कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मख्ख छन् अस्ट्रियाका प्रशिक्षक

एएफपी

बर्लिन — अस्ट्रियाका प्रशिक्षक राल्फ रान्गनिक मान्छन्, युरोको त्यो समूह जित्नु आफैंमा अद्वितीय हो । जहाँ फ्रान्स थियो, नेदरल्यान्ड्स पनि । समूह ‘डी’ को खेलमा उनको टिमले नाटकीय रूपमा नेदरल्यान्ड्सलाई ३–२ ले हरायो । यसको अर्थ नेदरल्यान्ड्सले तेस्रो स्थानमा रहेको टिमका रूपमा अन्तिम १६ खेल्नेछ । समूहको अन्तिम दिनको खेलअघि अस्ट्रिया तेस्रो स्थानमा थियो । एकखाले अन्योलता थियो । 

मख्ख छन् अस्ट्रियाका प्रशिक्षक

अब यही टिमले समूहमा पहिलो स्थान कब्जा गरेको छ । अब टर्की, चेक गणतन्त्र वा जर्जियामध्ये एकविरुद्ध खेल्नेछ । अस्ट्रिया त्यो टिम हो, जसले अहिलेसम्म युरोको क्वाटरफाइलन यात्रा तय गरेको छैन । तर सायद अब सम्भावना बलियो बनेको छ । रान्गनिक भन्छन्, ‘फ्रान्सविरुद्धको पहिलो खेल नै गुमायौं, आत्मघाती गोलमा । त्यसपछि हामीलाई पोल्यान्डविरुद्धको खेल जित्नु नै थियो । अहिले समूह विजेता नै रह्यो, यो त असाध्यै गजब हो ।’

‘प्रतियोगिता सुरु हुनु अगाडि फ्रान्स होइन, अस्ट्रियाले समूह जित्ने छ भनेर बाजी राखेको भए धनी भइसक्थें । तर, फुटबलको मज्जा भन्नु नै यही हो । हाम्रा खेलाडीले अब्बल दर्जाको खेल प्रदर्शन गरे र अहिले त्यसकै पुरस्कार पाइएको छ ।’

डच टिमविरुद्ध प्रशिक्षकले अविश्वसनीय रूपमा चार खेलाडी परिवर्तन गरेर खेलाएको थियो । उनलाई थाहा थियो, चार गोल अन्तरको हारबाहेक अन्य स्थितिमा छनोट धेरै टाढा थिएन ।

इटालीले क्रोएसियालाई अन्तिम क्षणमा गोल गर्दै बराबरीमा रोकेको खेल हेरेर रान्गनिक आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिन प्रेरित भएका थिए । ‘हामी लगभग छनोट भइसकेको स्थितिमा थियौं, त्यसैले केही फरक गर्ने जोखिम लिन सक्थ्यौं ।’

अब त अस्ट्रियाले आरामले अन्तिम १६ को तयारी गर्न सक्नेछ । किनभने एक साताजतिको समय छ । टिमलाई धेरै टाढा निस्कनु पनि छैन । अझ विमान नै समाउनुपर्ने स्थिति छैन । प्रशिक्षक थप्छन्, ‘नेदरल्यान्डलाई हराएर समूह जित्न सकिन्छ, भने जे पनि हुनसक्छ ।’

यो नतिजापछि अस्ट्रिया ६ अंकसहित शीर्षस्थानमा रह्यो भने फ्रान्स ५ अंकमा दोस्रोमा थियो । नेदरल्यान्ड्स ४ अंक लिएर तेस्रो स्थानमा झर्‍यो । प्रतियोगिताबाट बाहिरिइसकेको पोल्यान्डले १ अंक बटुल्यो । अस्ट्रियाले डोन्येल मालेनको आत्मघाती गोलले अग्रता लिएको थियो । त्यसपछि रोमानो स्मिड र मार्सेल सबिट्जरले गोल थपेका थिए । नेदरल्यान्ड्सका कोडी गाक्पो र मेम्फिस डिपेले गोल गरेका थिए ।

प्रकाशित : असार १३, २०८१ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×