नक्कली शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहका नाइके दुलालसहित ३ पक्राउ

गिरोहले ५ वर्षयता झण्डै १ अर्ब रुपैयाँ ठगी गरेको प्रहरीको अनुमान

चैत्र १२, २०७९

देवेन्द्र भट्टराई

काठमाडौँ — भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता गिरोह सञ्चालन गरिरहेका सञ्जालका मुख्य नाइकेहरु आइतबार अपराह्न काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार यो गिरोहले पाँच वर्षयता झन्डै १ अर्ब ठगी गरेको अनुमान छ ।

भुटानी शरणार्थी समस्या समाधानमा २०७६ सालमा बनेको गृह मन्त्रालयको  'भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन' मा नक्कली अनुसूची थप्दै झण्डै १ हजार गैर शरणार्थीबाट १० देखि ४० लाख रुपैयाँसम्म उठाउने गिरोहका मुख्य योजनाकार मोरङका केशव दुलालसहित पक्राउ परेका हुन् । दुलाल कांग्रेस नेता सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनका सहयोगी थिए ।

उपत्यका अपराध अनुसन्धान स्रोतका अनुसार, नक्कली शरणार्थी परिचयपत्र, नक्कली सिफारिससहित बैंकिङ कारोबारका आधारहरु फेला परेर र पीडितहरुमध्ये झण्डै १ सयको लिखित र मौखिक उजुरीका आधारमा गिरोहका नाइके पक्राउ परेका हुन् ।

दुलालसहित सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका छन् । यो गिरोहले देशैभर आफ्नो सञ्जाल विस्तार गरेको र त्यसका आधारमा विभिन्न तहको प्रभाव–पहुँच देखाउँदै रकम उठाउँदै आएको छ ।

नक्कली शरणार्थी प्रकरण

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

Link copied successfully