कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

ट्वान्टी-२० विश्वकप क्रिकेट : अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौँ — ट्वान्टी-२० विश्वकप क्रिकेटको सुपर-८ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियाविरुद्ध ऐतिहासिक २१ रनको जित हात पारेको छ । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएको हो । 

ट्वान्टी-२० विश्वकप क्रिकेट : अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । ४१ बल सामना गरेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । अस्ट्रेलियाका लागि अन्य ब्याटर भने चलेनन् ।

अफगानिस्तानका लागि आठौं बलरका रूपमा आएका गुलबदिन नाइबले सानदार बलिङ गरे । ४ ओभरमा २० रन मात्र खर्चिएर उनले ४ विकेट लिए । त्यस्तै नवीन उल हकले ३ विकेट लिए । त्यस्तै अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी र रासिद खानले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । अफगानिस्तानका लागस ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जदरानले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए । गुरबाजले ४९ बलमा ६० रन बनाउँदा जदरानले ४८ बलमा ५१ रन बनाए । १५.५ ओभरमा ११८/१ को स्थितिमा रहेको अफगानिस्तान १२१/२, १२२/३, १२६/४ को अवस्थामा पुगेको थियो ।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले ३ विकेट लिए । त्यस्तै एडम जाम्पाले २ र मार्कस स्टोइनसले १ विकेट लिए । अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई पहिलो पटक हराएको हो । यी दुई टिम आइतबार ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दोस्रो पटक खेलेका हुन् । यसअघि २०२२ को विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको थियो ।

जितसँगै समूह १ को समीकरण रोचक बनेको छ । यो समूहमा भारत २ खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अफगानिस्तान र अस्ट्रेलियाको भने समान २/२ अंक रहेको छ । समूहमा अब सोमबार भारत र अस्ट्रेलियाबीच खेल हुनेछ भने अफगानिस्तान र बंगलादेशबीच मंगलबार खेल हुनेछ ।

बाँकी खेलमा भारतले अस्ट्रेलियालाई हराएको खण्डमा बंगलादेशविरुद्ध जित हात पारेमा अफगानिस्तान विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ । अफगानिस्तान सुपर-८ को पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको थियो ।

प्रकाशित : असार ९, २०८१ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×