कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एनसेलको टिकटक प्याक : टेलिकममा पनि सहजै प्रयोग गर्न सकिने

भाद्र २२, २०८१
एनसेलको टिकटक प्याक : टेलिकममा पनि सहजै प्रयोग गर्न सकिने

काठमाडौँ — नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएसँगै एनसेलले टिकटक प्याक घोषणा गरेको छ भने नेपाल टेलिकमले पनि सहजै प्रयोग गर्न सकिने जनाएको छ ।

केही समयअघि आयोजित एक कार्यक्रममा एनसेलले टिकटक प्रतिबन्धका कारण आफ्नो वार्षिक आम्दानीमा साढे एक अर्ब रुपैयाँ घाटा लागेको बताएको थियो भने टेलिकमले पनि उस्तै हाराहारीमा आम्दानी गुमाएको जानकारहरूले बताउँदै आएका थिए ।

निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेलले शुक्रबारबाट टिकटक प्याक सञ्चालनमा ल्याएको हो । सबै ‘सधैं अन’का प्याकमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको कम्पनीले जनाएको छ । ग्राहकहरुले करसहित १७५ रुपैयाँमा सात दिन सम्ममा अनलिमिटेड टिकटक चलाउन पाउने र यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्ने विज्ञप्तीमा उल्लेख छ ।

सरकारबाट टिकटकको प्रयोग र पहुँचमा लगाइएको रोक हटेसँगै एनसेलले सधैं अन प्याकमा निःशुल्क पाइने सोसल मिडिया डेटामा टिकटक थपेको हो । ‘नेपालमा औधी मनपराइएको टिकटक एपमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहक सबैका लागि स्वागत योग्य छ,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसीनको भनाइ छ, ‘हामीले आजैबाट लागू हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिन टिकटक प्याक ल्याएका छौं र सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौँ ।’

मन्त्रिपरिषद्को भदौ ६ को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो । त्यसपश्चात नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २१ मा सूचना प्रकाशित गरेर सबै मोबाइल सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो । प्राधिकरणको सूचनाकै आधारमा नेपाल टेलिकमले टिकटकको प्रयोगमा लगाइएको रोक हटाएको जनाएको छ । ‘टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ,’ विज्ञप्तीमा भनिएको छ ।

टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ नेतृत्वको मन्त्रीपरिषद्ले २०८० कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिबन्धपश्चात टिकटकको क्यास सर्भर विस्थापित भई अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढ्दा करोडौँ रुपैयाँ विदेशिएको जानकारहरूले बताउँदै आएका थिए । नौ महिना टिकटक ब्यान्ड हुँदा धेरैले भीपीएन र ओपन डीएनएसको सहयोगमा टिकटक चलाएका थिए । यसले गर्दा अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात वृद्धि भएको थियो ।

प्रकाशित : भाद्र २२, २०८१ १५:५४
×