्की, चितवन, काठमाडौंबाट बिहीबार मात्रै सम्पर्क गरेका छन् ।

प्रकाशित : चैत्र १५, २०७९ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?