कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

जर्मनीको उद्देश्य समूह विजेता

रोयटर्स

फ्र्यांकफर्ट — जर्मनी यस युरो च्याम्पियनसिपको अन्तिम १६ पुगिसकेको छ । तर, यसको अर्थ यो होइन कि यो टिमले लगातार तेस्रो जितका लागि प्रयास गर्ने छैन । जर्मनीले अहिले एक दशकयता युरो इतिहासमै आफ्नो सबैभन्दा बलियो सुरुआतको मज्जा लिइरहेको छ ।

जर्मनीको उद्देश्य समूह विजेता

समूह ‘ए’ जित्ने अभियानका क्रममा सोमबार स्विट्जरल्यान्डको सामना गर्दै छ । जर्मनीका लागि समूह जित्नुको अर्थ हुनेछ, नकआउट चरणको पहिलो खेलमा सजिलो प्रतिद्वन्द्वी ।

सन् २०१४ मा जर्मनीले अन्तिम पटक ठूलो प्रतियोगिताका रूपमा विश्वकप जितेको थियो । त्यो बेलाभन्दा अहिले जर्मनीको सुरुआत उत्कृष्ट छ । स्कटल्यान्डसँग ५–१ र हंगेरीसँग २–० को जित । जर्मनीलाई समूह जित्नका लागि लिग चरणको आफ्नो अन्तिम खेलमा बराबरी पनि पर्याप्त हुनेछ । यस समूहको दोस्रो हुनेले अर्को समूह ‘बी’ मा दोस्रो हुनको सामना गर्नेछ । त्यसैले जर्मनीले यो समूहमा आफू दोस्रो हुने कल्पनासमेत गर्न सक्दैन ।

अहिले तत्कालका लागि जर्मनीको २ खेलबाट ६ अंक छ । स्विट्जरल्यान्ड दोस्रोमा छ । टोलीको ४ अंक छ । त्यसबाहेक स्कटल्यान्डको १ र हंगेरीको कुनै अंक छैन । हंगेरीले लगातार दुई हार बेहोरेको छ । जुलियन नागेल्समनको टिमले समूहको शीर्षस्थान कब्जा गर्ने हो भने अन्तिम १६ मा अपेक्षाकृत सजिलो विपक्षी टिम पाउने छ, समूह ‘सी’ को उपविजेताका रूपमा । त्यस समूहमा इंग्ल्यान्ड ४ अंकसहित शीर्षमा छ भने त्यसपछि समान २ अंकमा डेनमार्क र स्लोभेनिया छन् ।

‘समूह जित्नुको आफ्नै महत्त्व छ,’ प्रशिक्षक नागेल्समन पनि मान्छन्, ‘हामी सबै खेल जित्न चाहन्छौं ।’ यी प्रशिक्षक भर्खर ३६ वर्षका भए । उनले सन् २०२३ को सेप्टेम्बरयता मात्रै जर्मन टिम सम्हालेका हुन् । उनी आएयता तीनपल्टको युरो विजेता टिममा पुनर्जागरण सुरु भएको मानिएको छ । उनले सुरुआती २ खेलमा एउटै ११ खेलाडीलाई प्रयोग गरेका छन् । त्यसको अर्थ तेस्रो खेलमा पनि यो सूची परिवर्तन हुने छैन । ‘टिममा धेरै ठूलो परिवर्तन हुने कुनै सम्भावन छैन,’ उनी भन्छन् ।

स्कटल्यान्ड र हंगेरीलाई हराउने क्रममा उनका खेलाडीले अब्बल दर्जाको खेल प्रदर्शन गरेका छन् । उनी भन्छन्, ‘टिममा त्यस्ता दुई तीन खेलाडीको आवश्यक हुन्छ, जसले एक्लै खेलको दिशा फर्काउन सक्छन् ।’

स्विट्जरल्यान्डलाई भने समूह विजेता हुने हो भने जित नै आवश्यक छ । बराबरीले पनि पर्याप्त हुनेछ, यदि स्कटल्यान्डले हंगेरीलाई हराउन सकेन भने । हारले भने स्विस टिमको सम्भावना कमजोर पार्न सक्छ, त्यसैले टिम सतर्क नै रहनेछ ।

स्कटल्यान्डविरुद्ध आकर्षक बराबरी गोल गरेका स्विस खेलाडी जार्डन साकिरी मान्छन्, जर्मन जत्तिकै बलियो भए पनि उसलाई हराउन सकिन्छ । ‘अब हामीले त्यस्तो टिमको सामना गर्नेछौं, जसको स्तर र इतिहास दुवै विशिष्ट छ । जर्मनीसँग बलियो आक्रमणको अस्त्र मात्र छैन, आयोजक देशका रूपमा फाइदा लिन सक्ने ठाउँ पनि छ । तर हामी आत्मविश्वासी भएर नै मैदानमा उत्रने छौं । स्पष्ट छ, हामी जर्मनीलाई दुःख दिन नै चाहन्छौं,’ साकिरीको दाबी छ ।

प्रकाशित : असार ९, २०८१ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×