कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

धनगढी — चौथो पटकको प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री सोडारीले २८ सांसदको समर्थन पाएका हुन् । पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरे । विपक्षी दलले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

कांग्रेस, नागरिक उन्मुक्ति (रेशम चौधरी पक्षधर) र राप्रपाका सांसदहरूको नाराबाजीबीच मुख्यमन्त्री सोडारीले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए । सभामुख भीमबहादुर भण्डारीले मत विभाजन प्रक्रिया अगाडि बढाएपछि रुष्ट विपक्षी दलका सांसद बैठक बहिष्कार गर्दै सभाकक्षबाट बाहिरिएका थिए । उनीहरूले बैठक सुरु हुनेबित्तिकै नाराबाजीसहित विरोधसमेत गरेका थिए ।

सात सांसद रहेको नागरिक उन्मुक्तिका पाँच जना विपक्ष र दुई सांसद सत्ता पक्षको बेन्चमा बसेका थिए । अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरी र टीका थापा सत्ता पक्षमा छन् । दुवै मन्त्री छन् । रेशम पक्षधर सांसदहरू घनश्याम चौधरी, खुसीराम डगौरा थारू, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी र इन्दिरा गिरी विपक्षी बेन्चमा बसेका थिए ।

बैठकमा नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री नियुक्तिमा आफ्नो पार्टीको समर्थन नरहेकाले उक्त नियुक्ति अवैधानिक रहेको जिकिर गरेका थिए । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया असंवैधानिक रहेको, प्रदेश प्रमुख एवं सभामुखका कदम स्वेच्छाचारी भएकाले राजीनामा दिनुपर्ने माग अघि बढाइएको र आगामी बैठकमा कसरी अघि बढ्ने भन्ने छलफल भइरहेको बताए ।

वैशाख ६ मा नियुक्त मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१, २२ र बिहीबार बिहानकै बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए । पहिला दुईवटै बैठकमा विश्वासको मत दिन एमाले तयार भएको थिएन । एमाले संसदीय दलले बुधबार सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय गरेपछि उनले विश्वासको मत पाउने वातावरण बनेको थियो । यस्तै, सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादीको बिहीबार बसेको संसदीय दलको बैठकले खगराज भट्टलाई दलको नेता मानबहादुर धामीभन्दा माथिल्लो मर्यादामा राख्ने निर्णय गरेपछि उनी संसदीय दलको बैठकमा उपस्थित भएका थिए ।

प्रकाशित : जेष्ठ ४, २०८१ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x