२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा निर्माण भएका घरटहरा भत्काइएको छ । बुधबार डोजर लगाएर खाद्यको जग्गा खाली गरिएको हो । 

खाद्यको जग्गामा बनेका घरटहरा भत्काइयो

तत्कालीन अवस्थामा नेशनल ट्रेडिङ मातहत रहेको एक बिघा सात कठ्ठा जग्गामा टहरा निर्माण गर्न सकिने गरी २०७० मा ५ वर्षका लागि सम्झौता गरिएको थियो । तर उक्त क्षेत्रमा पक्की संरचना निर्माण गरिएका थिए ।

पछिल्लो समय नेशनल ट्रेडिङ र खाद्य संस्थान एकैमा गाभिएपछि उक्त जमिन पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मातहत आएको हो । ‘खाद्यको जमिनमा बनेका सबै घरटहरा सहज हिसाबले भत्काइएको छ,’ कम्पनीको महेन्द्रनगरस्थित कार्यालयका प्रमुख राजु मोक्तानले भने, ‘लामो समयदेखिको हाम्रो प्रयास सफल भएको छ ।’ कम्पनीले विगत चार/पाँच वर्षदेखि उक्त जमिन खाली गराउन पहल गरिरहेको थियो ।

खाली गरिएको जमिनको संरक्षणका लागि एक/दुई दिनमै घेराबार गरिने कार्यालय प्रमुख मोक्तानले बताए । उनका अनुसार केन्द्रीय कार्यालयले योजना बनाएर त्यहीअनुसार संरक्षण गरिने बताए । पछिल्लो पटक गृह मन्त्रालयले नै सरकारी तथा सार्वजनिक जमिनमा भएको अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको थियो । त्यसपछि जिल्ला प्रशासनले पटक-पटक छलफल र अध्ययन गरेर जग्गा खाली गराउन सम्भव भएको हो ।

उक्त क्षेत्रमा घरटहरा बनाएर व्यापार व्यवसाय गरिरहेकाहरुले सामान खाली गरेपछि डोजर चलाइएको हो । व्यवसाय गरिरहेकाहरुको सहयोगका कारण खाली गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । एक महिनाअघि जिल्ला प्रशासनमा भएको सर्वपक्षीय छलफलमा खाद्य र बाल संगठनको जग्गामा बनेका घरटहरा हटाउन एक महिनाको समयावधि दिइएको थियो । त्यसकै आधारमा बुधबार खाद्यको जग्गामा भएका घर भत्काइएको हो ।

‘बाल संगठनको जमिनमा बसोबास गरिरहेकाले थप एक हप्ता समय मागेका छन्,’ प्रजिअ अधिकारीले भने, ‘त्यहाँ पनि एक हप्तामा खाली गरिन्छ ।’ उनले नगर विकास समितिको जमिनमा अवैध रुपमा बनेका संरचना हटाउने विषयमा पछि छलफल भइरहेको बताए ।

प्रकाशित : वैशाख २६, २०८१ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?