कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

इंग्ल्यान्डको प्रदर्शनमा केन सन्तुष्ट

एएफपी

कोलोन — इंग्लिस कप्तान ह्यारी केनले मानेका छन्, युरोको समूह चरणमा आफ्नो टिमले त्यही काम गरेको छ, जुन गर्नुपर्ने थियो । भलै, लिग चरणको अन्तिम खेलमा इंग्ल्यान्डले स्लोभाकियासँग गोलरहित बराबरी खेल्यो ।

इंग्ल्यान्डको प्रदर्शनमा केन सन्तुष्ट

खेल सकिँदा जतिबेला ह्विसल बजेको थियो, गारेथ बेलको टिमलाई लिएर दर्शकले हल्लीखल्ली पनि मच्चाए । कोही पनि समर्थक इंग्ल्यान्डको प्रदर्शनबाट खुसी थिएनन् । इंग्ल्यान्डले लगातार तेस्रो खेलमा राम्रो गर्न सकेन ।

तर, यही टिमले समूह ‘सी’ भने जितेको छ । यो कतिसम्म उपलब्धिमूलक रहेको छ भने इंग्ल्यान्डलाई अगाडि बढ्न अपेक्षाकृत रूपमा सजिलो रहनेछ । अर्कोतर्फ कप्तान केन मान्छन्, सर्बियाविरुद्ध प्राप्त १–० जित र डेनमार्कविरुद्धको १–१ को बराबरीभन्दा स्लोभाकियाविरुद्ध गोलरहित नतिजा उत्कृष्ट रह्यो । उनले भने, ‘प्रतियोगिता सुरु हुनु अगाडि हाम्रो उद्देश्य भन्नु नै समूहको शीर्षमा रहनु थियो, त्यो काम हामीले गरेका छौं ।’

उनले थपे, ‘अरू खेलको तुलनामा यो प्रदर्शन ठीक रह्यो । हामीले राम्रा अवसर सिर्जना गर्न सकेनौं, तर अब अगाडि के हुने हो त्यसबारे योजना तयार पार्न सक्छौं । हामीले अझ राम्रो खेल्न सक्नुपर्ने थियो, यसमा दुईमत छैन ।’ कम्तीमा स्लोभाकियाविरुद्ध दोस्रो हाफमा इंग्ल्यान्डको प्रदर्शन केही दमदार नै थियो । सब्स्टिच्युटका रूपमा कोल पाल्मर र कोबी मैनु छिरे र खेललाई केही भए पनि रोमाञ्चक बनाए ।

‘यो खेलमा जे जतिले खेले, मनले खेले । हामीलाई चाहिने भनेकै यही हो । हामीले टिमका रूपमा एकजुट भएर खेल्नुपर्छ र अहिलेसम्म यही काम गरेका छौं,’ केनले भने । एउटा तथ्य भने निश्चित छ, इंग्ल्यान्डले ५८ वर्ष लामो समयपछि यसपल्ट युरोको रूपमा उपाधि जित्ने हो भने टिमको प्रदर्शनमा व्यापक सुधार आवश्यक हुनेछ । यसमा केन फरक मत राख्छन् । भन्छन्, इंग्ल्यान्ड टिम अहिले सही दिशातर्फ नै अग्रसर छ ।

‘युरोमा सबै खेल उत्तिकै गाह्रो हुन्छ । यो प्रतियोगितामा तेर्सिने चुनौती कठिन हुने गर्छ । यस्ता चुनौती सामना गर्न हामी पूरा तयार छौं,’ केनले थपे । डिफेन्डर जोन स्टोन्स मान्छन्, समर्थकको निराशा केही हदसम्म ठीक पनि हो । ‘हाम्रा समर्थक किन कराइरहेका छन्, मलाई त्यो थाहा छ, तर फुटबल भन्नु नै यही हो, यसमा केही पनि सजिलो र सिधा हुन्न । हाम्रो उद्देश्य समूह जित्नु थियो, त्यो हामीले आत्मसात् गरेका नै छौं ।’

प्रकाशित : असार १३, २०८१ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×