कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘गुन्द्रुक खाँदा किम्चीको जस्तै स्वाद पाएँ’

नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । यो वर्ष सन् २०२४ मा दुई मुलुकले ५० औं वर्षगाँठ मनाउने चरणमा छ । त्यसका लागि काठमाडौंस्थित दक्षिण कोरियाली दूतावासले ५० वर्षको लोगोसमेत सार्वजनिक गरिसकेको छ । दक्षिण कोरियाले नेपालको आर्थिक, पूर्वाधार, प्राविधिक, कृषिलगायत विभिन्न क्षेत्रमा घनिष्ठ मित्रका रूपमा सहयोग गर्दै आइरहेको छ ।

‘गुन्द्रुक खाँदा किम्चीको जस्तै स्वाद पाएँ’

दक्षिण कोरियाले सन् २००७ को जुलाई २३ यता रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत एक लाखभन्दा बढी नेपालीलाई रोजगारी दिइसकेको छ । नेपाल र कोरियाबीचको सम्बन्ध र द्विपक्षीय हितका विषयमा दक्षिण कोरियाका राजदूत पार्क थेयङसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलो पटक नेपाल कहिले आउने भयो र नेपालको भूभाग कस्तो पाउनुभयो ?

म २०२३ मे २९ मा आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा पहिलो पटक नेपाल उत्रेको हुँ । मेरो नेपालमा ९ महिनाको समय बित्दै छ । नेपालबाट मैले अझै धेरै सिक्न छ भन्ने मेरो बुझाइ छ । मेरो अनुभवमा नेपाल विविधताले भरिएको मुलुक हो । आठ हजार मिटरभन्दा अग्ला हिमालयसँगै हिमाल, पहाड र समथर तराई क्षेत्र भएको नेपाल विविधताले भरिपूर्ण छ । नेपाल संसारकै सबैभन्दा सुन्दरता र विविधताले भरिएको राष्ट्र हो । नेपालको विविधता हेर्दा मैले मेरो आफ्नो कार्यकालभर पनि यहाँका सबै कुरा अनुभव गर्न सक्दिनँ कि भन्ने लाग्छ ।

दैनिक काम र अन्य क्रियाकलापको सिलसिलामा तपाईंले नेपालीहरूसँग भेटवार्ता गर्नुभएको छ । नेपालीहरू कस्तो पाउनुभयो ?

मलाई नेपालमा धेरै व्यक्तिहरूसँग भेटवार्ता गर्ने अवसर मिल्यो । मैले नेपालीहरू अनुशासित, नम्र र भद्र भएको मैले पाएँ । नेपालीको व्यवहार कोरियालीसँग पनि मिल्दोजुल्दो छ । कतिपय व्यक्ति म जस्तै अनुहार भएका पनि भेटेको छु । मैले कहिलेकाहीं भेटेका मन्त्रीज्यू र मेरो अनुहार उस्तै–उस्तै मिल्न जाँदा उहाँ कोरियाको राजधानी सोलमा हिँड्नुभयो भने कोरियाली हो कि नेपाली भनेर छुट्याउन सकिन्न भनेर टिप्पणी पनि गरेको थिएँ । मैले नेपाल आउनुअघि केही नेपालीलाई भेटेको थिएँ । मेरो सालोको व्यापारमा पनि नेपाली कामदार हुनुहुन्छ ।

नेपालको हावापानी कस्तो लाग्यो ?

नेपालको मौसम पनि यहाँको विविधतासँगै जोडिएको जस्तो लाग्दछ । कोरियामा भन्दा काठमाडौंमा बसेर काम गर्न सहज हुन्छ । मलाई लाग्छ, गर्मी महिनामा काठमाडौं कोरियाभन्दा शीतल छ । जाडो मौसममा काठमाडौं कोरियाभन्दा न्यानो छ । हिजो–आज मैले कान्तिपुर, द काठमान्डु पोस्टलगायतका पत्रिका हेर्दा बाढी, पहिरोलगायत समाचार सुनिने अवस्था छ । पानी नपरेको कारण मौसम पनि सुक्खा भएको अवस्था छ । यस्तो अवस्था आउनुमा अन्तर्राष्ट्रिय रूपमा जलवायु परिवर्तनका कारणले हो वा अन्य कुनै कारणले हो भन्ने चासो छ ।

नेपाली खानाको स्वाद लिनुभयो वा भएन ? तपाईंलाई मन पर्ने नेपाली खाना के–के हुन् ?

नेपाली खाना मीठो छ (नेपालीमै उत्तर) । नेपाली खानामा पनि कोरियाली खानामा जस्तै भात खाने जुन संस्कार र संस्कृति छ, त्यो उस्तै–उस्तै लाग्छ । हाम्रो कोरियामा ‘साइड डिस’ का रूपमा किम्ची छ । नेपालमा पनि सिन्की गुन्द्रुक भन्ने रहेछ । त्यो गुन्द्रुक खाँदा उताकै किम्ची खाएजस्तो अनुभव भयो । मैले दुई वटा कुराचाहिँ भन्ने पर्ने छ । एउटाचाहिँ मैले दालभात साह्रै मीठोसँग खाएँ । र, अर्को चाहिँ मःम मलाई मन पर्छ । मैले दालभात नै किन रोजेभन्दा कोरियामा पनि कोरियन खानामा भात आउँछ, दाल जस्तै परिकार आउँछ । ‘साइड डिस’ का रूपमा अन्य परिकार घुमाएर राखिन्छ । त्यो र नेपालको थाली खाना खाँदा उस्तै अनुभव भयो । कोरियाको आफ्नै किसिमको परम्परागत मःम छ । हाम्रो कोरियाको मःममा किम्ची र तोफो हालिन्छ । कोरियामा चाडपर्वमा आमाले हातले मःम बनाउनुहुन्थ्यो । यहाँ आएर त्यस्तै किसिमको मःम आमाले नै बनाएर दिएको हो कि भन्ने लागेर पनि अझ मिठो हुन्छ ।

नेपालीहरूको पहिरन, संस्कृति र सम्पदाबारे तपाईंको के धारणा छ ?

नेपालमा धेरै सांस्कृतिक विविधता छ । नेपालमा लगाइएका पहिरन हेर्दा उहाँहरूले रीतिरिवाजलाई प्रस्टाउनुभएको हो कि भन्ने लाग्छ । युवाहरू सडकमा हिँड्दा पनि आफ्नो पहिरन गर्वका साथ लगाएको देख्दा निकै प्रभावित पार्छ । नेपालको सम्पदा विविधताले भरिएको र सुन्दरताले भरिपूर्ण छ । भगवान् गौतम बुद्धको जन्मस्थल नेपालबाट नै बुद्ध धर्मसम्बन्धी संस्कृति, कलाहरू विभिन्न मुलुकमा गएकाले पनि मलाई बढी प्रभावित पारेको छ ।

नेपालमा चाडपर्व मनाउनुभएको छ ? मनपर्ने चाड कुन हो ?

म नेपाल आएको ९ महिना मात्र पुग्दै गर्दा पनि धेरै चाडपर्वबारे अनुभव भइसकेको छ । चाडपर्व मनाउनेभन्दा पनि मैले सामाजिक दायित्वअनुसार कसरी मानिसहरू बसोबास गर्छन् भन्ने झल्काउने अवसरका रूपमा हेरेको छु । त्यसैगरी परिवारको महत्त्व बुझेर त्यो संस्कार झल्काउनका लागि पनि चाडपर्वले भूमिका खेलेका छन् । मलाई सबैभन्दा मनपर्ने चाडचाहिँ तिहार हो ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ? नेपालमा कति भाषा छन् भन्ने थाहा छ ?

नेपाली सजिलो छैन, तर म नेपाली सिक्छु (नेपालीमै) । मैले गत वर्षबाट नै समय मिलेको बेलामा नेपाली सिक्दै पनि आइरहेको छु । हाम्रो नेपाली र कोरियन भाषाको व्याकरण मिल्छ र अक्षर पनि उस्तै–उस्तै भएको कारणले पनि सिकिरहेको छु । मैले बुझे र सुनेअनुसार २०२१ मा सार्वजनिक गरिएको तथ्यांकअनुसार नेपालमा १२४ भाषा छन् । यति धेरै भाषा कसरी बोल्छन् होला, बुझ्छन् होला जस्तो लाग्छ ।


नेपाली गीतसंगीत सुन्नुभएको छ ? तपाईंलाई मनपर्ने त्यस्तो कुनै गीतसंगीत छ ?

मैले नेपाली गीतसंगीत सुन्ने गरेको छु । त्यसमा मलाई दुईवटा गीत बढी मन पर्छ । ‘यो मन त मेरो नेपाली हो’ बोलको गीत धेरै मन पर्छ । त्योभन्दा पनि अर्को महत्त्वपूर्णचाहिँ एउटा ब्यान्डको नाम रहेछ, १९७४ एडी भन्ने रहेछ । त्यसले पनि अझै सान्दर्भिक रूपमा हामीसँग जोडिदिएको छ । हाम्रो दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको १९७४ भएकाले पनि यो गीतप्रति आकर्षण बढ्यो । त्यस्तै, अर्को एउटा गीत ‘रेशम फिरिरि’ पनि मलाई उत्तिकै मन पर्छ । रेशम फिरिरि यो अर्थमा राम्रो लाग्छ, कि यो हाम्रो पनि कोरियामा परम्परागत संगीतमध्ये धेरै गाउने र सुनिने संगीतका रूपमा छ । त्यसैगरी, ट्रेकिङ गर्न आउने कोरियाली पर्यटकले पनि यो गीत सुनेपछि मनमा शान्ति मिल्छ भन्नुहुन्छ ।

तपाईंले नेपाली साहित्य पढ्नुभएको छ ? मन परेको कुनै साहित्य छ ?

म व्यक्तिगत रूपमा नेपाली भाषामै भएको साहित्य त अध्ययन गर्न सक्दिनँ । त्यत्ति हुँदाहुँदै पनि अंग्रेजी भाषामा अनुवाद भएको एउटा कविता हालसालै पढेको थिएँ । प्रख्यात मुनामदन (महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति) पढेको हुँ । योचाहिँ मलाई अलि नमज्जा पनि लाग्यो । मुनाले मदनलाई ल्हासा नजान गरेको आग्रह मदनले नटेरीकन गएको कुराले मलाई छोयो । मलाई यो मानेमा पनि अर्थपूर्ण लाग्यो कि परिवारको महत्त्व, श्रीमान्–श्रीमतीको सम्बन्ध, आमासँगको सम्बन्ध र मानिसलाई सम्पत्ति पनि चाहिन्छ भन्ने अवस्था र जीवनमा के कस्ता कुराको सामना गर्नुपर्छ भन्ने कुरा छोटो भए पनि प्रस्ट रूपमा बताउन सक्ने मुनामदन सान्दर्भिक र गर्बिलो लाग्यो । अंग्रेजीमा त मैले पढें, नेपालीमै पढ्न पाएको भएँ कति छुन्थ्यो होला भन्ने लागेको छ ।

नेपाली फिल्म हेर्नुभएको छ ?

आजसम्म अवसरचाहिँ मिलेको छैन । तर हेर्न मन लागेको फिल्मचाहिँ ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’ हो । मलाई थाहा छ, यो पासाङ ल्हामु शेर्पाको जीवनसँग जोडिएर बनाइएको फिल्म हो । गत वर्षमात्र यो फिल्म नेपालका तर्फबाट कोरिया पनि पुगेको थियो । कोरियामा यो फिल्मले विशेष पुरस्कार पनि पायो । हिमालयसँग सम्बन्धित भएको कारणले हेर्ने विचार छ । गत अक्टोबर महिनापछि त झ्नै यो नहेरीकन हुँदैन भन्ने सोचमा छु ।

नेपालका कति स्थान घुम्नुभयो र सबैभन्दा मन परेको स्थान कुन हो ?

नेपालमा मैले भ्रमण गर्नुपर्ने स्थान धेरै छन् । अहिलेसम्म पोखरा, चितवन, लुम्बिनी, जनकपुर, सिन्धुली, नगरकोटलगायत घुमेको छ । भ्रमण गरेका सबै क्षेत्र सुन्दर र सान्दर्भिक पाएँ । त्यत्ति हुँदा हुँदै पनि नगरकोटचाहिँ सबैभन्दा सुन्दर र रमणीय लाग्यो । हिमालयको सुन्दर दृश्य देखिनुका साथै राम्रो आतिथ्यता र वातावरणका कारण नगरकोट मनपर्‍यो ।

कोरियामा एक लाखभन्दा बढी नेपाली ईपीएसमार्फत काम गर्न गइसकेका छन् । अहिले पनि ४० हजारभन्दा बढी नेपाली कोरियामै काम गर्छन् । कोरियाका उद्योगी, व्यापारी र आम जनताको नजरमा नेपालीहरू कस्ता छन् ?

हरेक समाज पूर्ण हुन सक्दैनन् । हरेक समाजमा केही न केही समस्या हुन सक्छन् । नेपालमा रोजगारी भइदिओस्, नेपालमै परिवारका अन्य सदस्यसँग दैनिक भेटघाट होस् भन्ने चाहना हुन्छ । तथापि, बाध्यताका कारण धेरै नेपालीले विदेशमा काम गर्नुपरेको छ । मलाई लाग्छ, हाम्रो कोरिया सरकारले स्वदेशी र विदेशीलाई विभेद नगरीकन समान पारिश्रमिक उपलब्ध गराएको अवस्था छ । कानुनी रूपमा पनि उहाँहरूलाई समान रूपमा संरक्षण दिएको अवस्था छ । त्यत्ति हुँदाहुँदै पनि नेपाली कामदारहरू कहिलेकाहीं अप्ठेरो अवस्थामा पर्न सक्छन् । विदेशमा कामदारका रूपमा जानु पक्कै पनि सहज होइन । उहाँहरूलाई भाषिक र सांस्कृतिक रूपमा पनि अप्ठेराहरू हुन सक्छन् । संस्कृति र अन्य विभिन्न समस्या हुँदाहुँदै पनि उहाँहरूले राम्रोसँग जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । व्यक्तिगत रूपमा चाहिँ म उहाँहरू सुरक्षित रहनुहोस्, स्वास्थ्य अवस्था राम्रो रहोस् र खुसी मिलोस् भन्ने चाहन्छु । नेपालीहरू पैसा कमाउनकै लागि गएको जस्तो देखिए पनि उहाँहरूले कोरिया गएर सीप सिक्नुहुनेछ र स्वदेश फर्केर रोजगारी सिर्जना गरेर नेपालको आर्थिक सुधारका लागि भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो बुझाइ छ ।


१९५० देखि १९५३ सम्मको युद्धका कारण कोरिया विभाजित भयो । त्यसपछि पनि राजनीतिक उतारचढाव आए । त्यसका बाबजुत कोरियाले आर्थिक रूपमा प्रगति हासिल गर्न सक्यो । नेपालले कहाँ चुकेको छ ?

युद्धपछि गरिबीको अवस्थाबाट गुज्रिएका हामीले शिक्षालाई धेरै नै महत्त्व दियौं । उद्यमशीलतालाई पनि उत्तिकै महत्त्व दिएर अगाडि बढ्यौं । त्यसपछि भने देश चलाउने असल नेतृत्व पायौं भन्ने मलाई लाग्छ । नेपालमा पनि सम्भावना प्रचुर छ । कहींकेही नमिलेको हो कि भन्ने मेरो बुझाइ छ । मैले नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानी हेर्दा भविष्य सुन्दर देखेको छु । उत्पादित जनशक्तिलाई देशले विकास कार्यक्रममा लगाउन सक्ने अवस्था आयो भने राष्ट्रको विकासमा योगदान पुग्छ भन्ने मेरो बुझाइ छ । नेपाल विकासका लागि सूचना प्रविधि, हाइड्रो पावर, कृषि क्षेत्रको विकास पनि अपरिहार्य छ र यसमा पनि प्रचुर सम्भावना छ ।

हाइड्रो पावरलाई राम्रोसँग सदुपयोग गर्न सके नेपालको विकासमा ठूलो भूमिका खेल्नेछ । आईटी क्षेत्रमा भएका उत्पादन विश्वव्यापी रूपमा उपयोग हुन्छन् । त्यसैगरी कृषि क्षेत्रको प्रचुर सम्भावना छ । नेपालमा आन्तरिक खपतका लागि मात्र नभएर विभिन्न किसिमका जडीबुटीहरू पनि पाउन सकिन्छ । चिया, कफी पनि हुन सक्छ । नेपालसँग हिमालय भन्ने एउटा ब्रान्ड छ । हिमालयसँग जोडेर उत्पादन र राम्रोसँग ब्रान्डिङ गर्‍यो भने युरोप, अमेरिका, जापान, कोरिया जताजतै नेपालका कृषि उत्पादन बिक्रीवितरण गर्न सकिन्छ ।

नेपाल आउनुअघि कुन–कुन मुलुकमा काम गर्नुभयो ? अरू मुलुक र नेपालबीच के फरक पाउनुभयो ?

मैले यसअघि स्विट्जरल्यान्ड, जर्मनी, अमेरिका र इजिप्टलगायतका मुलुकमा कार्यभार सम्हाले । म जति मुलुकमा गएँ, ती र नेपालबीच एउटै कुरा भिन्न छ भन्न गाह्रो छ । त्यति हुँदाहुँदै पनि अन्य मुलुकमा भन्दा नेपालमा विविधता छ । नेपालमा १२४ भाषा छन्, १४२ जातजाति छन् । हिमालदेखि तराईसम्म भूभाग छन् ।

सूचना प्रविधि र सोसल मिडियाले विश्वभरि नै लोकतान्त्रिक अधिकार प्रयोग गर्न सहज बनाएको छ । आफूलाई चित्त नबुझेको भन्न सक्ने बलियो आधार बनाएको छ । मानिसहरूले यसलाई गालीगलौज गर्ने, व्यक्तिगत मानहानि गर्ने, उत्तेजना फैलाउने काम बढ्दो छ । यसलाई लिएर विश्वपरिवेश र कोरियाको अवस्था कस्तो छ ?

नेपालमात्र नभई विश्वभर सोसल मिडिया बढी नै प्रयोग भइरहेको हो कि भन्ने बुझाइ छ । आईटीको कतिसम्म विकास भइसकेको छ भने यसलाई नियन्त्रण गर्न खोज्दा पनि झन् गाह्रो हुँदै गइरहेको छ । कोरियामा पनि अनलाइन मिडिया र सोसल मिडियालाई नियन्त्रण गर्न पनि नसकिने र पूरै नियन्त्रण गर्न पनि नहुने अवस्थाले समाजमा विकृतिहरू आएका छन् । राजनीति गर्नेहरूलाई उत्तिकै अप्ठेरो अवस्था छ, प्रतिष्ठित व्यक्तिहरूविरुद्ध अफवाह फैलाउने घटना बढेर चिन्ताजनक अवस्था उत्पन्न भएको छ ।


अन्तिममा, नेपाली मिडियालाई कसरी हेर्नुभएको छ । आलोचनात्मक रूपमा भन्दा हाम्रा मिडियाहरू कस्तो पाउनुहुन्छ ?

म नेपाल आउनेबित्तिकै नेपालका मिडियाबाट जे जति कुरा आउने गरेका छन्, ती पत्रकारको स्वतन्त्रताको विषयसँग समावेश छन् भन्ने बुझाइ रह्यो । सरकारले गरेका कमीकमजोरीलाई पनि राम्रैसँग उठाउने यहाँहरूको प्रतिबद्धता हेर्दा धेरै राम्रो देखिन्छ । मलाई लाग्छ, सरकारले गरेका कमीकमजोरी औंल्याउने र समाजमा सकारात्मक सन्देश दिन हरेक मिडियाले महत्त्वपूर्ण भूमिका खेलेका छन् । यहाँहरूलाई पनि अनुभव भएकै कुरा हो, अनलाइनका कारण परम्परागत रूपमा आफ्नो इतिहास बनाएका मिडियालाई पक्कै पनि असहज अवस्थामा पुर्‍याइसकेको देखिन्छ । प्रणालीगत रूपमा चल्दै गर्दा त्यहीअनुसार परिमार्जन हुँदै जानुपर्छ भन्ने यहाँहरूलाई थाहै होला । मलाई लाग्छ, सरकारका कमीकमजोरी औंल्याउँदै सपना र सम्भावना देखाउन सक्ने किसिमका विषयवस्तुले पनि स्थान पाएको खण्डमा जनतालाई खुसी हुने आधार मिल्छ भन्ने मेरो बुझाइ छ ।

प्रकाशित : फाल्गुन १२, २०८० ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×