चिनियाँ राजदूतले भने- ‘नेपाल एक चीन सिद्धान्तमा प्रतिबद्ध छ’

जेष्ठ ६, २०८१

जगदीश्वर पाण्डे

The Chinese ambassador said - 'Nepal is committed to the one China principle'.

काठमाडौँ — चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन सिद्धान्तमा प्रतिबद्ध रहेको बताएका छन् । नेपाल-चीनमैत्री मन्चद्वारा आयोजित कार्यक्रममा बोल्दै राजदूत छनले नेपालले कुनै पनि तत्वलाई चीनविरुद्ध गतिविधिको लागि निषेध गरेको बताए ।

‘हामी (चीन र नेपाल) आफ्नो मुख्य चासोको बारेमा पनि ध्यान दिन्छौं । नेपाल एक चीन सिद्धान्तमा प्रतिबद्ध छ । साथै, नेपालले कुनै पनि तत्वलाई चीनविरुद्ध गतिविधि गर्नको लागि निषेद गरेको छ,’ उनले भने,‘त्यसको बदलामा चीनले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र सम्मानको लागि सहयोग गर्छ । चीनले नेपालको स्वतन्त्र रुपमा सामाजिक प्रणाली र विकासमा छनोट गर्ने विषयमा पनि सहयोग गर्छ, जुन नेपालसँग मेल खान्छ ।’  

राजदूत छनले चीन र नेपाल नजिकका छिमेकी रहेको उल्लेख गर्दै हिमाल र नदीले जोडेको बताए । लामो मित्रताको सम्बन्धले पनि दुई मुलुकलाई जोडेको उनको भनाई थियो ।

‘चीन र नेपालले सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकले एकअर्कालाई विश्वास गरेका छन् । चीन र नेपाल घनिष्ठ मित्र हुन्,’ उनले भने । राजदूत छनले चीन नेपालमा सबैभन्दा ठूलो लगानी कर्ता हो भने दोस्रो बढी व्यापार गर्ने मुलुक भएको प्रष्ट पारे ।

‘नेपाल डेभलपमेन्ट इनिसियटिभ र ग्रुप अफ फ्रेन्ड्स अफ ग्लोबल इनिसियटिभमा जोडिएको छ । चीन नेपालमा विभिन्न परियोजनाहरुमा काम गरिरहेको छ,’ उनले भने । उनले चीनले विमानस्थल, सडक, हाइड्रो लगायत परियोजनामा काम गरेको बताए ।

राजदूत छनले चीनले यो वर्ष नेपालीहरुलाई भिसामा नि:शुल्क उल्लेख गर्दै १४ नाकाहरु खुल्ने क्रममा रहेको पनि उल्लेख गरे । उनले संयुक्त राष्ट्र संघ (यूएन) को महासभामाले सन् १९७१ मा एउटा मात्र चीन रहेको र त्यो जनवादी गणतन्त्र चीन भएको पनि बताए । ‘उक्त प्रस्तावलाई धेरै मतले स्वीकार गरिएको थियो । ताइवान चीनको एउटा भाग हो, ताइवान देश होइन । यो सबै मुलुकले अपनाउनु पर्छ,' उनले भने । 

उनले एक चीन अन्तर्राष्ट्रिय सहमति भएको बताए । ‘अहिले चीनसँग कुटनीतिक सम्बन्ध राखेका १८३ मुलुकले एक चीन नीतिको बारेमा प्रष्ट छन्,’ राजदूत छनले भने, ‘ऐतिहासिक र कानुनी तथ्य के हो भने ताइवान चीनको भाग हो । यो परिवर्तन हुन्न । चीन एकीकरण हुनुपर्छ । यो एकीकरण हुन्छ पनि ।’ 

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully