२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

६७ वर्षीया अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण

प्रताप विष्ट

हेटौंडा — घरमै नागरिकता पाउँदा गोमा भुजेलको अनुहार हसिलो थियो । ६७ वर्ष पार गर्न लागिसक्दा पनि उनले नागरिकता पाउन सकेकी थिइनन् । कान नसुन्ने, बोल्न नसक्ने र दुवै खुट्टा दरोसंग टेक्न नसक्ने भुजेललाई जिल्ला प्रशासन कार्यालयको टोलीले शनिवार घरमै पुगेर नागरिकता प्रदान प्रदान गरेको हो । 

६७ वर्षीया अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण

मकवानपुर थाहा नगरपालिका-८ आग्रा खानीखोलाकी भुजेललाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलको टिमले नागरिकता दिएको थियो । नागरिकता पाउँदा उनी खुशी भएकी थिइन् ।

वडाध्यक्ष हेमकुमार थिङले अब नागरिकता भएपछि महिनाको चार हजार रुपैयाँ वृद्ध भत्ता पाइन्छ भनेपछि उनको अनुहारमा चमक आएको थियो । वडाध्यक्ष थिङ ठूलो स्वरले गोमाको कानमा अब वृद्धभत्ता पाइन्छ भनेर सुनाउँदै थिए । ठूलो स्वरले बोलेपछि मात्र दाहिने कानले अलिअलि सुन्छिन् गोमा ।

बल्लतल्ल घर आँगन गर्न सक्ने गोमा नागरिकताविहीन थिइन् । उनको साथमा ८५ वर्षीया आमा छिन् । उनले नै गोमाको स्याहार सुसार गर्दै आएकी थिइन् ।गोमाका दाजुभाइ हेटौँडा र काठमाडौँमा बस्छन् । वडाध्यक्ष थिङको सक्रियतामा उनले नागरिकता पाएकी हुन् ।

जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेर उनले गोमाको घरमै नागरिकताको टोली लगेका थिए । वि.सं. २०१४ साल माघ ७ गते जन्मिएकी गोमा पूर्ण अपांग छिन् । हालसम्म नागरिकता पाउन नसकेकोले उनले सामाजिक सुरक्षा भत्ता तथा अपाङ्गता परिचयपत्र समेत पाउन सकेकी थिइनन् ।

नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पौडेलसहित सहदेव आचार्य, मदन श्रेष्ठलगायतको टोली आग्राको खानीखोला पुगेका पुगेका थिए ।

प्रकाशित : जेष्ठ ६, २०८१ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x