कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहमन्त्री श्रेष्ठ भन्छन् : ‘टोपबहादुरजी फरार भए पनि निकाल्छौं’

काठमाडौँ — नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान बनेको संगठित गिरोहमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । यस प्रकरणमा बहालवाला सचिवदेखि पूर्वमन्त्रीका सल्लाहकारसम्म पक्राउ परिसकेका छन् भने केहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गृहमन्त्री श्रेष्ठ भन्छन् : ‘टोपबहादुरजी फरार भए पनि निकाल्छौं’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रकरणमा जोडिएका जोकोहीमाथि पनि छानबिन हुने र कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाएका छन् । यही सन्दर्भमा पुल्चोकस्थित मन्त्रीनिवासमा मन्त्री श्रेष्ठसँग देवेन्द्र भट्टराई दुर्गा खनालले गरेको संक्षिप्त वार्ता :

बिहीबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको पक्राउ पुर्जीलाई लिएर ‘बारम्बार मन्त्री भएको उच्चस्तरको नेतालाई यसरी पक्राउ गर्न नमिल्ने’ आशयको मन्तव्य दिनुभयो । रायमाझी बचाउमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पुकारा गर्नुभयो । यो अवस्था कस्तो हो ?

उहाँहरूको भेटघाटको विषयमा शरणार्थी कुरा पनि थियो भन्ने मैले थाहा पाएँ । तर उहाँ (ओली) ले कुनै संगठित अपराधको घटनामा दोषी देखाइएको वा भएको अथवा दोषी देखेको कसैलाई कारबाही नगर्न भन्न सक्नुहोला जस्तो लाग्दैन । त्यसो भन्न पनि मिल्दैन । अब कसैले भन्नुभा’छ भने पनि सरकारले, गृह प्रशासनले त्यसलाई आधार मानेर दोषीलाई छुट दिने कुरा आउँदैन ।

बहालवाला सचिव नै पक्राउ परी अनुसन्धानमा रहेको कुरा सामान्य होइन । यो गिरोह सञ्चालनको पछिल्लो ५ वर्षमा यत्रो गतिविधि भएको रहेछ । यसबेला कुनै प्रकारको दबाब/प्रभाव रहेको छैन भने पनि राजनीतिक तहमा तपाईंले कसरी ‘फेस’ गरिरहनुभएको छ ?

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

मैले बारम्बार भनेको छु कि भ्रष्टाचार र भ्रष्टाचारीलाई, अपराध र अपराधीलाई, तस्करी र तस्करलाई, ठग र ठगीलाई कुनै पनि कोणबाट दबाब वा यसप्रकारको कुनै अनुरोधको कोणबाट हेरिँदैन, हेरिनेछैन । हामीले अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍याएर दोषी र अपराधीलाई कारबाहीको विन्दुमा पुर्‍याउँछौं । त्यसमा ढुक्क हुनका लागि म आग्रह गर्न चाहन्छु ।

नक्कली शरणार्थी प्रकरण चलेको ५ वर्षमा दुई जना गृहमन्त्री हुनुभयो, ३ जना सचिव । यति लामो समयसम्म गिरोह सक्रिय भइरहँदा हाम्रो राज्यसंयन्त्र कहाँ थियो ? किन पत्तो पाएन ?

मैले यसबारेका सम्पूर्ण पाटापक्षबारे गहिराइमा अध्ययन–अनुसन्धान गरिरहेको छु । जहाँजहाँ यथास्थितिवाद छ, अपराध वा भ्रष्टाचारमैत्री प्रवृत्ति छ, त्यसप्रति सरकारी संयन्त्रभित्रै पनि कडा रूप अपनाइनेछ ।

जुन समस्या समाधानका लागि भनेर प्रतिवेदन बनाइएको थियो, अब त प्रतिवेदनको औचित्यमाथि पनि अनुसन्धान हुन्छ होला नि ?

त्यो म हेर्दै छु, गम्भीरतासाथ हेर्दै छु ।

यो मामलामा धेरै व्यक्ति संलग्न भएको देखिन्छ । पूर्वमन्त्री टोपबहादुर रायमाझी त फरार नै हुनुभयो । यो स्थितिलाई कसरी हेर्नुभएको छ ?

यसरी ‘फरारी’ भएपछि त त्यसले हामीलाई मद्दतै गर्छ नि । एक/दुई दिन फरार भए पनि हामीले निकाल्न त निकाल्छौं नै । इन्डिया गएकै भए पनि कति बसिरहने र ? निगरानी त हामीले गरिरहेकै छौं ।

अब आत्मसमर्पण गर्दैमा पनि कसरी गर्ने भनेर ‘फेस–सेभिङ’ उपाय खोजिँदै छ भन्ने सुनिन्छ नि ?

मलाई त्यस्तो लागिरा’छैन । हाम्रो प्रहरी निकाय पनि लागिरहेको छ, तत्काल चाहिँ फोन ‘ट्र्याकिङ’ गरेर पत्तो लागेन, फोन अफ रहेछ । उसको गाडीको ड्राइभरको ‘ट्र्याकिङ’ गरेका थियौं, गाडी र ड्राइभर भेटियो तर ऊ (टोपबहादुर) छैन । त्यस्तो स्थिति भयो । त्यसकारण मान्छे लगाएर, सिभिलहरूले खोजिरहेका छन् ।

तपाईंले त एउटा मान्यता बनाउनुभएको रहेछ, ठग–भ्रष्टाचारीलाई नछाडिने अर्थमा । यो नाराको कति अर्थ रहला ?

ठग, भ्रष्टाचारी, तस्कर, कालाबजारियाले स्वयं कानुनको अगाडि आएर समर्पण गर्ने वातावरण बन्छ भन्ने कुरामा म विश्वस्त छु । त्यो ढंगले काम गरिएको छ ।

यसको सुरुवात टोपबहादुरजीबाटै हुन्छ कि ?

त्यो त तपाईंहरूलाई नै थाहा होला ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख २३, २०८० ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?