कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

मयूरधाप औद्योगिक क्षेत्र निर्माण ८ वर्षदेखि अलपत्र

भाद्र २२, २०८१
मयूरधाप औद्योगिक क्षेत्र निर्माण ८ वर्षदेखि अलपत्र

Highlights

  • पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जग्गाका कारण औद्योगिक क्षेत्र निर्माण अघि बढ्न सकेन 

मकवानपुर — हेटौंडा औद्योगिक क्षेत्रको विकल्पका रूपमा हेटौंडा–१४ स्थित मयूरधापमा शिलान्यास गरिएको ‘मयूरधाप औद्योगिक क्षेत्र’ निर्माणको काम आठ वर्षदेखि अलपत्र छ ।

तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सातै प्रदेशमा एक–एकवटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित ०७३ मा औद्योगिक क्षेत्र घोषणा भएअनुसार शिलान्यास गरिएको मयूरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम हालसम्म अगाडि बढ्न सकेको छैन ।

क्षेत्रफलको हिसाबले देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा अभाव रहेको र काठमाडौं उपत्यकाभित्रका औद्योगिक क्षेत्र भरिएका कारण दुवैको विकल्पका रूपमा सरकारले मयूरधाप औद्योगिक क्षेत्रको योजना अगाडि बढाएको थियो । तर, मयूरधाप औद्योगिक क्षेत्रको समग्र कामको प्रगति शून्यमै अल्झिरहेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जग्गाका कारण औद्योगिक क्षेत्र निर्माणको काम अगाडि नबढेको हो । सरकार परिवर्तन भएसँगै हरेक उद्योगमन्त्रीले यस क्षेत्रको भ्रमण गरेका हुन्छन् । उनीहरूले समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन । उद्योगमन्त्री दामोदर भण्डारीले पनि यस क्षेत्रको भ्रमण गरी आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

चुरेको खहरेले धार परिवर्तन गरेसँगै मयूरधापमा ठूलो क्षेत्रफल खाली जमिनका रूपमा रहँदै आएको छ । बुट्यानले ढाकेको जमिनमा ठूला रूख छैनन् । उक्त जग्गा समथर छ । यस क्षेत्रमा कुल ५० प्रजातिका चराचुरुंगी तथा १३ प्रजातिका घस्रने जीवजन्तु पाइन्छन् । यहाँ पाइनेमध्ये १४ प्रजातिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जोखिम वर्गमा सूचीकृत गरिएका छन् । जसमध्ये ९ वटा स्तनधारी, दुईवटा पन्छी तथा तीनवटा घस्रने जनावर पर्छन् । जसकारण पर्सा राष्ट्रिय निकुञ्जले यसअघि औद्योगिक क्षेत्रको काम रोकेको थियो ।

संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा मयूरधापको फाइल वर्षौंदेखि अड्किरहेको छ । मन्त्रालयले निकुञ्जको बफरजोन क्षेत्रभित्र जग्गा परेको भन्दै काम अगाडि बढाउन स्वीकृति दिएको थिएन । हाल मयूरधापमा बस्ती बढेसँगै जनावर तथा विभिन्न प्रजातिका चराचुरुंगीको आवागमन पनि घटेको पाइन्छ । ईआईए स्वीकृत नहुँदा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य रोकिएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाकी निमित्त प्रमुख इन्जिनियर संगीता कुँवरले जनाइन् । ‘यहाँको सम्पूर्ण फाइल वन मन्त्रालयमा ईआईएको स्वीकृतिका लागि पठाइएको छ,’ उनले भनिन् । प्रतिवेदन स्वीकृत भएर आएपछि पूर्वाधार निर्माणको काम अघि बढाउन सहज हुने उनको भनाइ छ ।

विभिन्न समस्या उत्पन्न भएपछि ०७३ वैशाख १४ को मन्त्रिपरिषद् बैठकले क्षेत्रफल घटाएर मयूरधापको १३४.८६ हेक्टर (१९९.१२ बिघा) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । सरकारले ०७५ कात्तिक ५ देखि परियोजना कार्यालय स्थापनासमेत गरेको थियो । यसअनुसार मयूरधाप औद्योगिक क्षेत्र ०७७ भित्रै सञ्चालन गर्ने योजना सरकारको थियो । तर ईआईए प्रक्रिया अगाडि बढ्न नसक्दा काम अघि बढ्नै सकेन ।

औद्योगिक क्षेत्रको जग्गालाई ६२ वटा औद्योगिक प्लटमा विभाजन गरिएको छ । छुट्याइएको प्रत्येक प्लटमा ७ देखि १४ रोपनीसम्म जग्गा छ । औद्योगिक क्षेत्रमा सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जग्गा उपलब्ध गराउने भनिएको थियो । तर मुद्रण कम्पनी काभ्रेमा राख्ने सरकारको तयारी छ ।

विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अनुसार पूर्वाधार निर्माणका लागि करिब ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ खर्च लाग्ने देखिन्छ । औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने सरकारी दाबी छ । मयूरधाप औद्योगिक क्षेत्रमा रङ, दुग्ध उत्पादन, साबुन, खाद्य, प्लास्टिक, स्टिल, रबर, तार, डिस्टिलरी, पाइप, काष्ठ सामान, कपडा, सिमेन्ट, इलेक्ट्रोमेकानिकल कार्यशाला, छाला उद्योगजस्ता उद्योग प्रस्ताव गरिएका छन् । औद्योगिक क्षेत्रमा पानी प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको प्रस्ताव गरिएको थियो ।

प्रकाशित : भाद्र २२, २०८१ ०६:२९
x
×