कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

करातेमा जगतको समर्पण

मुगु — खेल क्षेत्रमा जति अवसर छन्, त्योभन्दा धेरै चुनौती । तर हुम्लाको सर्केगार्ड गाउँपालिका-१ जैरका ४५ वर्षीय जगतबहादुर धामी भने चुनौतीसँग जुध्दै कराँते खेलमा रमाइरहेका छन् । उनी कर्णालीकै अब्बल खेल प्रतिभा समेत हुन् ।

करातेमा जगतको समर्पण

स्नात्तकोतर सकेर हाल विद्यावारिधी गरिरहेका धामी कलिलै उमेरदेखि कराँतेमा लागे, त्यसैलाई व्यवसायिक पेशा बनाए । उनले बि.सं २०५१ सालदेखि सितोरिया कराँते खेललाई नै प्रमुख पेशा बनाएका छन् ।

सन् २००६ मा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत सिन्दोकाइकान कराँते संघ दर्ता गरेर उनले फरक तरिकाबाट खेललाई अघि बढाएका छन् । सिन्दोकाइकान कराँतेमा आफू मात्र सीमित नभएर एक पाठशालाको रुपमा विस्तार गरी युवालाई खेल क्षेत्रमा समावेश गरेर अघि बढाएको उनले बताए । हाल उनले आफ्नै नेतृत्वमा खेलकुद संघ सञ्चालित छ । उनी सिन्दोकाइकन कराँते संघका प्रमुख प्रशिक्षण पनि हुन् ।

खेल्दा-खेल्दै हुम्लामा शिक्षण पेशा थालेका उनी सुर्योदय माध्यमिक विद्यालय श्रीनगर गल्फाको प्रधानाध्यापक बनेर समेत काम गरे । यहीबीचमा उनले श्रीनगर गल्फामा बहुमुखी क्याम्पस समेत स्थापना गरेका छन् । तर शिक्षण पेशामा हुँदा पनि उनले कराँते भुलेनन् । पछि शिक्षण नै छोडेर उनले आफूलाई कराँतेमा समर्पित गरेका छन् । अहिले सिन्दोकाइनक करातेको शाखा नेपालभर ३७ स्थानमा विस्तार भएको छ ।

बागमती लुम्बिनी, मदेश, कोशी लगायत प्रदेशमा पनि शाखा स्थापना गरी कराँते खेललाई थप उचाईमा लैजान काम गरिरहेको उनले बताए । हाल नेपालभरिका ५१ वटा बिद्यालयमा सिन्दोकाइन करातेको निरन्तर प्रशिक्षण भइरहेको छ । धामीले सिन्दोकाइकन करातेमा लागेको ३० वर्षको अवधिमै ४५ सय देखि ५ हजार कराते खेलाडी उत्पादन गरेको बताए ।

'खेललाई प्रमुख पेशा बनाएर खटिन सक्नेको भविष्य राम्रो छ,' उनले भने, 'अहिले खेलमात्रै भएर पनि हुदैन । साथै पैसा पनि हुनुपर्ने अवस्था छ । पैसा नभए त्यहीकारण खेलमा पछि परिन्छ ।' उनले आफूले अभावका कारण खेलमा पूर्ण समर्पित हुँदा-हूँदै पनि कतिपय अवसरहरुबाट बञ्चित हुनुपरेको सुनाए ।

त्यसो त उनले तीन दशक लामो खेल यात्रामा दर्जनौँ देशमा पुगेर खेलेका छन् । श्रीलंका, पाकिस्तान, भूटान, जापान, फ्रान्स, मलेसिया, सिंगापुर, थाइल्याण्ड, इन्डोनेसिया, भारत र चीन लगायत देशमा पुगेर आफूले खेल्न पाएको उनले बताए ।

उनले सन् २००६ मा भारतमा कराते तथा किकबोक्सिङ्ग विधातर्फ अन्तर्राष्ट्रियस्तरको गोल्डमेडल पाएका थिए । सन् २०२३ मा उनी थाइल्याण्डमा भएको इन्टरनेशनल र्स्पोटस मिट-२०२३ मा सहभागी भए । त्यहाँ उनलाई इन्टरनेशनल र्स्पोर्ट्स् अवार्ड प्रदान गरिएको थियो । अहिले भने उनी काठमाडौंमै रहेर खेल प्रशिक्षणमा व्यस्त छन् ।

प्रकाशित : जेष्ठ १०, २०८१ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?