२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

उपचारको पैसा तिर्न नसक्दा दलित महिलाको शव अस्पतालमै बन्धक

अस्पताल प्रशासक भन्छन्, ‘हाम्रो कुनै अनुदान छैन, कुनै दाता छैन, अस्पतालमा भर्ना गरिएपछि उपचारमा लागेको खर्च त बिरामी पक्षबाट लिने हो नि ?’

राजविराज — विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएकी सप्तरीकी एक दलित महिलाको शव अस्पतालको बिल तिर्न नसक्दा बन्धक बनेको छ । जेठ ३ गते मृत्यु भएकी सप्तरीको बलानबिहुल गाउँपालिका–२ का उमेश रामकी श्रीमती ४२ वर्षीया श्यामाकुमारी रामको शव उपचार खर्च नबुझाउन नसक्दा अस्पतालमै राखिएको हो ।

उपचारको पैसा तिर्न नसक्दा दलित महिलाको शव अस्पतालमै बन्धक

गत चैत ५ गते सप्तरीको बोदेवरसाइन बजारबाट सिटि रिक्सामा घर फर्किदै गरेकी श्यामाकुमारीलाई स १ त ३२८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । विराट नर्सिङ होममा भर्ना गरिएकी उनको उपचारका क्रममा गत जेठ ३ गते मृत्यु भएको थियो ।

अस्पतालले उपचारमा लागेको खर्च तिरेपछि मात्र शव दिने बताएपछि विपन्न परिवारका मृतकका पति उमेश राम समस्यामा परेका छन् । श्यामाका आफन्त रामएकवाल रामका अनुसार अस्पतालले १२ लाख ५९ हजार २ सय रुपैयाँ खर्च देखाएको छ । जसमध्ये ३ लाख ७४ हजार रुपैयाँ श्यामाको परिवारले अस्पताललाई बुझाइसकेको छ ।

यस्तै औषधि वापत ८ लाख खर्च भएकोमा परिवारले छुट्टै ५ लाख २५ हजार बुझाइसकेको छ । अस्पतालले बाँकी रहेको रकम बुझाए मात्र शव दिने बताएपछि पैसाको व्यवस्थापन गर्न नसक्दा मृतकका परिवारजन शव कुरेर अस्पताल बाहिर बस्नु परेको रामएकवालले बताए ।

गत जेठ १ गते मृत्यु भएका सप्तरीकै सुरुङगा नगरपालिका–१ का २१ वर्षीय रोशनकुमार सदायको शव पनि उपचार खर्च बुझाउन नसक्दा ५ दिनसम्म विराटनगरकै नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बन्धक राखिएको थियो । पाँचदिन अस्पतालमा शव बन्धक राखेर नोबेलले शनिवार परिवारलाई शव लैजान दिएको थियो ।

श्यामाकुमारीको पछिल्लो प्रकरणमा ठक्कर दिने ट्रयाक्टर धनीले अहिलेसम्म एकलाख रुपैयाँ मात्र दिएको छ । लामो समयदेखि रोजगारीका लागि कतारमा रहेका श्यामाकुमारीका पति उमेश श्रीमती दुर्घटनामा घाइते भएपछि नेपाल फर्किएका छन् ।

एक छोरा र दुई छोरी रहेका उनले भने, ‘बैदेशिक रोजगारीमा रहँदा जसोतसो परिवार पालेका थियौं । श्रीमतीको दुर्घटनापछि बिदा लिएर फर्किए, श्रीमतीलाई बचाउन त सकिएन । शव बन्धक हुँदा सद्‌गत पनि गर्न सकेको छैन ।’

विराट नर्सिङ होमका प्रशासन प्रमुख पदम बिनाडीले श्यामाकुमारी उपचारमा लागेको साढे ८ लाख रुपैयाँ अस्पताललाई तिर्न बाँकी रहेको बताए । ‘हाम्रो कुनै अनुदान छैन्, कुनै दाता छैन । अस्पतालमा भर्ना गरिएपछि उपचारमा लागेको खर्च त विरामी पक्षबाट लिने हो नि ?’ बिनाडीले भने, ‘उपचारमा लागेको रकम मध्ये साढे ८ लाख जति बाँकी रहेकाले शव रोकिएको हो ।’

जिल्ला प्रहरीका डीएसपी ढुण्डीराज न्यौपानेले सवारी अंगभंग मुद्दामा चालक पूपर्क्षका लागि कारागार चलान भएको र ट्याक्टरधनी फरार रहेकाले उपचार खर्च व्यवथापनका लागि पहल गरिरहेको बताए ।

प्रकाशित : जेष्ठ ६, २०८१ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?