कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

‘गरिबी निवारणका लागि लघुवित्त अपरिहार्य’

भाद्र २२, २०८१
‘गरिबी निवारणका लागि लघुवित्त अपरिहार्य’

काठमाडौँ — गरिबी निवारण तथा ग्रामीण अर्थतन्त्र विकासका लागि लघुवित्त अभियान अपरिहार्य भएको सरोकारावालाले बताएका छन् । पछिल्लो समय लघुवित्त खारेजीको नारासमेत लाग्न थालेको सन्दर्भमा उनीहरुले ग्रामीण अर्थतन्त्र विकास एवम् गरिबी निवारणका लागि लघुवित्तको विकल्प नै नभएको दाबी गरे । 

लघुवित्तका पिता भनेर परिचित डा. हरिहर देव पन्तको नवौं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताहरुले स्थानीयस्तरमा उत्पादन एवम् उद्यमशीलता वृद्धि, रोजगारी सिर्जना तथा जनताको आर्थिक उन्नतीका लागि लघुवित्त अपरिहार्य भएको बताएका हुन् ।

प्रतिनिधिसभाकी सांसद भगवती चौधरीले लघुवित्त क्षेत्रमा समस्या देखिएको भएपनि त्यसको समाधान सवै पक्ष मिलेर गर्न सकिने बताइन् । तर, आन्दोलनका नाममा लघुवित्त संस्थालाई मात्रै दोषी करार गर्न नमिल्ने उनको भनाइ छ । ‘अहिले लघुवित्तमा समस्या देखिएको छ, यसको कारक संस्थादेखि ग्राहक र नियनमकारी निकायलगायत सबै हुन्, सवै जिम्मेवार भएका कारण मिलेर समस्या समाधान गर्नुपर्छ,’ उनले भनिन्, ‘ग्रामीण अर्थतन्त्र विकासमा लघुवित्तको विकल्प छैन, यसले महिलाको आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान गरिरहेको छ ।’

सांसद चौधरीले लघुवित्तको ऋण मिनाहा गरिदिने भन्दै ठगीधन्दासमेत हुन थालेको बताएकी छन् । ‘आन्दोलनमार्फत ऋण मिनाह गराईदिने भन्दै लघुवित्त ऋणीबाट एक हजार देखि ५ हजारसम्म उठाएको समेत सुनिएको छ,’ उनले भनिन्, ‘त्यसैले नियमनकारी निकाय, लघुवित्त संस्था र ऋणी मिलेर समस्या समाधान गर्नुपर्छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् माईक्रोफाईनान्स सुपरिवेक्षण विभाग प्रमुख विमलराज खनालले लघुवित्तको मर्मविपरितका कार्य हुँदा समस्या सिर्जना भएको बताए । ‘लघुवित्तको मर्मअनुसार काम भएन, एउटै व्यक्तिलाई धेरै संस्थाले कर्जा प्रवाह गरे, संस्थाहरुले पनि छिटो नाफा आर्जन गर्न खोजे, संस्थाहरु धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा समेत भयो,’ उनले भने, ‘संस्था र ऋणी दुवैको नियतले समस्या ल्यायो, अहिले समाधान हुँदै गइरहेको छ ।’

उनले पछिल्लो समय लघुवित्तका कर्मचारी एवम् कार्यलयमा आक्रमण हुनेलगायत अवाञ्छित क्रियाकलपा हुन थालेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले नेपालको ग्रामीण जनता र खासगरी महिलालाई आर्थिक क्षेत्रमा जोड्ने काम लघुवित्त क्षेत्रले गरेको बताए । लघुवित्तले ६० लाख जनतामा वित्तीय पहुँच पुर्‍याएको भन्दै गरिबी निवारणमा थप योगदानका लागि लघुवित्त सबल हुनुपर्ने बताए ।

डा. हरिहर देव पन्त फाउण्डेशनका अध्यक्ष जनार्दन देव पन्तले २०४९मा ५० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनी भएको र लघुवित्त अभियानले न्यूनीकरणमा महत्वपूर्ण योगदान गरेको बताए । ‘देशमा अझै करीब २० प्रतिशत जनता गरिबीको रेखामुनी रहेका छन्, यो गरिबी निवारणको लागि लघुवित्त अपरिहार्य छ,’ उनले भने । लघुवित्तको शुरुवात गरी आफ्नो जीवनभर गरिबी र वेरोजगार हटाउन लाग्नू भएका डा. हरिहरदेव पन्तका आधूरा कार्यहरु पुरा गर्ने कार्यमा आफूहरु निरन्तर प्रयासरत रहेको उनले बताए ।

प्रकाशित : भाद्र २२, २०८१ १५:२१
×