कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस्’

श्रावण २२, २०८१
‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस्’

Highlights

  • ‘विद्यार्थीले परिपक्व व्यवहार गरेका छन् । हसिनाजस्ता शक्तिशाली व्यक्तिलाई त यसरी बाहिर निकाल्न सकिन्छ भने यो त भविष्यका सबै शासकहरूका लागि समेत एउटा पाठ हुनुपर्छ ।’

काठमाडौँ — शाहिदुल आलम बंगलादेशका प्रख्यात फोटोपत्रकार तथा सामाजिक अभियन्ता हुन् । उनलाई सन् २०१८ मा शेख हसिना नेतृत्वको सरकारले झुटो आरोपमा गिरफ्तार गरेको थियो । सडक सुरक्षाको सवालमा भएको विद्यार्थी आन्दोलनमा सरकार निर्मम रूपमा प्रस्तुत भएको आरोप लगाउँदै उनले अल जजिरा टीभीमा अन्तर्वार्ता दिनुका साथै फेसबुकमार्फत सरकारको विरोध गरेका थिए ।

त्यही निहुँमा उनलाई गिरफ्तार गरिएको थियो । उनै शाहिदुल आलमसँग ब‌ंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे गरिएको कुराकानी :

तपाईंहरू बंगलादेशमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि संघर्षरत हुनुहुन्थ्यो, आजको दिनलाई कसरी हेर्नुहुन्छ ? के कुराले प्रधानमन्त्री हसिनालाई राजीनामा दिएर देश छाड्न बाध्य बनायो ?

हामीलाई थाहा थियो कि उनी जानुपर्छ, तर उनको नजिक कोही थिएनन्, जसले उनलाई जानुपर्छ भन्नेमा सतर्क गराए । सुरुमा उनले आन्दोलनकारीमाथिको अपमानजनक टिप्पणीका लागि माफी माग्नु पर्छ भन्ने थियो । त्यो सजिलै गर्न सकिन्थ्यो । तर, उनले आफ्ना समर्थकलाई विद्यार्थीविरुद्ध परिचालन गरिन् । हत्याको शृंखला पनि चल्यो । आन्दोलनका संयोजकहरूलाई पक्राउ गर्न र यातना दिन थालियो । त्यसपछि त उनको राजनीतिक अवसान नजिकै थियो, त्यसैले भाग्नु नै उनको उत्तम विकल्प भयो ।

विद्यार्थीको पछिल्लो विरोधबाहेक वर्षौंदेखि हसिनाले आफ्ना विरोधीलाई मौन तुल्याउन गरेको दमनको कति भूमिका रह्यो ?

यो घटनाहरूको शृंखला हो । सबैभन्दा महत्त्वपूर्ण लगातार तीनवटा चुनावमा भएको धाँधली पनि हो । गत निर्वाचनमा ३ करोड युवा मतदान गर्नबाट वञ्चित भए । सँगै गैरन्यायिक हत्या, बेपत्ता, बढ्दो मूल्यवृद्धि, असमानता र सत्तारूढ दलको विद्यार्थी संगठन ‘छात्र लिग’ ले फैलाएको आतंकले असन्तुष्टि थप बढाएको थियो ।

के तपाईंलाई लाग्दैन हसिनाको बहिर्गमनले बंगलादेशलाई पहिलेभन्दा बढी अराजकतामा पार्ने जोखिम पनि त्यत्तिकै छ ?

मलाई पनि अझ धेरै डर लागेको छ । हामीमध्ये एउटा समूह आज शाहबाग जाँदै थियो र पुलिसले फर्कायो । उनीहरूले गोली हानेर घाइते बनाएकालाई अस्पताल भर्ना गर्न आवश्यक थियो । हिजो राति सय जनाभन्दा बढीको मृत्यु भएको थियो । हामीलाई थाहा थियो कि हसिना जान्छिन्, तर उनी जानुअघि उनले धेरै क्षति पुर्‍याउने डर थियो । तर, त्यो भन्दै गर्दा हामीले अझै पनि जनताको आक्रोशलाई नियन्त्रण गर्न र यो अनियन्त्रित हिंसामा परिणत नहुने सुनिश्चित गर्न आवश्यक छ । आन्दोलनको नेतृत्व गर्नेहरूले जिम्मेवारी लिनुपर्छ र सतर्क हुन आवश्यक छ ।

अब सेनाले राजनीतिक ‘कोर्स’ को नेतृत्व लिएको छ र सेना प्रमुखले अन्तरिम सरकार गठन गर्ने बताएका छन् । के बंगलादेश सैन्य शासनतर्फ अघि बढिरहेको हो ? के यो तपाईंहरूले खोजेको जस्तो परिणाम हो ?

मलाई त्यस्तो लाग्दैन । आजको नारा स्पष्ट थियो । हामी लोकतन्त्र चाहन्छौं, सैन्य शासन होइन । सेनाप्रमुख शेख हसिनाका नजिकका आफन्त हुन् । उनलाई थाहा छ कि हामी यसबारे सचेत छौं । यद्यपि त्यहाँ हसिनाले नियुक्त गरेका अरू पनि छन्, तर तिनीहरू सेनाको छवि गुमाउन चाहँदैनन् । समग्र हिसाबले आदर्श बाटो भनेको राम्रोसँग काम गर्ने लोकतन्त्र हो । हामी त्यसका लागि धेरै टाढा छौं, तर प्रक्रिया भने सुरु भइसकेको छ ।

विगतलाई पनि ध्यानमा राख्दा, के तपाई राजनीतिक संक्रमण सहज हुनेमा विश्वस्त हुनुहुन्छ ?

सहज हुने पूरै विश्वास छ । विद्यार्थीले परिपक्व व्यवहार गरेका छन् । हसिनाजस्ता शक्तिशाली व्यक्तिलाई त यसरी बाहिर निकाल्न सकिन्छ भने यो त भविष्यका सबै शासकहरूका लागि समेत एउटा पाठ हुनुपर्छ ।

हसिना बाहिरिएपछि अवामी लिगको भविष्य कस्तो छ ? के अब बीएनपीलगायत विपक्षी दलहरूसामु अवामी लिगको आधार कमजोर बन्ने देख्नुहुन्छ ?

निःसन्देह अवामी लिगका लागि यो ठूलो झट्का हो । तर यो लामो परम्परा भएको पार्टी हो र यदि यो आफ्ना गल्तीहरूबाट सिक्न तयार छ भने यो अझै पनि बंगलादेशको राजनीतिको महत्त्वपूर्ण खेलाडी रहिरहनसक्छ ।

समग्रमा बंगलादेशको भविष्यलाई लिएर कति आशावादी हुनुहुन्छ ?

बंगलादेश अवसरहरूको भूमि हो । सरकारका कारण समृद्धि भएको होइन । अवरोधहरू हट्नासाथ यो फेरि तीव्र गतिमा अघि बढ्नेछ ।

बंगलादेशको घटनाक्रम र हसिनाको देश छाड्नुपरेको घटनाले दक्षिण एसिया र अन्य मुलुकका शासकहरूलाई के सन्देश दिएको छ ?

जनताको शक्तिलाई कहिल्यै कम आँक्ने काम नगर्नुस् । तिनीहरूलाई कहिल्यै तुच्छ र मूर्ख कहिल्यै नठान्नुस् ।

प्रकाशित : श्रावण २२, २०८१ ०५:२९
×