कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खुल्यो : निर्माण उद्योग परिषद्

काठमाडौँ — नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेको बताएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव रामशरण देउजाले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खुलेको प्रतिक्रिया दिए।

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खुल्यो : निर्माण उद्योग परिषद्

उनले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पार्ने प्रभाव र सम्बोधन सकारात्मक हुनेमा आफूहरु विश्वस्त रहेको बताए । महासचिव देउजाले संकटको डिलमा पुगिसकेको परिस्थिति गहन अध्ययन गरेर मौद्रिक नीति आएको बताए ।

उनले विदेशी ऋणहरु क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा राष्ट्र बैंक गम्भीर रहेको पाएको बताए । बजारमा पैसा पुर्‍याउने सरकारको पहिलो माध्यम निर्माण क्षेत्र रहेको भन्दै महासचिव देउजाले पैसा बजारमा जान बन्द भएको अवस्थामा अहिलेको अवस्थालाई बुझेर समस्या समाधान गर्ने गरी मौद्रिक नीति आएको बताए ।

उनले भने, 'विगत तीन/चार वर्षको कोभिडपछिको राम्रो मौद्रिक नीति आएको छ । संसार नै कोभिडबाट अछुतो रहन सकेन । नेपालमा यो ४ वर्षको आर्थिक आँकडालाई हेर्ने हो भने संकटको डिलमा पुगिसकेको परिस्थिति थियो । केही सर्टेन सूचकले छैन त्यो परिस्थिति भन्ने पनि देखियो । तर निजी क्षेत्रको दृष्टिकोणले हेर्दा एकदमै असहज र संकटपूर्ण परिस्थितिमा नेपालको आर्थिक अवस्था छ भन्नेकुरा बैंकहरुमा रहेको डिपाजिटलाई हेर्दा पनि क्लियर हुन्छ । बैंकमा यत्रो डिपोजिट छ, हामीसँग रोजगारी छैन । बजेट खर्च भइरहेको छैन । सरकारले भुक्तानी गर्न सकिरहेको छैन । विदेशी ऋणहरु क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गरेर हामीसँग भइरहेका रिसोर्सहरुलाई कुन ढंगले एउटा परिधिभित्र राखेर जाँदा सहज हुन्थ्यो होला भन्ने ढंगले राष्ट्र बैंकले बिस्तारै अध्ययन गरेर मौद्रिक नीतिमा यस्ता धेरै कुराहरु राखेको छ ।'

महासचिव देउजाले सरकारको पैसा बजारमा पुर्‍याउने पहिलो माध्यम नै निर्माण क्षेत्र रहेको भन्दै त्यो क्षेत्र नै अहिले बन्द रहेका कारण बातावरण असहज बनेको बताए । 'मौद्रिक नीति राम्रो आयो । यसले समग्र निजी क्षेत्रलाई अघि जाने, सुचारु हुने अवस्था सिर्जना गरेको छ । यो मौद्रिक नीतिले एउटा बिरामीलाई जसरी भेन्टिलेटर उपलब्ध भएपछि आफ्नो रोग रिकभर गर्दै जान्छ, त्यो अवसर यसले दिएको छ । सबै समस्या समाधान भएका होइनन्, अरु थुप्रै समस्या छन्, भुक्तानीकै समस्या छ । भुक्तानी भन्दा पनि पहिलो प्राथमिकता दिनुपर्ने क्षेत्र यो थियो,' उनले भने ।

प्रकाशित : श्रावण १२, २०८१ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×