कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

अर्थतन्त्रका सूचक सकारात्मक छन् : अर्थमन्त्री पौडेल

भाद्र ३१, २०८१
अर्थतन्त्रका सूचक सकारात्मक छन् : अर्थमन्त्री पौडेल

Highlights

  • बुटवललाई पश्चिम क्षेत्रको आर्थिक हब बनाउने गरी सरकारले काम गरिरहेको दाबी

बुटवल — सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दाबी गरेका छन् । उनले वर्तमान सरकार बनेसँगै नागरिकमा आशाको सञ्चार भएको बताए । 

बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजश्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक इन्डिकेटरहरू सकारात्मक देखिएको बताएका हुन् ।

‘मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएका छन्,’ उनले भने, संसदका दुई ठुला दलहरू एकै ठाउँमा उभिएपछि स्थिरता, विकास र समृद्धिको लागि जनतामा आशाको सञ्चार भएको छ ।’ सरकार संसदको बाँकी अवधिको पुरा कार्यकाल जाने पनि उनले दाबी गरेका छन् ।

एमालेका उपाध्यक्षसमेत रहेका नेता पौडेलले बुटवल पूर्वपश्चिम र उत्तर दक्षिणकोसमेत ट्रान्जिट भएकाले आर्थिक हवको रुपमा विकास हुने गरी सरकारले काम गरिरहेको बताए । त्यसैले यस क्षेत्रका उद्योगी व्यवसायीले तत्कालै केही भएन भनेर मन साँघुरो बनाउन जरुरी नरहेको पनि उनले स्पष्ट पारेका छन् ।

‘निर्माणाधीन बुटवल–नारायणगढ सडक छिटो भन्दा छिटो पूरा गर्न सरकारले दबाब दिइरहेको छ,’ उनले भने, ‘सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबामा निर्माण हुँदै गरेको सुरुङमार्ग छिटै ब्रेक थ्रू हुने र पूर्वपश्चिम राजमार्गको तिनाउमा सिग्नेचर ब्रिज, बुटवल–चन्द्रौटाको सडकको स्तरोन्नती र बुटवलको चौराहा गोलपार्क सडकको निर्माण तोकिएकै समयमा पुरा हुने र त्यसले बुटवलको आर्थिक विकासमा टेवा पुग्ने विश्वास छ ।’

उनले सिद्धबाबाको ब्रेक थ्रुसँगै बुटवल चन्द्रौटा सडक दसैं पछि सुरु हुने उनले बनले बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले शिलान्यास भएर रोकिएको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडि बढाउन, खुला सीमाका कारण नेपाली उद्योगी व्यवसायीलाई पर्ने गरेको मर्का र राजश्वमा परेको असरमा समेत ध्यान दिन अर्थमन्त्रीलाई आग्रह गरेका थिए । ‘बिमाको दाबी भुक्तानीमा पनि ठूलो समस्या छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले त्यसको सहज भुक्तानीका लागि दबाब दिन जरुरी छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका हिसाबले सात प्रदेश मध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सम्भावना रहेको बताए । उनले मुलुकमा नीतिगत स्थायित्व नभएका कारण लगानीकर्तामा कन्फिडेन्स विल्डप नभएको बताए ।

‘नीतिगत स्थायित्व भएन भने कन्फिडेन्स विल्डप गर्न सकिंदैन,’ उनले भने, ‘अहिले नीतिगत अस्थिरता छ, अर्थमन्त्रीज्यूको रुपमा विष्णु पौडेल आएपछि केही भएपनि आशा जाग्रित भएको छ । त्यसको लागि लगानीकर्तालाई कन्फिडेन्स बिल्डप गराउनु होला ।’

सरकार र नीजि क्षेत्रको सहकार्यमा भएका लगानी सम्मेलनपछि लगानी डिस्करेज गरेका आठवटा कानुन सुधार भएको बताउँदै उनले लगानी निरुत्साहित गरेका अझै धेरै कानुन सुधार गर्न आवश्यक रहेकाले त्यसमा ध्यान दिन आग्रह गरेका छन् ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले बुटवलमा रात्रीकालीन बजार सञ्चालन, मोतिपुर औद्योगिक क्षेत्र निर्माण र सेमलारमा यस क्षेत्रकै ठूलो कृषि उपज केन्द्र स्थापनालाई विशेष प्राथमिकता दिइएको बताए ।

उनले बुटवललाई पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने र भारतीय पर्यटकलाई बुटवल हुँदै मुक्तिनाथ पुर्‍याउनको लागि बुटवल–मुक्तिनाथ, बुटवल–गोरखपुर रुटको विकास गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित : भाद्र ३१, २०८१ १६:०२
x
×