कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

सबै खराब काम एकै ठाउँ हुर्किएकाले गठबन्धन गर्न हुन्न भन्ने अडान हो : थापा

काठमाडौँ — चार वर्षपछि हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर अहिल्यै निर्णय नलिन सभापति शेरबहादुर देउवाले जोडबल लगाएका थिए । तर, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि देउवा महासमितिमा महामन्त्री गगन थापाको प्रस्ताव अघि बढाउन सहमत भएका हुन् ।

सबै खराब काम एकै ठाउँ हुर्किएकाले गठबन्धन गर्न हुन्न भन्ने अडान हो : थापा

महामन्त्री थापाले अडान नछाडेपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाललाई भेट्न सोमबार राति बालुवाटार गएका थिए । देउवानिकट नेताहरू केन्द्रीय समिति डाकेरै पनि गठबन्धनसँग सम्बन्धित महामन्त्रीको प्रस्ताव असफल बनाउने तयारीमा थिए । यसै सन्दर्भमा महामन्त्री गगन थापासँग गरिएको संक्षिप्त कुराकानी :

चार वर्षपछि हुने निर्वाचनका लागि अहिल्यैदेखि चुनावी गठबन्धन गर्न हुन्न भनेर अडान लिनुभयो, यो विषयले पार्टीभित्र र बाहिर निकै ठूलो हल्लीखल्ली भयो, खासमा तपाईंको उद्देश्य के हो ?

कांग्रेसमा आबद्ध जति पार्टी सदस्य छौं, त्योभन्दा धेरै पार्टीका समर्थक र शुभेच्छुकको पंक्ति छ । कांग्रेससँग उनीहरूको सम्बन्धको मुख्य आधार भनेको निर्वाचनका बेलामा रूख चिह्नमा मतदान गर्ने हो । हामीले त्यो पंक्तिको हक खोस्ने वा बिटुलो बनाउने काम गर्‍यौं । हाम्रा लागि चार वर्ष होला, पार्टीका लागि रणनीतिक वा चुनावको विषय पनि होला । तर, समर्थक/शुभेच्छुकका लागि भने एउटा आस्थामाथि चोट पुग्ने कुरा हो । हामी चार वर्ष कुर्ने हो ? थप भत्किन दिने हो ?

दोस्रो कुरा म देशभर घुम्दा पार्टीका साथीहरूमा ठूलो आत्मविश्वास गुमेको पाएँ । भविष्यका चुनाव हामी आफ्नै तागतमा लड्छौं भनेर कांग्रेसले गुमेको आत्मविश्वासलाई फर्काउने काम गर्नुपर्छ । तेस्रो र महत्त्वपूर्ण कुरा, नेपालको राजनीतिमा निराशा बढेको छ । यसको मुख्य कारण हाम्रो राजनीतिक दलको कार्यशैली र नेतृत्वप्रति विकर्षण हो ।

गठबन्धनको राजनीतिले त्यसलाई यति विकृत बनाएको छ कि कुहिने तहमा पुगेको छ । गठबन्धनको संस्कृतिले खराब–खराबलाई एकठाउँमा ल्याउने काम गर्‍यो । कुनै एक दलको कुराभन्दा पनि यो प्रवृत्तिको कुरा हो, जसले दलभित्र सुधार रोकिदियो । हाम्रो राजनीतिको लोकतान्त्रीकरणलाई अवरुद्ध बनाइदियो । खराब लोकतान्त्रिक संस्कृति बन्यो । त्यसैले चुनाव वा सरकारको मात्र कुरा होइन । कांग्रेसले यसै महासमितिबाट प्रस्ट विचार दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

गठबन्धन त यो चुनाव प्रणालीको बाध्यता जस्तो पनि देखिएको छ, तर तपाईंले सभापतिलाई अप्ठ्यारो पार्नकै लागि गठबन्धनविरोधी प्रस्ताव ल्याउनुभयो भनेर पनि टिप्पणी छ, के भन्नुहुन्छ ?

चुनावपछि जब एउटा दलसँग बहुमत हुँदैन, स्वाभाविक रूपमा अंकगणित र अवस्थाबाट साझा दृष्टिकोण बन्छ । तर कतिले चुनावी गठबन्धन भन्छन् । केको चुनावी गठबन्धन ? यही गठबन्धन पनि चुनावपछि भत्किएर फेरि जुटेर आएको हो । चुनावमा अर्कैतिर भएको जनता समाजवादी पार्टी अहिले हामी एकै ठाउँमा छौं । अहिलेका लागि यसलाई धेरै चलाउन हुँदैन । यहींभित्रबाट एउटा समझदारी बनेको छ । त्यो समझदारीबाट अघि बढ्नुपर्छ भन्नेमा म वा अरू कसैमा पनि अलमल छैन ।

तर समग्र संस्कृतिको विषयमा अब हामीले निर्णय गर्नुपर्छ । यहाँभित्र को प्रधानमन्त्री हुने भन्ने विषय नै होइन । हाम्रो राजनीतिक संस्कृति छ । कांग्रेसको सन्दर्भमा यसको भविष्यसँग जोडिएको प्रश्न हो । त्यसमा पनि अवलम्बन गरेको निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिन्छ भन्ने आत्मविश्वास बोकेर जानुपर्छ । निर्वाचन प्रणालीमा केही परिमार्जन गरौं भन्ने बहस पनि भई नै रहेको छ । त्यसको नेतृत्व पनि कांग्रेसले गरौं न । यो विषयमा एमालेसहित अरू दलसँग किन संवाद नगर्ने ? यसमा हामीले एउटा समझदारी बनाउन सक्छौं । संसद्मा आइरहेको निर्वाचन ऐनमै पनि काम गर्न सकिन्छ । यो निर्वाचन प्रणाली त सबैका लागि हो ।

भनेपछि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने आवश्यकता कांग्रेसले महसुस गरिसकेको हो ?

यस विषयमा पार्टीभित्र प्रशस्त बहस भइरहेको छ । उपसभापति पूर्णबहादुर खड्काले राख्नुभएको प्रस्तावमा पनि संशोधनको प्रस्ताव नै ल्याएका छौं । उद्घाटन भाषणमा सभापतिले बोलेका कुराहरूलाई धेरैले धेरै अर्थ लगाए । तर, मुख्य कुरा निर्वाचन प्रणालीकै हो । निर्वाचन प्रणालीका विषयमा पार्टीभित्र भएको छलफल, बहसलाई पनि सँगै लिएर जाने हो ।

चुनावी गठबन्धन नगर्ने तपाईंको प्रस्ताव महासमितिबाट पारित हुने सम्भावना कतिको देख्नुहुन्छ ?

कांग्रेसको कुनै पनि तहका नेता साथीहरू अब हुने चुनावमा कांग्रेस आफ्नै तागतमा एक्लै लड्छ र आफ्ना मतदातालाई रूखमा नै मत हाल्न लगाउँछ भन्ने कुराको विरोधमा हुन्छन् भन्ने मलाई लाग्दैन । यति कुरा बोल्नु हुँदैन, अहिले बोल्नु हतार हुन्छ भनेर कसैले भन्छ भन्ने मलाई लाग्दैन । यो सामान्य, स्वाभाविक र जिम्मेवारीको कुरा हो । त्यस्तो कुरामा विमति राख्नुहुन्छ भन्ने मलाई विश्वास छैन ।

करिब एक सातादेखिको आन्तरिक संघर्षका बीच सभापतिले तपाईंलाई प्रस्ताव पेस गर्न कसरी स्वीकृत दिनुभयो त ?

छलफल गर्दै जाँदा सभापतिज्यूलाई पनि भविष्यमा हामी चुनाव एक्लै लड्छौं र रूख चिह्नमा नै मतदान गर्छौं भन्ने त स्वाभाविक हो जस्तो लाग्यो होला । सभापतिले स्वीकृत नदिएको भए फरक मत भएर आउन सक्थ्यो होला, तर अहिले मूल प्रस्ताव नै आएको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?