१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

'अध्यक्ष यादवको निरंकुश शैलीविरुद्ध नयाँ कदम' [अन्तर्वार्ता]

गंगा बिसी

जसपा विभाजन भएपछि दुबै पक्षले सत्ता समीकरणलाई निरन्तरता दिने बताएका छन् । संस्थापन पक्षको अध्यक्षमा उपेन्द्र यादव र जसपा (नयाँ)को अध्यक्षमा अशोक राई छन् । सरकारमा दुई मन्त्रालय पाएको जसपाका मन्त्री पनि विभाजित भएका छन् ।

'अध्यक्ष यादवको निरंकुश शैलीविरुद्ध नयाँ कदम' [अन्तर्वार्ता]

पार्टी विभाजनपछि उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं अध्यक्ष उपेन्द्र यादव संस्थापन र नवलकिशोर साह सुडी विभाजित नयाँ पार्टीको पक्षमा लागेका छन् । जसपा विभाजित किन भयो ? यसकै सेरोफेरोमा रहेर जसपा (नयाँ) का संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसँग गंगा बीसीले गरेको कुराकानी ।

जनता समाजवादी पार्टी किन फुटाउनु भयो ?

देशको राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास हुँदै गए । पार्टीभित्र पनि केही घटनाक्रम विकास भए । त्यसलाई निकास दिनकै लागि नयाँ बाटो रोजेका हौं । सामान्यतया भन्ने हो भने पार्टीभित्र मुख्य नेतृत्वमा निरंकुशता छ, त्यसका विरुद्ध हिँड्न नयाँ कदम चालेका हौं । लामो यात्रा हिँड्नु छ भने सहकार्य संस्कृति बसाऔं भन्ने हो । हाम्रो देश विविधतायुक्त छ, यो विविधिताभित्र राष्ट्रिय एकताका लागि संघीयतामा गएका थियौं । त्यसकारण पार्टीभित्र पनि त्यस ढंगले जाऔं भनेर यो कदम चालेको हो ।

पार्टीभित्र सहकार्यात्मक वातावरण छैन । मैले छ महिना अघि नै लामो यात्रा गर्ने हो भने सहकार्यबाट पार्टी चलाऔ, होइन भने आ-आफ्नो बाटो लागौं भनेको थिएँ ।

अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगले पार्टी चलाएकाले नयाँ पार्टी बनाउनुभएको हो ?

वैचारिक, राजनीतिक हिसाबले हामी समाजवादको यात्रामा, समता, समृद्धि र सामाजिक न्यायको यात्रामा खासै समस्या छैन । उहाँ (यादव) को सबैभन्दा कमजोरी एक्लै हिड्नेँ बानी छ । पार्टी भनेको परिवार हो, सामूहिक हिसाबले चलेपछि मात्र लामो यात्रा गर्न सकिन्छ ।

पार्टी विभाजन गरेपछि तपाईंहरु सत्तासमीकरणमै रहनुहुन्छ कि विपक्षमा ?

हाम्रो स्पष्ट कुरा छ, सरकारमा रहन्छौं । हामीले सत्तासमीकरणमै रहने गरी कदम चालेका हौं ।

अध्यक्ष यादवले समीकरण भत्काउन खोजेपछि पार्टी फुटाउन खोज्नुभएको हो ?

त्यस्तो मिडियामा आएको कुरा हो । यो सबैकुरा सत्य नहुन पनि सक्छ । हामीले समीकरणलाई निरन्तरता दिन यो कदम चालेको हौं ।

तपाईंको पक्षमा कति सांसद र केन्द्रीय सदस्य हुनुहुन्छ ?

केन्द्रीय सदस्यको छिट्टै भेला गर्छौं । प्रतिनिधिसभामा बहुमत सात सदस्य हामीसँग हुनुहुन्छ । हाल हामीले २९ सदस्यीय केन्द्रीय समिति बनाएका छौं । हाम्रो सम्पर्कमा डेढ सय केन्द्रीय सदस्य आउनुभएको छ । हामीले सबै व्यवस्था मिलाएर एक हप्ताभित्र फाइनल गर्छौं ।

पार्टीको नाम पुरानै हो कि नयाँ ?

हाम्रो पार्टीको नाम जनता समाजवादी पार्टी हो । छोटकरीमा जनता समाजवादी भनिने छ ।

पुरानो जनता समाजवादी पार्टी नेपालचाहिँ कोसँग रहन्छ ?

दल विभाजन ऐनअनुसार पार्टी गठन गरेका छौं । बहुसंख्यक सांसद हामीसँग भए पनि कानुनबमोजिम के गर्ने भन्ने हामी परामर्शमै छौं ।

पार्टी फुटाएपछि राजनीतिक अस्थिरता आउँदैन र ?

वर्तमान समीकरणको निरन्तरताको पक्षमा छौं ।


प्रकाशित : वैशाख २३, २०८१ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?