कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘दिपायलबाट चिसापानीसम्म र्‍याफ्टिङ गरेको छु’

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) को सुरुआत एसिया तथा प्रशान्त क्षेत्रलाई गरिबीबाट मुक्त तुल्याउने परिकल्पना गरेर भएको थियो । आफ्ना विकासोन्मुख सदस्य राष्ट्रहरूको गरिबी घटाउने तथा जनताको जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्ने एडीबीको लक्ष्य हो । ३१ सदस्यहरू मिलेर सन् १९६६ मा एडीबी स्थापना भएको हो । अहिले यसका ६८ सदस्य छन् ।

‘दिपायलबाट चिसापानीसम्म र्‍याफ्टिङ गरेको छु’

जसमध्ये ४९ सदस्य एसियाका रहेका छन् भने १९ सदस्य प्रशान्त क्षेत्रका छन् । लामो समयदेखि एडीबीले नेपाललगायत अन्य मुलुकलाई नीतिगत संवाद, ऋण, प्राविधिक सहायता, अनुदान, सुरक्षण तथा सेयर लगानीजस्ता उपकरणका माध्यमबाट सहयोग गरिरहेको छ । नेपालले सन् १९६९ देखि एडीबीसँग सहकार्य गर्दै आइरहेको छ । नेपाल र एडीबीबीचको सहकार्यका लागि अहिले काठमाडौंमा एडीबीका नेपालका लागि राष्ट्रिय निर्देशकका रूपमा फ्रान्सका आर्नो कोश्वा कार्यरत छन् । कान्तिपुरका जगदीश्वर पाण्डेले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

पहिलो पटक नेपाल कहिले आउनुभयो र यहाँको भूबनोट कस्तो लाग्यो ?

सन् २००३ मा पहिलो पटक पर्यटकका रूपमा नेपाल आएको थिएँ । त्यसबेला म अफगानिस्तानमा कार्यरत थिएँ । बिदा मनाउन तथा पुनर्ताजगी लिनका लागि म त्यतिबेला नेपाल आएको थिएँ । द्वारिकाज होटलमा बसें । त्यसपछि काठमाडौं उपत्यकासँगै पोखरा, चितवन राष्ट्रिय निकुञ्जलगायत स्थानमा घुमें । त्यसबेला मेरो छोरा एक वर्षको मात्र थियो । त्यसपछि म सन् २००९ मा नेपाल आएँ । त्यसबेला एडीबीमा काम गर्थें । त्यसपछि सन् २०१३ मा ‘रेसिडेन्ट वाटर रिसोर्स पर्सन’ का रूपमा नेपालमा नियुक्त भएँ । उक्त जिम्मेवारीमा रहेर सन् २०१९ सम्म काम गरें । त्यसपछि फर्किएँ । र, सन् २०२१ मा ‘कन्ट्री डाइरेक्टर’ का रूपमा नेपालमा काम गर्न आएँ । समग्रमा म नेपालमा नौ वर्ष बसेको छु । नेपालको भूगोल, यहाँका जनता, यहाँको विविधता, अल्टिच्युट, हिमाल, ऐतिहासिक कलालगायतले गर्दा यो मुलुक उत्कृष्ट लाग्छ । यहाँ धेरै राष्ट्रिय निकुञ्जहरू पनि छन् । नेपाल सानो मुलुक हो तर युरोपेली मुलुकसँग तुलना गर्दा नेपाल सानो मुलुक होइन । मुस्ताङको मरुभूमिदेखि सगरमाथा, तराईका समथर भूमि, यहाँको हावापानीलगायतले गर्दा नेपाल विविधता भएको मुलुक हो । जुन असाध्यै राम्रो छ ।

नौ वर्षको नेपाल बसाइका क्रममा धेरैसँग भेटवार्ता गर्नुभयो । कस्ता लागे त नेपाली ?

नेपालीहरू अतिथि भनेपछि असाध्यै स्वागत र सत्कार गर्छन् । धेरै सहनशील छन् । नेपालीमा आफ्नो संस्कृतिलाई लिएर खुलापना छ । उनीहरूसँग आफ्नै बलियो परम्परा छ । खुला सोच छ । म नेपालीहरूबीचको संवादलाई मन पराउँछु । चाहे त्यो विविध धर्म वा संस्कृति होस्, सबै मिलेर कुराकानी गर्छन् र मिलेर बस्छन् । म एउटा उदाहरण दिन चाहन्छु । जब म नेपालमा आएँ, मलाई बस्नका लागि घरको आवश्यकता थियो । मेरो कार्यालयका एक जना सहकर्मीले भन्नुभयो, तपाईंलाई घर खोज्नका लागि म सहयोग गर्न सक्छु । त्यसपछि हामीले शनिबारको समय मिलायौं । त्यसपछि मैले उहाँलाई बिहान ८ बजेको समय भनें । उहाँले जवाफ दिँदै भन्नुभयो– यो समयमा म सधैं ध्यान गर्छु । उहाँले हरेक शनिबार ८ देखि १० बजेसम्म ध्यान गर्नु हुँदो रहेछ । र, त्यसपछि मैले नेपालमा आएर यहाँका जनताको आध्यात्मिक पक्ष र करुणालाई थाहा पाउने मौका पाएँ । जुन गज्जब थियो । त्यो अहिले पनि छ । नेपालको राजधानी काठमाडौं अहिले पनि एसियाको सबैभन्दा सुरक्षित सहर हो । यहाँ सबैलाई आदर गरिन्छ । आशा गरौं, त्यो परिवर्तन हुनेछैन ।

नेपालको हावापानीलाई लिएर तपाईंको अनुभव ?

नेपालको हावापानीमा सबै पक्ष छन् । तराईमा अलिक गर्मी हुन्छ । डिसेम्बरमा एभरेस्ट बेसक्यापमा जानुभयो भने धेरै नै चिसो हुन्छ । राजधानी सहर काठमाडौंचाहिँ धेरै आनन्ददायी छ । यहाँ न बढी जाडो हुन्छ, न त गर्मी नै । वर्षायामपछि मध्य अक्टोबरदेखि मध्य मेसम्म हरेक दिन घाम लाग्छ । यहाँको हावापानी मनमोहक छ ।

तपाईंले नेपाली खानाको पनि स्वाद लिनुभएको होला । मनपर्ने नेपाली खाना ?

सुरुआतमा धेरै वर्ष मलाई दाल–भातमा त्यति लगाब भएन । खानका लागि केही समस्या भयो । तर, पछि–पछि मलाई दाल–भात खुब मन पर्न थाल्यो । अहिले म दाल–भात खान मन पराउँछु । दाल–भात खाएको अर्को दिन म फरक खाना खान्छु । मलाई नेवारी खाना पनि उत्तिकै मन पर्छ । नेवारी खाना नेपाली खानाको राजा नै हो । म तिब्बती खाना पनि खान्छु ।

नेपाली भेषभूषाबारे यहाँको भनाइ ?

यहाँ धेरै किसिमका पर्व मनाइन्छ र विविध भेषभूषा लगाइन्छ । विदेशीका लागि यस्ता कुरा हेर्दै पनि आकर्षित लाग्छ । विविध भेषभूषा र रहनसहन यहाँको अर्को विशेषता हो ।

यहाँलाई मनपर्ने नेपाली चाडपर्व ?

तीज, होली, लक्ष्मीपूजा, कुकुर तिहार यहाँका रमाइला पर्व हुन् । यहाँ गाई, काग, कुकुरलाई पूजा गरिन्छ भन्ने सुन्दा मलाई रोमाञ्चित बनायो । नेपाल संस्कृति, सम्पदा र चाडपर्वका कुरामा धेरै नै धनी छ । होलीमा यहाँ धेरै रमाइलो हुन्छ । तिहारमा मैले आफ्नो कुकुरलाई पूजा गरेको छु । त्यो मलाई निकै रमाइलो लाग्यो । तर, अहिलेचाहिँ मसँग कुकुर छैन र पूजा गर्दिनँ । तिहारमा लक्ष्मीपूजा गरेको पनि मलाई मन पर्छ । लक्ष्मीपूजामा मलाई कि त भक्तपुर कि बन्दीपुर गएर रात बिताउन मन पर्छ । म आफैंले बत्ती बालेर भजनकीर्तिन गर्दिनँ तर त्यसबेलाको वातावरण हेर्दा मनमोहक र आनन्द लाग्छ ।

तपाईं नेपाली भाषा पनि बोल्न सक्नुहुन्छ ?

मलाई नेपाली भाषा अलिअलि आउँछ । म जुन मुलुकमा जान्छु, त्यहाँको भाषा सिक्ने प्रयास गर्छु । जब म नेपाल आएको थिएँ, त्यसभन्दा अघि मैले अफगानिस्तानमा काम गरें । मलाई अफगानिस्तानको दारी भाषा आउँछ । र, म अफगानिस्तानमा त्यहाँको जनताको सहयोगका लागि जान चाहन्थें । धेरै वर्ष यहाँ काम गरेको अनुभवमा म के भन्छु भने सबै भाषाको आफ्नै नियम हुन्छ । मैले नेपाली भाषा पढें भने दारी भाषा बिर्सन्छु भन्ने लागेर पढिनँ । किनकि, कुनै समय दुई भाषाको मेल हुँदा सम्झन धेरै कठिनाइ हुन्छ । जब म नेपालमा सन् २०२१ मा आएँ, त्यसपछि म अफगानिस्तान जान्न भन्ने प्रस्ट भयो । त्यसपछि मैले नेपाली भाषा सिक्न थालें । हरेक आइतबार बिहान म नेपाली भाषा सिक्छु । उदाहरणका लागि मलाई अहिलेसम्म बोल्न आउने भनेको ‘मेरो नाम आर्नो हो, मेरो घर काठमाडौंमा हो, मेरो देश फ्रान्स हो, मलाई नेपाली खाना मन पर्छ’ जस्ता वाक्य मलाई बोल्न आउँछ । म अझै नेपाली भाषा सिक्दै छु ।

नेपाली गीत–संगीत कत्तिको सुन्नुहुन्छ ?

समग्रमा म परम्परागत गीत–संगीत धेरै सुन्दिनँ । तर, म कुटुम्ब ब्यान्ड सुन्छ । जसमा केही परम्परागतको मिश्रण पनि रहेको छ । मलाई नेपालीहरू एसियाका ल्याटिन अमेरिकी जस्ता लाग्छन् । यहाँ म जहाँ जान्छु, धेरै क्षमतावान् र अद्भुत प्रतिभा भएका नेपाली भेट्छु । कुनै पनि रेस्टुरेन्ट एन्ड बार वा कुनै समूहमा गएर गीत–संगीत सुन्दा पनि नेपालीले स्तरीय प्रस्तुति दिएका हुन्छन् । र, पुरानो पुस्ता जसले हिप्पीको समयलाई प्रतिनिधित्व गर्छन्, उनीहरूले जस्तोसुकै गीत–संगीत बजाउन र आभास दिन सक्छन् । मलाई क्यारेनको ज्याज संगीत मन पर्छ । काठमाडौंमा हुने ज्याज म्युजिक फेस्टिबलमा पनि उक्त जेनरका गीत बजाइन्छ । उनीहरूको कला उत्कृष्ट छ, म सधैं गएर सुन्ने गर्छु ।

नेपाली साहित्यका बारेमा कत्तिको जानकारी राख्नुभएको छ ?

प्रस्ट रूपमा भन्दा मलाई नेपाली साहित्यका बारेमा त्यति थाहा छैन । मैले नेपाली लेखकले लेखेको एउटा किताब पढेको थिएँ । जसमा एक जना केटी थिइन् । उनी काठमाडौंमा बस्थिन् र परिवार पहाडमा बस्थ्यो । तर, त्यो किताब वाग्मतीमा बाढी आउँदा बगायो र हरायो । मैले आफ्नो कामसँग सम्बन्धित केही नेपाली किताब पढेको छु । सुजीव शाक्यको ‘अनलिसिङ द बज्र’ किताब पढेको छु । नेपालको इतिहास, पृथ्वीनारायण शाह, नेपाली संस्कृति र भेषभूषासम्बन्धी प्रकाशित पुस्तक पनि पढेको छु ।

तपाईंले हेर्नुभएको नेपाली फिल्म ?

नेपाली फिल्म पूरै नेपाली भाषामा हुन्छ, जसले गर्दा मलाई बुझ्नमा कठिनाइ हुन्छ । त्यसैले मैले नेपाली फिल्म हेरेको छैन तर नेपालसम्बन्धी छोटा भिडियो र वृत्तचित्र चाहिँ हेरेको छु । केही समयअघि नेपालका ‘यौनिक अल्पसंख्यक’ समुदायका बारेको भिडियो हेरेको थिएँ । ‘वि हनी हन्टर्स’ को वृत्तचित्र पनि हेरेको छु ।

अहिलेसम्म नेपालका कति स्थान घुम्नुभएको छ ? यहाँलाई मनपर्ने स्थान ?

म नेपालको पूर्वदेखि पश्चिमसम्म घुमेको छु । नौ वर्षका दौरान यहाँका धेरै स्थानमा पुगेको छु । कति स्थानमा पुगें भनेर सम्झन मलाई गाह्रो हुन्छ । म धेरै ट्रेकिङ गर्छु । म मुस्ताङ र माथिल्लो मुस्ताङ घुमिसकेको छु । म लाङटाङ–लिरुङ, मनास्लु, सगरमाथा बेसक्याप, कालापत्थरलगायत क्षेत्रमा ट्रेकिङ गरेको छु । यी सबै ट्रेकिङमध्ये मलाई सगरमाथा बेसक्यापबाट मुख्य गरी गोक्यो सबैभन्दा उत्कृष्ट लाग्यो । म पहिले माथिल्लो मुस्ताङ पुग्दा धेरै नै उत्कृष्ट लागेको थियो । किनकि, त्यसबेला उक्त क्षेत्रमा सडक यातायात पुगिसकेको थिएन । म समय मिल्दा नेपाली साथीहरूसँग घुम्न निस्किन्छु । साथमा माछा मार्ने पनि गरेको छु । हामी कोशी, महाकाली, पश्चिम सेती, बबईलगायत नदीमा माछा मार्न र र्‍याफ्टिङका लागि जान्छौं । हामी १० देखि १५ दिनसम्म बस्ने गरी क्याम्पमा गएका छौं । दुई पटक दिपायलदेखि कर्णाली चिसापानीसम्म मैले र्‍याफ्टिङ गरेको छु । पञ्चेश्वरबाट टनकपुरसम्म पनि र्‍याफ्टिङ गरेको छु । बबईमा दुई पटक र्‍याफ्टिङ गरेको छु । ती यात्राहरू धेरै आनन्ददायी रहे ।

नेपालको संस्कृति र सम्पदाबारे यहाँको धारणा ?

संस्कृति र सम्पदाका सवालमा नेपाल धेरै उत्कृष्ट मुलुक हो । मलाई नेपालको सांस्कृतिक सम्पदा धेरै मन पर्छ । म भक्तपुर गइरहन्छु । मलाई सांस्कृतिक सम्पदामा धेरै चासो छ र यसको संरक्षणका लागि पनि काम गरिरहेको छु । एडीबीमार्फत पनि सम्पदा संरक्षणको काम भइरहेको छ ।

प्रकाशित : फाल्गुन ५, २०८० ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×