सरकार झन् बलियो बनाउँछौं, पार्टी विभाजनले सत्ता समीकरणमा प्रभाव पर्दैन  : प्रदीप यादव

वैशाख २३, २०८१

कान्तिपुर संवाददाता

Let's make the government stronger, party division will not affect the power equation: Pradeep Yadav

काठमाडौँ — अशोक राईको नेतृत्वमा विभाजित जसपाका नेता तथा सांसद प्रदीप यादवले यो विभाजनले सत्ता गठबन्धनलाई कुनै प्रभाव नपर्ने बताएका छन् । जसपा नेपालमा प्रमुख सचेतको समेत भूमिका निर्वाह गरेका सांसद यादवले  इकान्तिपुरसँग कुरा गर्दै पार्टी अध्यक्ष तथा उपपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एकलौटी गरेपछि पार्टी विभाजनको निर्णयमा पुगेको बताएका हुन् ।

'यो पार्टीभित्रको आन्तरिक निर्णय हो । यसले सत्ता समीकरणमा कुनै प्रभाव पर्दैन । यो सत्ता समीकरण झन् बलियो बन्छ । झन यो समीकरण र सरकारलाई बलियो बनाउँछौं,' प्रदीप यादवले भने ।

उनले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति आपत्ति जनाए । 'पार्टी र संसदीय दलमा अध्यक्षले एकलौटी गर्नुभयो । उहाँ पार्टीलाई एकलौटी चलाउन खोज्नुहुन्थ्यो । कोहीसँग सल्लाह नगर्ने, जे भन्यो एस गर्नुपर्ने हामी त बधुँवा मजदुरजस्तो भएका थियौं केन्द्रीय सदस्य र सांसदहरू,' सांसद यादवले भने । 

जसपा, नेपालको महाधिवेशन घोषणा भएको अवस्थामा आफू इतर पक्षलाई सदस्यतासमेत नदिने नीति अध्यक्ष उपेन्द्रले लिएकाले तत्काल निर्णयमा पुगेको प्रदीपको भनाइ छ । 'महाधिवेशन आउँदैछ । त्यहाँ आफू नजिककालाई मात्रै जिम्मेवारी दिने । आफ्नो बारेमा प्रसंसा फेसबुकमा लेख्नेलाई मात्रै सदस्य बनाउने फरक मत राख्नेलाई सदस्यता नदिने गर्नुभयो' उनले भने । 

आफूहरू पार्टीको आधिकारिकता खोज्नेभन्दा पनि नयाँ पार्टी दर्ताको प्रक्रियामा गएको यादवले बताए । ७ प्रतिनिधिसभा सदस्य तथा २९ केन्द्रीय सदस्यले नयाँ दल दर्ताको निवेदन दिएको बताए । आयोगबाट ७ दिनको समय मिलेकाले त्यसबेलासम्म अन्य नेताहरू पनि नयाँ दल दर्तामा जोडिने प्रदीपको भनाइ छ । जसपाका प्रतिनिधिसभामा १२ सांसद छन् ।

कान्तिपुर

Link copied successfully