कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

भाद्र ३१, २०८१
नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक उर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।

ईन्जिनियरीङ अध्ययन संस्थान, पुल्चोक कलेजले विकास गरेको पेट्रोल र हाईड्रोजनबाट चल्ने गाडीको सोमबार शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले यस्ता प्रविधिको विकास र प्रवर्द्धनमा आवश्यक नीतिगत व्यवस्थाकालागि मन्त्रालय अग्रसर रहेको समेत बताए ।

औद्योगिक मुलुकहरुका कारण विश्वव्यापी रुपमा बढिरहेको कार्वन उत्सर्जनको मार नेपाल जस्ता मुलुकहरुमा समेत पर्दा हिमालदेखि समुद्रसम्म प्रदुषणको असर परिरहेको दहालको भनाइ छ । यस्ता विश्वव्यापी चुनौतीहरुको सामना गर्न नेपाल पनि तयार रहनुपर्ने भन्दै उनले वातावरणमैत्री र नविकरणीय ईन्धनको प्रवर्द्धनमा जोड दिन जरुरी रहेको स्पष्ट पारे ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाईड्रोजन नेपालले प्राकृतिक रुपबाटै प्राप्त गर्न सक्ने भएकाले औद्योगीक उत्पादन र उपयोगकालागि कानूनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए ।

प्रकाशित : भाद्र ३१, २०८१ १७:१७
x
×