कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

म अभियुक्त बचाउन लागेको भन्ने हल्ला हो : अध्यक्ष ओली

काठमाडौँ — एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताएका छन् । ओलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग १ घण्टा भन्दा लामो समयसम्म छलफल गरेका छन् । 

म अभियुक्त बचाउन लागेको भन्ने हल्ला हो : अध्यक्ष ओली

सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेपछि निस्किने क्रममा ओलीले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा आफूविरुद्ध हल्ला फैलाइएको बताएका हुन् । 'अभियुक्तलाई बचाउन खोज्नुभएको छ भन्ने आरोप छ नि ?,' भन्ने प्रश्नको जवाफमा ओलीले भने, 'तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन्, त्यस्ताहरूले हल्ला फैलाएका हुन् ।'

ओलीले प्रधानमन्त्री दाहालसँग थप के विषयमा छलफल भयो भन्ने विषयबारे भने बोलेनन् । त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी कहाँ छन् भन्ने प्रश्नको जवाफमा ओलीले भने, 'तपाईंहरूले खोज्नु न !' रायमाझी आफ्नो सम्पर्कमा नरहेको पनि ओलीको भनाइ थियो ।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि ओलीले तीन दिनभित्र दोस्रो पटक प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । बिहीबार प्रधानमन्त्रीलाई भेटेपछि ओलीले रायमाझीको बारेमा भनेका थिए, ‘एउटा बहालवाला सांसद, पटक-पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ ।’ त्यतिबेला गृहजिल्ला अर्घाखाँचीमा कार्यक्रम सकेर काठमाडौंका लागि आएका रायमाझी फरार भएका छन् ।

प्रधानमन्त्री दाहाललाई भेट्न ओली शनिबार करिब १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर दिउँसो करिब १:४० मा बाहिरिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनी फरार रहेका छन् । सरकारका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका छन् । रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

प्रकाशित : वैशाख २३, २०८० १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×