कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

पोल्यान्डलाई लेवान्डोस्कीको अभाव

रोयटर्स

बर्लिन — पोल्यान्डका प्रशिक्षक माइकल प्रोबिरेजले अस्ट्रियाविरुद्धको खेलमा आफ्नो देशका सर्वकालीन उच्च गोलकर्ता रोबर्ट लेवान्डोस्कीको अभाव खड्किएको शुक्रबार बताएका छन् ।

पोल्यान्डलाई लेवान्डोस्कीको अभाव

अस्ट्रियाविरुद्ध दुइतिहाइको खेल सकिएपछि मात्रै चोटमुक्त हुन संघर्ष गरिरहेका लेवान्डोस्की मैदानमा छिरेका थिए, तर त्यति कम समयमा उनले कुनै प्रभाव छोड्न सकेनन् । समूह ‘डी’ मा अबेर रातिको खेलमा नेदरल्यान्ड्स र फ्रान्सले गोलरहित बराबरी खेलेपछि पोल्यान्डको घाउ अझ बल्झेको थियो ।

त्यो नतिजाका कारण पोल्यान्ड यसपल्टको प्रतियोगिताबाट बाहिरिने पहिलो टिम भएको छ । अब जतिबेला पोल्यान्डले मंगलबार फ्रान्सको सामना गर्नेछ, त्यो टिमका लागि प्रतिष्ठाको खेलमात्रै हुनेछ । पोल्यान्डले त्यो खेल जिते पनि समूहको अन्तिम स्थानमै रहनेछ टोली । ‘हेड टु हेड’ का आधारमा जस्तै नतिजामा पनि पोल्यान्डले अस्ट्रियालाई उछिन्न सक्ने छैन । ‘यो खेल पनि उत्तिकै प्रतिस्पर्धात्मक हुनेछ । हामीले त्यस खेललाई के निर्णय गरेका छौं भने त्यसमा पनि लेवान्डोस्की सुरुदेखि खेल्ने छैनन्,’ प्रशिक्षक प्रोबिरेजले भने ।

पोल्यान्डको लगातार दोस्रो हार बर्लिनमा अस्ट्रियासँग ३–१ को रह्यो । त्यस खेलको विश्लेषण गर्दै प्रशिक्षक प्रोबिरेजले थपे, ‘दोस्रो हाफमा हामीलाई अस्ट्रियाको रक्षापंक्ति तोड्ने विश्वास थियो, तर सकेनौं । लेवान्डोस्कीले नखेलेपछि उत्पन्न स्थितिलाई हामीले सम्हाल्नै सकेनौं ।’ नेदरल्यान्ड्सविरुद्ध बेहोरेको २–१ को पहिलो हारमा लेवान्डोस्की बेञ्चमै रहेका थिए । दोस्रो खेलको दोस्रो हाफ सुरु हुँदासम्म खेल १–१ को बराबरीमा थियो ।

लेवान्डोस्कीले पोल्यान्डका लागि १ सय ५० औं क्याप जित्नेक्रममा मैदानमा छिरे । तर त्यसले कुनै गतिलो छनक देखाएन । अस्ट्रियाले भने आफ्नो पहिलो खेल फ्रान्ससँग गुमाएको थियो ।

तर, अहिलेको जितले टोलीको नकआउट चरण प्रवेशको सम्भावना तयार भएको छ । राल्फ रान्गनिकको अस्ट्रियाबाट दोस्रो हाफको प्रदर्शन उत्कृष्ट रह्यो । अब त्यसमै टिकेर अस्ट्रियाले नकआउट चरण प्रवेशको सपना देख्न सक्छ । टोलीका लागि एक अंकले पनि काम गर्न सक्नेछ ।

प्रकाशित : असार ९, २०८१ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×