कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कमान्डरको पर्खाइ !

के तपाईं आफ्नो जीवनको रेल आफैं कुदाउन तयार हुनुहुन्छ ? कि जिन्दगीको रेल छुट्यो भन्दै आँसु खसाल्दै हुनुहुन्छ ? तपाईं कस्तो कमान्डरको पर्खाइमा हुनुहुन्छ ?
रीना मोक्तान

यो देश के–को पर्खाइमा छ ? भिजन बोकेको राजनेताको ? जसले विद्यमान समस्या हटाइदिँदै देशलाई सुखी/समृद्ध बनाइदियोस्, सुशासन कायम गरिदेओस् ! अथवा, ओरालो लागेको अर्थतन्त्र उकास्दै बढ्दो महँगी र बेरोजगारीलाई छुमन्तर गराइदिने मसिहाको ? 

कमान्डरको पर्खाइ !

यो देश र यहाँका जनताले झैं मण्डला थिएटरको मञ्चमा देखिएका ‘रेलवे टु नो ह्वेयर’ का कलाकार पनि कसैको व्यग्र प्रतीक्षामा छन् । कसको ? कमान्डरको । त्यस्तो कमान्डर जो रेलबाट आउनेवाला छ, पर्खनेहरू सबैलाई त्यो दुःखदायी पर्खाइको मिठो फल दिलाउने सुन्दर गन्तव्य पुर्‍याउनेछ । त्यस्तो, गन्तव्य जहाँ विगतका समस्याहरू विगतमै छुट्नेछन् । कलाकारहरू सबै रेल स्टेसनकै वरपर पर्खिरहेछन् । केही चर्को आवाज सुनिहाले उनीहरू जुरुक्क उठ्छन्, कहींबाट मधुर आवाज सुनिहाले पनि कमान्डर आइपुगेको कल्पन्छन् ! कमान्डरको पर्खाइमा उनीहरूमा उत्पन्न उत्साह, उमंग, छट्पटी, उकुसमुकस र आवेगका थुप्रै तरंगमा तपाईंले आफूलाई पनि भेट्नुहुनेछ ।

आफ्ना पर्खाइहरूको साक्षी बन्नुहुनेछ । मण्डलाका पूर्व विद्यार्थीद्वारा आयोजित रंग महोत्सव ‘म्याडफेस्ट’ मा देखाइएको यो नाटक साउन ४ देखि फेरि देखाइँदैछ । यी कलाकारका पर्खाइमा आफूलाई भेट्न, आफूलाई खोज्न तपाईं संयोग गुरागाईंद्वारा निर्देशित नाटक हेर्न सक्नुहुन्छ ।

एब्सर्ड शैलीको ‘रेलवे टु नो ह्वेयर’ को सेट नै नाटकले समातेको विधाअनुरूप छ । भर्‍याङजस्तो देखिने रेलको लिग अजिबको शैलीमा हावामा तैरिएको देखिन्छ । जमिनतिर जोडिएको र आकाशतिर फर्केको लिगबीच ठूलो अन्तर देखिन्छ । लिगको बीचको भाग कतै भत्किएको छ, ती दुई जोडिएका छैनन् । जोडिनुपर्ने ठाउँमै टुटेको, भत्किएको त्यो रेलको लिगले कस्तो पो रेल गुडाउँदै आउने कमान्डर पर्खेको होला ? तर, रेल स्टेसनमा जम्मा भएकाहरू लिगको त्यही छेउतिर उभिन्छन्, आफ्नो सर्वस्व त्यहीं सुम्पन्छन् । उनीहरूका आ–आफ्नै लिग छ, त्यही लिगलाई समाएर उनीहरू कमान्डर पर्खन्छन् । लिग समात्न नपाउने भुइँ समातेर पर्खिरहन्छन् । लिगकै लागि अरूसँग लडिरहन्छन् । छेउमा टिकट काउन्टर/सोधपुछ गर्ने ठाउँजस्तो पनि छ । तर, त्यहाँभित्र सुतिरहेको व्यक्ति बोल्दा पनि बोल्दैन, पर्खनेहरूका कुरा सुन्दा पनि सुन्दैन ।

थोरै संवाद, शारीरिक हाउभाउकै शैलीमा तयार यो नाटकले नयाँ स्वाद पस्किन्छ । नाटकमा कतै कथा छैन । पात्रहरू छरपस्ट छरिएका भेटिन्छन् । तर, ती पात्रहरूको कर्म, उनीहरूका भोगाइ र पर्खाइले मञ्चमा एउटा सुन्दर कथा निर्माण हुन्छ । निर्देशक गुरागाईं यसरी नै कथा भन्न माहिर छन् । ‘रोगन’ मै पनि उनले यसरी फरक, पृष्ठभूमिका पात्रहरूमार्फत एब्सर्ड शैलीमार्फत कथा भनेका थिए । ‘रेलवे टु नो ह्वेयर’ का पात्रहरू जीवनको दलदल, अशान्तिबाट उदार खोजिरहेका हुन्छन् । ‘यहाँभित्र दलदल छ, दलदल छ । यहाँ कहाँ शान्ति छ ? सबै कुरा बाहिर छ,’ उद्धारकर्ताको पर्खाइमा रहेकाहरू यही नारासहित स्टेसनमा बसिरहेका हुन्छन् । उनीहरूलाई कमान्डर कसरी आउँछ भन्ने पनि थाहा छैन । एकजना भन्छ, ‘उद्धारकर्ता मेरो प्रिय कमान्डर एकदिन आउँछन्, पर्खाल तोडेर ।’ अर्को पात्र चर्को आवाजमा भन्छ, ‘हात्ती चढेर आउँछ, रेलै चढेर आउँछ । रेलै चढेर आउँछ, हात्ती चढेर ।’ उक्त पात्रको कुरा सक्न नपाउँदै अर्को बोल्छ, ‘हातैले तानेर, बुईमा बोकेर कमान्डर मलाई ब्रह्माण्ड घुमाउनेछन् ।’ अर्का पात्र दर्शकदीर्घातर्फ हेर्दै थप्छ, ‘हात समाएर कमान्डरले मेरो दरबारभरि डुलाउनेछन् ।’ अराजक स्वरमा कोही अर्को पात्र झर्किंदै भन्छ, ‘चाबी दिएर व्यवस्थाको, कमान्डरले मलाई शक्तिशाली बनाउँछन् ।’ तर, उनीहरू सास फेर्न गाह्रो हुने बिरानो ठाउँमा छन् । बिरामी सहर, मरुभूमि सहरबाट उनीहरूलाई तुरुन्तै बाहिर निस्किनु छ । उनीहरूलाई तत्कालै उद्धार आवश्यक छ । जसरी नेपाली जनतालाई दलदलमा भास्सिएको राजनीति, चरम निराशाको सहरबाट मुक्ति चाहिएको छ ।

यी पात्रहरूको पर्खाइ, छटपटी र आशामा नेपाली जनताको अनुहार भेटिन्छ, उनीहरूको आकृति भेटिन्छ । तर, रेल स्टेसनमा जम्मा यी मानिसले के कमान्डरलाई भेट्लान् त ? के नेपाली जनताले विद्यमान उकुसमुकुस सम्बोधन गर्दै देशलाई सुन्दर बनाउने योजनासहितको कमान्डर भेट्लान् ?

युवा निर्देशक गुरागाईंद्वारा निर्देशित यो नाटकले पर्खिन मात्रै सिकाउँदैन । कमान्डर पर्खिरहेकाहरूका भोगाइबाट वर्तमान समस्यासँग जुध्दै आफैं समाधानको बाटो खोज्ने नयाँ जोस, जाँगर र आशा पनि थपिदिन्छ ।

नाटकले सपना मात्रै देखाउँदैन, यो हाम्रो वास्तविकतासँग पनि ठोक्किन्छ । के तपाईं आफ्नो जीवनको रेल आफैं कुदाउन तयार हुनुहुन्छ ? कि जिन्दगीको रेल छुट्यो भन्दै आँसु खसाल्दै हुनुहुन्छ ? तपाईं कस्तो कमान्डरको पर्खाइमा हुनुहुन्छ ?

प्रकाशित : श्रावण ५, २०८१ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×