काठमाडौँ — भुटानी शरणार्थी समस्या समाधानका लागि गठित कार्यदलका सदस्य गणेश केसीसँगको कुराकानी :
२०७६ जेठ ३० मन्त्रीस्तरीय निर्णयबाट कार्यदल बन्यो । तपाईंलाई चाहिँ कहिले खबर भयो ?
मैले असार अन्तिममा चिठी पाएको थिएँ ।
तपाईंहरूलाई राख्नकै लागि मन्त्रिपरिषद्ले कार्यदल बनाउने निर्णय गरेको हो ?
मन्त्रीस्तरीय निर्णयबाट के के भयो भन्ने पनि थाहा भएन । मलाई चिठी आउँदाचाहिँ फलानो मितिको माननीय मन्त्रीस्तरीय निर्णयद्वारा तपाईंलाई विज्ञ सदस्यका रूपमा मनोनीत गरिएको छ भनेर दुई महिनाको अवधि दिइयो ।
तपाईं त्यो बेला पनि राजनीतिक रूपमा सक्रिय हुनुहुन्थ्यो ?
त्यतिबेला कांग्रेस छोडेर नेकपा छिरेको अवस्था थियो ।
कार्यदल नबन्दै तपाईंलाई सानु भण्डारीले नियुक्तिको कुरा गरेका थिए ?
कार्यदल बन्नुभन्दा अगाडि तपाईंलाई एउटा चिठी आउँछ भन्नुभएको थियो । मेरो त्यहाँ चिनजान थियो, सामाजिक रूपमा पनि र पढेलेखेको एक जना मान्छे हुनुहुन्छ भनेर मैले भनेको छु भन्नुभएको थियो । मैले मन्त्री भेटेको पनि होइन । बरु इन्द्रजित राईलाई मैले जम्मा दुई पटक भेटेको थिएँ । चिठी बुझेपछि हामी झापा गयौं ।
झापाको दमक, मोरङको पथरी जाँदा सानु र केशवहरू सँगै हुन्थे ?
दुलालचाहिँ पथरीकै मान्छे रहेछ । भण्डारीले ‘दुलालजी त्यहाँको स्थानीय हो, भुटानी शरणार्थीमध्ये कतिपय उहाँको नाता पनि पर्छन्, उनले सघाउँछन्’ भन्थे । हामीले पनि सहयोगका लागि मान्छे चाहिन्छ, त्यसैले स्थानीय भनेपछि भेटघाट गर्यौं ।
झापा हुँदा भण्डारी र दुलालको टिमले भेडेटार घुमाउन लगेको हो ?
एक पटक चाहिँ हामी खै कहाँ हो, गएका थियौं । बिदाको दिन थियो, एक दिन चिसो ठाउँमा जाउँ भनेर हामी गएको हौं ।
टोपबहादुर रायमाझीलगायतलाई भेट्नुभयो ?
मैले टोपबहादुर रायमाझीलाई पहिलो पटक २०४६ सालमा भेटेको थिएँ । त्यसपछि यो कार्यदल सुरु हुनुभन्दा केही महिनाअघि जग्गाको प्रसंगमा र एक पटक सानु भण्डारीको घरमा भेटेको हो ।
प्रतिवेदनकै काम गरेका बेला भेट्नुभएको हो ?
प्रतिवेदन बुझाएपछि भेटेको हो जस्तो लाग्छ । सानु भण्डारीको के कार्यक्रम थियो, त्यहाँ खाना खाने बेलामा भेट भएको हो ।