काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले सुरु गरेको कारबाही सकारात्मक भएको बताएका छन् । कारबाही प्रक्रिया सुरु हुनु सुखद् भए पनि यो कहाँसम्म गएर टुंगिन्छ भन्ने कुरा भने हेर्न बाँकी रहेको उनले बताए ।
'लहरो तान्दा निकै ठूलो पहरो जाने देखिएको छ । म गृहमन्त्री हुँदा पनि यो विषयमा ४-५ पटक छलफल भएको हो,' सभापति लामिछानेले भने, 'यो विषय निकै पेचिलो रहेको छ । अनुसन्धान कतिसम्म पर जान्छ हेरौं ?'
रास्वपाले शुक्रबार नै पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । त्यस्तै सभापति लामिछानेले अब रास्वपा रचनात्मक प्रतिपक्षमा रहने बताए ।
