कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

‘एउटै व्यक्ति लामो समय सत्तामा बस्यो भने तानाशाह बन्दो रहेछ’ 

श्रावण २७, २०८१
‘एउटै व्यक्ति लामो समय सत्तामा बस्यो भने तानाशाह बन्दो रहेछ’ 

Highlights

  • ‘सेवासुविधामा सुधार भए पनि हकअधिकार र स्वतन्त्रता प्राप्त नभएपछिको परिणाम बंगलादेशको विस्फोटन हो ।’
  • ‘चुनाव नहुने र संक्रमणकाल लम्बिने अवस्था आएमा सेना नै ‘फ्रन्ट’ मा आउने सम्भावना छ ।’
  • ‘हामीले कार्यकारी राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको नारा लगायौं, तर त्यो तानाशाही भयो भने समस्या हुँदो रहेछ ।’

काठमाडौँ — राजनीतिक स्थिरता र पूर्वाधार विकाससँगै आर्थिक समृद्धिको बाटोमा उन्मुख बंगलादेशले गत साता अप्रत्याशित उथलपुथल बेहोर्‍यो । लोकतान्त्रिक योद्धाका रूपमा आफ्नो परिचय बनाएका बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानकी छोरी हसिना सर्वसत्तावादी शैलीमा हिँड्न थालेपछि भारतको शरण लिनुपरेको धेरैको विश्लेषण छ । अहिले बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता तथा अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

दक्षिण एसियाकै कान्छो मुलुक बंगलादेशमा भएको पछिल्लो उतारचढाव, अन्तरिम सरकार प्रमुख युनुसका चुनौती, हसिना र उनको दल (अवामी लिग) को राजनीतिक भविष्यलगायत विषयमा हसिनाकै कार्यकालमा दुई वर्षभन्दा बढी बंगलादेशका लागि नेपाली राजदूत (२०१९ सेप्टेम्बरदेखि २०२१ अक्टोबर) रहेका पूर्वस्वास्थ्य राज्यमन्त्री तथा दोस्रो संविधानसभा सदस्य डा. वंशीधर मिश्रसँग कान्तिपुरका बुद्धिसागर मरासिनी, स्वरूप आचार्यजगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

बंगलादेशको पछिल्लो घटनाक्रमलाई कसरी विश्लेषण गर्नुहुन्छ ? प्रधानमन्त्री शेख हसिनाले देश नै छाडेर भाग्नुपर्ने अवस्था किन आयो ?

मान्छेले सेवासुविधा प्राप्त गरे पनि आफ्नो हकअधिकार र स्वतन्त्रता प्राप्त नगरेपछि त्यो गुम्सिएर बसेको थियो । अहिलेको परिणाम त्यसैको विस्फोटन हो । सरकारको आलोचना गर्ने धेरै पत्रकार र बुद्धिजीवीमाथि ठूलो अन्याय भएको थियो । बिनाकारण धरपकड गर्ने, कुटेर बाटोमा फालिदिने, कतिलाई मारिदिने पनि भयो ।

त्यसले गर्दा त्रासको वातावरण सिर्जना भयो । बुद्धिजीवी निसास्सिएको र आममान्छेमाथि दमन गरिएको अवस्थाले प्रधानमन्त्री हसिनाले देश छाड्नुपर्‍यो । यसले के प्रमाणित हुन्छ भने मान्छेलाई समृद्धि मात्रै भएर हुँदैन । आन्दोलन यसरी चर्किनुको मुख्य कारण जनअपेक्षालाई कुल्चिँदै हिँड्ने नेतृत्व हो । कुशासन हो । प्रजातान्त्रिक मूल्य मान्यतामाथि कुनै आस्था नभएपछिको परिणाम हो यो ।

२०१४ मा उनले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन हुने व्यवस्था नै परिवर्तन गरिन् । त्यसपछि आफ्नो हिसाबमा चुनाव गराइन् । प्रमुख प्रतिपक्षी दल बीएनपीकी नेतृ जियालाई जेल हालिन् । त्यस चुनावलाई प्रमुख प्रतिपक्षीले बहिष्कार गरे । २०१९ को चुनाव पनि त्यस्तै भयो । तर, त्यसमा भने प्रतिपक्षीले भाग लिएका थिए । त्यहाँ चुनावको नौटंकी मात्रै हुन थाल्यो । पछिल्लो चुनाव पनि नाटक मात्रै हो ।

मुहम्मद युनुस र फाजल हसन आवेद जस्ता दुई देवदूततुल्य व्यक्तिमाथि पनि हसिनाको सरकारले विभिन्न आरोप लगाएर जेल हाल्ने प्रयास गरेको थियो । आवेदले बंगलादेश रिह्याब्लिटेसन एसिस्टेन्स कमिटी (ब्य्राक) को स्थापना गरेका थिए । युनुसले ग्रामीण बैंक स्थापना गरे । दुवै गैरसरकारी संस्था हुन् । त्यस्ता व्यक्तिमाथि पनि दमन गर्न पछि नपर्नु भनेको ठूलो विडम्बना हो ।

पछिल्लो समय हसिनाको परिचय स्वतन्त्रता सेनानीबाट सर्वसत्तावादीका रूपमा फेरियो । यसलाई कसरी हेर्नुहुन्छ ?

स्वतन्त्र राष्ट्र भएको केही वर्षमै त्यहाँ हिंसात्मक प्रतिगमन भयो । शेख मुजिबुर रहमानको अनुपस्थितिमा सत्ता सञ्चालन गरिरहेका चार जनालाई पनि जेल हालियो । एक महिनाभित्र रहमानकै हत्या गरेको समूहले जेलमै गएर उनीहरूको पनि हत्या गर्‍यो । त्यससँगै त्यहाँ हिंसात्मक परम्परा र प्रवृत्तिको संस्कार बस्दै गयो । सेनाले सत्ता ग्रहण गर्‍यो । मुजिबुर रहमानले चौथो तहका सैनिक जनरल जिया उल रहमानलाई प्रमुख बनाए तर पछि उनैले कू गरे । केही समयपछि उनी पनि मारिए, अर्को विद्रोह भयो । यसरी त्यहाँ सेनाको विद्रोहको पुरानो इतिहास नै छ ।

त्यसपछि जनरल हुसेन मोहम्मद एर्सादले झन्डै नौ–दस वर्ष शासन गरे । संविधान बदले, निर्वाचनको नाटक गरे । त्यसबीच हसिनाले भारतमा शरण लिएर बंगलादेशमा आन्दोलनको सूत्रपात गरिन् । २२ पटक त हसिनामाथि हिंसात्मक आक्रमण भएको छ । उनी लामो संघर्षपछि स्थापित भएकी हुन् । उनले निष्पक्ष निर्वाचनको माग गरेकी थिइन् । त्यहाँका सबै दल त्यसका लागि सहमत थिए ।

१९८१ मा अवामी लिगको अध्यक्ष भएयता हसिना राजनीतिमा सक्रिय भएकी थिइन् । सुरुआती दिनमा देशमा लोकतन्त्र स्थापनाका लागि उनले संघर्ष गरेकी थिइन् । निर्वासनबाट बंगलादेश फर्केपछि उनी बीएनपी नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियासँग जोडिइन् । दुई नेतृहरूको अगुवाइमा १९९० मा भएको आन्दोलनले बंगलादेशमा एर्सादको सैनिक शासनलाई विस्थापित गर्न सफल भएको थियो ।

बंगलादेशको राजनीति यति साह्रो अस्थिर बन्नुका कारण के हुन् ?

लोकतन्त्र स्थापित भएपछिको आम चुनावमार्फत सन् १९९१ देखि जियाले पाँच वर्ष शासनसत्ता सम्हालिन्  । तर, यसबीच हसिना र जियाबीचको सम्बन्ध चिसियो । जसका कारण बंगलादेशको राजनीति अस्थिर बन्न पुग्यो । हसिना भने १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । त्यसको पाँच वर्षपछि जियासँग पराजित भइन्  । जसका कारण २००१ देखि २००६ सम्म पुनः जिया प्रधानमन्त्री भइन् । यसबीच सम्बन्ध थप बिग्रियो । उनीहरूबीचको द्वन्द्व राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित रहेन, प्रतिशोधतर्फ अघि बढ्न थाल्यो ।

डा. वंशीधर मिश्र, बंगलादेशका लागि नेपाली पूर्वराजदूत । तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

दुई नेतृबीचको राजनीतिक प्रतिशोधसँगैका विरोध प्रदर्शन, हिंसा र झडपका कारण तोकिएको चुनाव हुन नसकेपछि सेनाले सत्ता हातमा लिएको थियो । पछि सेना प्रमुख जर्नेल मोहिन उद्दिन अहमदले अर्थशास्त्री फकरुद्दिन अहमदलाई प्रमुख सल्लाहकारका रूपमा कामचलाउ सरकारको नेतृत्वको जिम्मा दिएका थिए । अहमद नेतृत्वको सरकारले जियालाई भ्रष्टाचार र हसिनालाई जबर्जस्ती असुलीसम्बन्धी मुद्दा लगाएर जेल हालेको थियो । मुद्दा फिर्ता लिइएपछि हसिना २००८ को जुन र जिया सेप्टेम्बरमा रिहा भए । सोही वर्षको डिसेम्बर २९ मा भएको चुनाव अवामी लिगले भारी मतले जितेपछि हसिना प्रधानमन्त्री बनिन् ।

हसिनाको नेतृत्वमा बंगलादेश के–कस्ता प्रगति गर्न सफल भयो ?

२००९ यता उनी लगातार सत्तामा थिइन् । यसबीच बंगलादेशले चामत्कारिक विकास गर्‍यो । कंगाल भनिएको देश सबैको आकर्षणको केन्द्र बन्यो । दक्षिण एसियामा सबैभन्दा धेरै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भएको मुलुक बन्यो । पूर्वाधारमा अद्वितीय विकास भयो हसिनाको नेतृत्वमा । गार्मेन्ट निर्यातमा विश्वकै दोस्रो देश बन्न सफल भयो । माछा उत्पादन र औषधि उत्पादनमा पनि ठूलो सफलता हासिल गर्‍यो ।

शान्ति सेनामा धेरै सेना पठाउने पहिलो देश पनि बंगलादेश बन्यो । वैदेशिक रोजगारीबाट पनि बंगलादेशलाई धेरै रेमिट्यान्स प्राप्त हुन्छ । हसिनाले बंगलादेशमा चौतर्फी विकास गरिन् । मेट्रोहरू चल्न थाले । पद्मा नदीमाथि अद्वितीय पुल बनाइन् । त्यसको निर्माणपछि उत्तर–दक्षिण जोडिएपछि १ प्रतिशत जीडीपीमा योगदान गरेको छ । एडीबीले ऋणमा विभिन्न सर्त राखेपछि हसिनाले आफ्नै स्रोतले बनाउँछु भनिन् । उद्योग मात्रै नभएर सबै क्षेत्रमा विकास भएका कारण व्यापारका लागि विश्वकै आकर्षणको केन्द्र बनेको थियो । संसारकै एक धेरै जनघनत्व भएको देशलाई कृषिमा आत्मनिर्भर बनाइन् । कृषिमा पनि अनुकरणयोग्य क्रान्ति त्यहाँ भएको छ ।

हसिना बहिर्गमनका कारण के हुन् ? यसका पछाडि विद्यार्थी आन्दोलन मात्र हो ?

यस्तो चामत्कारिक विकासको नेतृत्व गर्ने प्रधानमन्त्री अहिले भाग्नुपर्ने अवस्था आउनु केवल विद्यार्थी आन्दोलनको कारणले मात्रै होइन । त्यतिबेलाका स्वतन्त्रता सेनानीहरूका सन्ततिलाई आरक्षण दिने विषय त यही हसिनाको सरकारले नै कम गरिदिएको थियो । तर, कम गरिदिएको विरोधमा उच्च अदालतमा मुद्दा पर्‍यो र त्यसले स्टे दियो । स्टे दिएपछि अदालतको कुरा मानेर सबै गरेर ४५ प्रतिशतजति आरक्षण छुट्याइएको थियो । त्यो भएपछि ६ जना विद्यार्थीको नेतृत्वमा आन्दोलन सुरु भयो । त्यो आगोको झिल्को साबित भयो र ठूलो रूप लियो । पछि सर्वोच्च अदालतले आरक्षणमाथि रोक लगाए पनि त्यो आन्दोलन रोकिएन ।

बंगलादेश फेरि अभूतपूर्व राजनीतिक संकटमा फसेको छ । नेपालसँग भारत र चीनपछि सिमाना नजोडिए पनि नजिकको देश । भाषा, संस्कृतिका लागि बलिदानीपूर्ण संघर्ष गरेको देश । दक्षिण एसियाको पहिलो नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको मावलीघर । तर बंगलादेशको अँध्यारो पक्ष अहिले उजागर भएको छ । ९ महिना लामो हिंसामा करिब ३० लाख मानिसको मृत्यु भएपछि बंगलादेश स्वतन्त्र भएको थियो । लेखक, बुद्धिजीवी, वैज्ञानिक मारिए, धेरै ठूलो हिंसापछि बंगलादेशको उदय भयो । त्यतिबेला अमेरिकाका विदेशमन्त्री हेनरी किसिंगरले बंगलादेशको उदयमाथि टिप्पणी गर्दै ‘यो राष्ट्र सफल हुन सक्दैन । यो पिँध नभएको टोकरी हो’ भनेका थिए । अनिकाल र कंगालीको अवस्था थियो ।

शेख मुजिबुर रहमानले २५ मार्च १९७१ मा गरेको आह्वानमा त्यति धेरै मानिस सहादत भएर स्वतन्त्र राष्ट्र बनेको थियो । रहमानलाई मृत्युदण्ड दिनका लागि पक्राउ गरेर लगियो । बंगलादेश स्वतन्त्र भएको केही समयपछि जनवरी १० मा मात्रै पाकिस्तानले उनलाई रिहा गर्‍यो । त्यसपछि उनी पहिलो प्रधानमन्त्री बने । बीचमा नै प्रणाली बदलेर राष्ट्रपति बने । बंगलादेशको शासन सत्ताको बागडोर सम्हालेको ४ वर्षपछि उनलाई मारियो । १९७५ अगस्ट १५ का दिन त्यहाँको सैनिकको एउटा सानो टुकडीले मुजिबुर रहमानको सम्पूर्ण परिवारलाई नै गोली हानेर हत्या गरिदियो । उनका दुई छोरी शेख हसिना र शेख रेहाना युरोपमा भएकाले बाँच्न सफल भए ।

राजदूतका रूपमा कार्यभार सम्हाल्दै गर्दा त्यसबेला शेख हसिनालाई कस्तो पाउनुभएको थियो ?

जोकोही उनलाई भेट्दा निरंकुश भन्ने नै लाग्दैनथ्यो । एक महिलाका रूपमा साह्रै सरल, मृदुभाषी, अत्यन्तै विनम्र र प्रेरणादायी पाएँ । यतिसम्म कि आफ्नो निवासमा आउने कतिपय पाहुनालाई उनी आफैंले खानेकुरा पकाएर पनि खुवाउँथिन् । मसँगको भेटमा पनि उनले नेपालको सम्बन्धका विषयमा निकै मार्मिक कुरा गरेकी थिइन् । तर त्यति असल नेतृलाई निकट व्यक्ति र आसेपासेहरूले घेरामा राखेका थिए । व्यक्तिगत रूपमा निकै असल, उनको संघर्ष सकारात्मक र प्रेरणादायी छ । बंगलादेशलाई समृद्धिको बाटोमा हिँडाउने प्रयास र कदम अत्यन्तै सराहनीय छ । तर शासकका रूपमा निरंकुश शैली र असहिष्णुता उनको नकारात्मक पक्ष हो । कसैले आलोचना गर्‍यो भने त्यसलाई सरकार वा राष्ट्रविरोधीका रूपमा हेर्ने वा चित्रित गर्ने गर्थिन् ।

जनताको स्वतन्त्रता र लोकतान्त्रिक मानवीय मूल्यलाई उपेक्षा गरेको खण्डमा जुनसुकै अवस्थामा पनि सरकार वा नेताहरू लखेटिन्छन् भन्ने उदाहरण बंगलादेशको पछिल्लो अवस्था हो । पछिल्लो समय त हसिना सरकारले पत्रकारहरूलाई देश प्रवेशमा गर्न रोक लगाएको थियो । भ्रष्टाचार पनि अर्को मुख्य कारण हो । सरकारका सबै तह र तप्कामा चरम भ्रष्टाचार थियो । हसिनाको पार्टीसँग आबद्ध वा उनका आसेपासेमार्फत गएको खण्डमा मात्र काम हुने ।

बंगलादेशका जनताले शेख हसिनालाई लामो समयसम्म मन पराएका पनि त थिए नि ?

एउटा त उनी राष्ट्रपिता मुजिबुर रहमानकी छोरी भएकाले सान्त्वना वा समर्थन रहेको पक्कै हो । त्यतिमात्र होइन, उनी आफैंले पनि निकै संघर्ष गरेकी छन् । कुनै बेला हसिनाले गरिबी, भ्रष्टाचारलगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दा उठान गरिन् । त्यसकारण पनि उनी लोकप्रिय बनेकी हुन् । केही समय उनले देश र जनताका लागि निकै राम्रा काम पनि गरिन् । एक दशकयता भने सुशासनभन्दा पनि सर्वसत्तावादी शैली अनुसरण गरेका कारण उनी समस्यामा परेकी हुन् ।

पछिल्लो समय उनका पिताको सालिक भत्काउने वा संग्रहालय जलाउने कार्य किन भयो जस्तो लाग्छ ?

बंगलादेशमा खासगरी बदलाको संस्कृति हाबी छ । हसिना शासनमा आएपछि विशेष कानुन बनाएर १९७५ मा पिताको हत्यामा संलग्नहरूलाई खोजीखोजी मृत्युदण्ड दिने कार्य गरिन् । त्यस्तै, अन्य विभिन्न विषयमा पनि उनले आफ्ना विरोधी वा आलोचकमाथि नियोजित रूपमा बदला लिइन् ।

त्यस्तै, सरकारविरुद्ध उठेका आवाजलाई वार्तामार्फत शान्तिपूर्ण रूपमा सम्बोधन गर्नुपर्नेमा सरकारी संयन्त्र वा प्रहरी प्रशासनको चरम दुरुपयोग गरेर दबाइन् । त्यसका साथै, जमात–ए–इस्लामिक जस्ता मुस्लिम अतिवादीले पनि हसिनाविरुद्धको आन्दोलनका लागि अवसर खोजिरहेका थिए । त्यसको मुख्य कारण उनले ढाकेश्वरी मन्दिरका लागि जग्गा दिने, हिन्दुहरूलाई संरक्षण गर्नेसम्मका कार्य मुस्लिम अतिवादीहरूलाई मन परेको थिएन ।

राजनीतिमा हसिनाको पुनरागमन र उनको दल अवामी लिगको राजनीतिक भविष्यको सम्भावना कस्तो छ ?

राजनीतिमा हसिनाको पुनरागमनको सम्भावना एकदमै न्यून छ । तर उनको दलको भविष्य भने कायमै छ । तत्काल दल दमनमा पर्ने देखिन्छ । जब आर्थिक वृद्धिदर, बेरोजगारीलगायतका समस्या बल्झिन थाल्छ, मानिसहरूले हसिनाकालमा भएका आर्थिक उन्नति र समृद्धि सम्झिन्छन्, बिस्तारै अवामी लिगको खोजी हुने अवस्था आउने लगभग निश्चित छ । त्यो अवस्थामा अवामी लिगले आफूलाई कसरी अगाडि बढाउँछ भन्नेमा पार्टीको भविष्य निर्धारण हुने देखिन्छ ।

हसिनाका छोरा साजिव वाजेदले पनि राजनीतिमा आउने बताएका छन् । उनको राजनीतिक भविष्य कस्तो देख्नुहुन्छ ?

राजनीतिमा उनका छोराको सम्भावना नै छैन भन्न सकिन्न । तर तत्कालका उनी मूलधारको राजनीतिमा आइहाल्ने सम्भावना छैन । यसअघि उनले हसिनाको विज्ञान प्रविधि सल्लाहकारका रूपमा मात्र कार्य गरेका हुन् । वाजेद मूलधारको राजनीतिमा सक्रिय नभएकाले पनि उनी जनतासँग खासै जोडिएका छैनन् । त्यसमाथि उनी शेख हसिनाजस्तो देशमा लोकप्रिय पनि छैनन् । तर अवामी लिगको पुनर्गठन भयो र जनताले रुचाए भने उनी भविष्यमा राजनीतिमा सफल हुन पनि सक्छन् ।

अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले शान्ति स्थापना र निर्वाचनको जिम्मेवारी पूरा गर्न सक्लान् ? उनको नेतृत्वको सरकारले कत्तिको प्रभावकारी रूपमा कार्य गर्ला ?

अन्तरिम सरकार प्रमुखका रूपमा युनुसका चुनौती निकै धेरै छन् । पहिलो त युनुसले सुरक्षा निकायलाई परिचान गरी अल्पसंख्यकमाथिको प्रहार रोकेर त्रास हटाउँदै शान्ति सुरक्षा कायम गर्नुपर्छ । त्यसका साथै, हिजोका दिनमा जे–जस्तो भए पनि आगामी दिनमा हिंसात्मक घटना हुन नदिने, अमानवीय र अलोकतान्त्रिक कार्य हुन नदिनेमा जनतालाई आश्वस्त पार्नुपर्ने देखिन्छ । बंगलादेश जस्तो समयमा चुनाव नहुने इतिहास रहेको देशमा चाँडै र निष्पक्ष निर्वाचन गरी देशलाई लोकतान्त्रिक प्रणालीमा बहाल गराउनुपर्ने उनका लागि अर्को मुख्य चुनौती छ ।

त्यसका साथै, देशले हासिल गरेका उपलब्धिहरूको रक्षा गर्नु पनि उनको जिम्मेवारी हो । देशको अर्थतन्त्रलाई सम्हाल्ने र आर्थिक वृद्धिदर घट्ने अवस्था आउन नदिनु पनि उनका लागि चुनौती हो । त्यस्तै, उनले वैदेशिक लगानीको वातावरण कायम राख्ने, गार्मेन्ट उद्योगलाई चलायमान राख्ने र रेमिट्यान्सका क्षेत्रमा जोडिएका लागनीकर्ता, सेवाग्राही र कामदारलाई विश्वस्त पार्दै राष्ट्रहितको विपक्षमा भएका वा हुन सक्ने कार्य रोक्नुपर्ने देखिन्छ ।

आगामी चुनावमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) विजयी हुने र खालिदा जिया पुनः शक्तिमा आउने सम्भावना कति छ ?

खालिदा जिया पनि त्यति लोकप्रिय होइनन् । पाँचवर्षे प्रधानमन्त्रीकालमा जियाले पनि सुशासन कायम गर्न नसकेकी हुन् । तर आगामी चुनावमा बहुमत नल्याए पनि बीएनपी पहिलो दल हुने र धार्मिक अतिवादी दलहरूसँग मिलेर सरकार बनाउने सम्भावना देखिन्छ ।

अब बंगलादेशमा ‘बेगम–युद्ध’ (हसिना र जियाबीचको युद्ध) सकिएको हो त ?

खासमा बंगलादेशमा ‘बेगम–युद्ध’ पहिले नै सकिनुपर्थ्यो । तर हसिनाको पुनरागमनको सम्भावना निकै कम रहेको र जियाको स्वास्थ्य अवस्थाले पनि दुई बेगमबीचको द्वन्द्व लगभग सकिएको अवस्था हो ।

युनुसको राजनीतिक भविष्यचाहिँ कस्तो देख्नुहुन्छ ?

युनुसको राजनीतिक सम्भावना छ । यसअघि नै उनले राजनीतिक दल गठन गर्ने घोषणा गरेका थिए । यसअघि नै चर्चित युनुसले देशमा शान्ति स्थापित गर्दै चुनावमार्फत देशमा लोकतान्त्रिक प्रणाली फर्काउन सके भने उनी भविष्यमा राजनीतिमा स्थापित हुन सक्छन् ।

अन्तरिम सरकारले आफ्ना जिम्मेवारी पूरा गर्न सकेन र संक्रमणकाल लम्बिएको अवस्थामा सैन्य ‘कू’ को सम्भावना कति छ ?

बंगलादेशमा अहिले पनि भएको सैन्य ‘कू’ नै हो । चुनाव नहुने र संक्रमणकाल लम्बिने अवस्था आएको खण्डमा भने सेना नै ‘फ्रन्ट’ मा आउने सम्भावना छ । अहिले पनि हसिनाको बहिर्गमनपछि सेनाले जसरी बन्दुक पड्काएर खुसियाली मनायो, त्यो सेनाले शक्ति हातमा नलिएको धेरै भयो भन्ने सन्देश दिएको हो । जनताको भावनाको हिसाबले मात्र सेना अहिले अगाडि नआएको हो ।

१९७१ मा स्वतन्त्र भएयता बंगलादेशमा पटकपटक संक्रमणकालीन सरकार बनेका छन् । त्यसको खास केही कारण छन् ?

यो खासगरी अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो । जनआकांक्षा जहिले पनि प्रगतिशील हुन्छ । अर्को पक्ष परम्परा कायमै रहनुपर्छ भन्ने मागसहित अघि आउने भएकाले ती दुईबीचको संघर्ष हो । वर्तमान अवस्थामा मानिस चेतनशील भएका छन् । यसरी लोकतान्त्रिक मूल्य मान्यता र सुशासनका विषयमा कसैले पनि सम्झौता गर्न नचाहने भएकाले बेलाबेलामा आन्दोलन हुने र संक्रमणकालीन अवस्था देखिने भएको हो ।

बंगलादेशमा भएको पछिल्लो राजनीतिक घटनाक्रमले विश्वको भूराजनीति र त्यसमा पनि दक्षिण एसियामा कस्तो प्रभाव पार्न सक्छ ?

यो निकै महत्त्वपूर्ण मुद्दा हो । दक्षिण एसियामा बंगलादेशमा भएको घटनाले अत्यन्तै र सिधै प्रभाव पर्छ । विश्वमा पनि यसको प्रभाव पर्छ नै, दक्षिण एसियामा भने बढी पर्छ । दक्षिण एसियामा पनि सबैभन्दा बढी प्रभाव भारतलाई नै पर्छ । सन् १९४७ भन्दा अघि बंगलादेश भारतकै अंग हो । भारतकै मद्दतबाट बंगलादेशले तत्कालीन पश्चिम पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको हो ।

भारतीय सेना पूरै बंगलादेशमा हुलिदिएपछि अन्त्यमा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेको थियो । खासमा त्यो आत्मसमर्पण भारतीय सेनाको अघि गरेको थियो । त्यसो भएको हुनाले पनि भारत र बंगलादेशबीचको सम्बन्ध निकै महत्त्वपूर्ण छ । भारत र बंगलादेशबीचको सिमाना ४ हजार किलोमिटरभन्दा बढी फैलिएको छ । म्यान्मारसँग २७२ किलोमिटर छाड्ने हो भने त्यहाँ बंगलादेशसँग सीमा जोडिएको छ । त्यसले निकै प्रभाव पार्ने भयो । किनकि भारत र बंगलादेश एउटै संस्कृति, भेषभूषा, नाता कुटुम्ब, विवाहवारीलगायतको अवस्थाले पनि प्रभाव पार्ने भयो ।

बंगलादेशसँग भारतका हित गाँसिएका छन् । हसिनाले भारतसँग सन्तुलित सम्बन्ध राखेकी थिइन् । चीनलाई पनि धेरै ‘स्पेस’ दिएको अवस्था थियो । तर भारतसँग उनको निकटता उल्लेखनीय नै थियो । त्यसमा कुनै पनि दुईमत हुन सक्दैन । उनले भारतलाई कस्तो गुन लगाएकी थिइन् भने भारतलाई उत्तरपूर्वका सातवटा राज्यमा जानका लागि निकै समय लाग्थ्यो । एक हजार किलोमिटरसम्म घुमेर जानुपर्थ्यो । त्यसलाई हसिनाले जलमार्ग र थलमार्ग दुवैमा एकदेखि डेढ सय किलोमिटरमा परिवर्तन गरिदिइन् ।

भूमिबाट जानका लागि बस, ट्रेनलगायत उपलब्ध गराइदिइन् । त्यसले पश्चिम बंगालबाट त्रिपुरासम्मको दूरी एक सय ५० किलोमिटरभन्दा कम भयो । अरू राज्यमा पनि यस्तै सुविधा दिइन् । कार्गोमा सहज गरिदिइन् । अरू महत्त्वपूर्ण मुद्दामा पनि हसिनाको भूमिका महत्त्वपूर्ण रह्यो । टिस्टा, गंगा नदीहरूको मुद्दा त अझै पनि बाँकी नै छ । सीमासम्बन्धी मुद्दा त हसिनाले ऐतिहासिक नै गरिन् र भारतसँगको सीमा समस्यालाई पूर्णविराम लगाइन् । हसिनालाई अहिले जे भने पनि उनले सन् १९४७ देखि नसुल्झिएको मुद्दालाई टुंगो लगाएकी हुन् । उनले बंगलादेशको पक्षमा चार सय स्क्वार किलोमिटर जग्गा बढाइन् ।

बंगलादेशमा भएका घटनाका कारण भारतमा शरण लिनेको संख्या बढेको देखिन्छ । अब बंगलादेशमा भारतीय पक्षका विषयमा के हुन्छ भन्ने चासो त छ नि ?

भारतले त्यहाँ शान्ति सुरक्षा होस्, आफ्नो चासोमा समस्या नहोस् भन्ने हो । अब नेपालको कुरा गर्नुपर्छ, बंगलादेशसँग भुटानभन्दा पनि हामी नजिक छौं । बंगलादेशलाई अन्तर्राष्ट्रिय मान्यता दिने भुटान पहिलो देश हो । हामी सातौं मुलुक भयौं । हामीमाथि पनि अहिलेको घटनाले प्रभाव पर्छ । यो प्रभाव अनेक रूपमा छ । एउटा त हाम्रो दुवै देशको हितमा भइरहेको व्यापार, व्यवसाय, शिक्षा आदानप्रदान तथा अब नयाँ फड्को मार्ने गरी ऊर्जालगायत क्षेत्रमा हुन लागेको आदानप्रदानको विषयमा प्रभाव पर्छ ।

जलविद्युत्मा ४० मेगावाट बिजुली बेच्ने सम्झौता हुँदै थियो, जुन अहिलेको घटनाक्रमले अन्तिम अवस्थामा स्थगित हुन पुगेको छ । म बंगलादेशमा राजदूत हुँदा नेपालबाट बंगलादेशमा ११ हजार मेगावाट विद्युत् निर्यात गर्नका लागि कुराकानी भएको थियो । त्यो कुरा मैले नेपाल सरकारलाई विस्तृतमा जानकारी दिएको छु । त्यसैगरी बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीचको प्यासेन्जर मोटर भेहिकल सन्धिलाई अघि बढाएर एक मुलुकबाट अर्को मुलुकमा बस तथा कारमार्फत यात्रा गर्न सकिने, कार्गो सामग्रीको आदानप्रदान गर्नेलगायतका विषयलाई अघि बढाउने सम्बन्धमा पनि अवरोध हुन पुगेको छ । जसले नेपाललाई फड्को मार्नलाई सहयोग पुग्थ्यो । अन्तिम चरणमा पुगेको त्यो अहिले आएर ठप्प भयो ।

बंगलादेशसँग पीटीए (प्रिफेन्सियल ट्रेड अग्रिमेन्ट) हाम्रो पक्षमा हुन जरुरी थियो । उनीहरू राजी पनि थिए । किनकि त्यहाँ अरू कर यति धेरै छ कि हाम्रो ९७ प्रतिशत सामानको चार्ज लाग्छ । त्यसलाई हटाएर समान हैसियतमा गर्ने भनेर हामी अघि बढेका थियौं । त्यसो गर्दा हामीलाई थोरै भए पनि फाइदा हुन्थ्यो । बंगलादेशले पीटीए भुटानसँग गरेको थियो । अब दोस्रो नेपालसँग हुन्छ भन्ने थियो । तर अहिले आएर ठप्प हुन पुगेको छ ।

यसबाहेक नेपालको थप दुई महत्त्वपूर्ण चासो छन् । अहिले पनि बंगलादेशमा ४०० सय नेपाली डाक्टर इन्टर्नसिप गरिरहेका छन् । विद्यार्थीहरू त नेपाल आइरहेका छन् । तर ती इन्टर्नसिप गरिरहेका तथा बंगलादेशमा विभिन्न अन्तर्राष्ट्रिय संस्थामा कार्यरत थोरै नेपालीको सुरक्षाको चासो छ ।

अर्को, नेपालको भारतसँग सीमा खुला छ । यदि भारतले उदारता देखाएर सीमा खोलिदियो भने नेपालमा पनि बंगलादेशबाट मान्छेहरू आउन सक्छन् । बंगलादेशमा हिन्दुमाथि दमन भयो भने भारतमा अहिले हिन्दुवादी सरकार छ, भारतले केही न केही त गर्छ । अर्कोतर्फ बंगलादेशी सेनाले दमनकर्तामाथि कारबाही गर्न थाल्यो भने पनि उनीहरू भारत हुँदै भाग्न सक्छन् । रोहिंग्याहरू बंगलादेशबाट भारत हुँदै नेपाल छिरेका हुनाले हामीले सीमामा पनि सतर्कता अपनाउनुपर्छ । त्यसैले पनि हामी बंगलादेश घटनालाई लिएर तटस्थ हुनुपर्छ ।

नेपालले बंगलादेशको घटनाबाट के पाठ सिक्न सक्छ ?

हामीले एकतर्फी विकास निर्माणमा मात्र ध्यान दिने र सुशासनमा ध्यान नदिने हो भने त्यो फेल हुने रहेछ भन्ने बंगलादेशको घटनाले देखाएको छ । शक्तिमा आएपछि लोकतान्त्रिक मूल्य मान्यतालाई नेतृत्वले कुल्चिँदा रहेछन् । त्यो कुल्चिने काम गर्न हुन्न, पाठ सिक्नुपर्छ ।

आवधिक र निष्पक्ष निर्वाचन, बोल्न पाउने, शान्तिपूर्ण रूपमा भेला हुने र कार्यक्रम गर्न पाउने अधिकारलगायत आधारभूत कुरामा हस्तक्षेप गर्न हुन्न । समस्या आएपछि पहिले नै शान्तिपूर्ण समाधानतर्फ लाग्नुपर्छ । जनताको चाहनाअनुसार काम गर्नुपर्छ । नेपालमा पनि यसबारे सोच्नुपर्छ । हाम्रो नैराश्यता भनेकै बेरोजगारी हो ।

संसारमा एउटै व्यक्ति लामो समय सत्तामा बस्यो भने त्यो तानाशाही हुँदो रहेछ । एउटा व्यक्ति दुई कार्यकाल मात्र सत्ताको नेतृत्वमा बसोस् भन्ने हो । अर्कोचाहिँ हामीले कार्यकारी राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको नारा लगायौं, तर त्यो तानाशाही भयो भने समस्या हुँदो रहेछ । त्यसैले यस विषयमा हामीले सोच्न आवश्यक छ ।

भारतले अहिलेसम्म बंगलादेश घटनालाई लिएर केही बोलेको छैन । भारतको आगामी भूमिका के हुन सक्छ ?

भारतले अप्रत्यक्ष रूपमा अलिअलि बोल्ने कोसिस गरिरहेको छ, बंगलादेशमा शान्ति सुरक्षा होस् भनेर । त्यो कूटनीतिक अभ्यास हो । किनभने आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैको हुँदैन । भारत अहिले ‘पर्ख र हेर’ को रणनीतिमा छ । समय आएपछि बोल्ने हो । अहिलेका लागि भने भारतीयहरूले विभिन्न माध्यमबाट दबाब दिएर त्यहाँ शान्ति सुरक्षा होस् र अल्पसंख्यकलाई प्रहार नहोस् भन्ने हो । साथै, भारतीय हितमा असर नपरोस् भनेर कोसिस गरिरहेको मैले बुझेको छु ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेपाल अध्यक्ष रहेको छ । अहिलेको अवस्थामा यसको भूमिका के हुन सक्छ ?

बाध्यकारी रूपमा नेपाल अहिले पनि सार्कको अध्यक्ष हो । अध्यक्षको हैसियतमा नेपालको केही भूमिका चाहिन्छ । एउटा सन्तुलिन भूमिकाका रूपमा कमसेकम सार्कका सदस्यमा यो विषयमा छलफल गरेर प्रेस वक्तव्य निकाल्ने । बंगलादेशमा शान्ति सुरक्षा होस्, त्यहाँका नागरिकको रक्षा होस्, उपलब्धिहरूको रक्षा होस्लगायत विषयमा सार्कले सामूहिक एजेन्डा बनाएर वक्तव्य निकाल्नुपर्छ । नेपालले सार्ककै अध्यक्ष भएपछि बोल्नुपर्ने कुरामा बोल्नुपर्छ ।

दक्षिण एसियाली देश श्रीलंकापछि बंगलादेशका राष्ट्र प्रमुख/सरकार प्रमुख देशबाटै भाग्नुपर्ने अवस्था आयो । यसको मुख्य कारण के होला ?

जनताको चाहनाअनुसार काम गर्न नसकेपछि यो समस्या आएको हो । अफगानिस्तानको घटना र त्यसपछि यी दुई मुलुकमा भएको राजनीतिक उथलपुथलले गर्दा दक्षिण एसियाको अवस्थालाई राम्रो संकेत गरेको छैन । त्यसैले हामी सबै दक्षिण एसियाली मुलुक मिलेर समान चासोका बारेमा काम गर्नुपर्छ । यो नै आजको आवश्यकता हो ।

प्रकाशित : श्रावण २७, २०८१ ०८:१९
×