कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

जुम्ला — पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

उनका छिमेकी गोरबहादुर रोकाया घोडासिनमा उत्पादन भएको तरकारीले खलंगा बजार धानेको दाबी गर्छन् । उनका अनुसार हिउँदमा हरियो साग र बर्षायाममा तरकारी बजारमा पुर्याउने गाउँ हो घोडासिन । दशक अघिसम्म बारीमा जौं, गहुँ, कोदो, मकै फलाइरहेका गोरबहादुर अहिले अर्गानिक तरकारी उत्पादन गरेर आम्दानी गर्छन् । वार्षिक डेढ लाख रुपैयाँसम्म तरकारीबाट कमाइ हुने गरेको उनले बताए ।

माया र गोरबहादुर प्रतिनिधि मात्रै हुन् । उनी जस्ता १४० घरधुरीमा तरकारी उत्पादन भइरहेको छ । घरघरमा व्यवसायिक करेसाबारी स्थापना भएका छन् । अधिकांश समय किसान पनि तरकारी खेतीमै केन्द्रीत हुने गरेको गोरबहादुरले बताए । उनले भने,‘सिजनमा ब्यापारीहरु गाउँमै पुगेर खरिद गरेर लैजान्छन् । यो गाउॅमा उत्पादित तरकारी कालीकोट, सुर्खेत र नेपालगञ्जका सहरमा जाने गरेको छ ।’ २०६८ देखि यो गाउँमा व्यवसायिक तरकारी खेती सुरु भएको हो । पहिलेदेखि बाँजो रहेको जमिनमा समेत तरकारी खेती सुरु गर्न थालेपछि उपयोगमा आउन थालेको छ ।

युवाहरु रोजगारीको लागि कालापहाडदेखि यार्सां संकलकका लागि डोल्पा र मुगुका पाटनमा जानु परेको छैन । प्लास्टिक टनेल नहालेका कुनै घरपरिवार छैन । बजारीकरण र सिँचाइ समस्या भोगिरहेको किसानहरुको दुखेसो छ । एक परिवारले न्यूनतम एक लाखदेखि अधिकतम ३ लाख रुपैयाॅसम्म तरकारी बेचेर घर भित्र्याउने गरेको स्थानीय जनक बुढाले बताए । उनका अनुसार बर्षमा तरकारी बेचेर दुई करोड भन्दा बढि रकम भित्रिने गरेको छ । सुरुमा एक/दुईजनाले तरकारी खेतीको प्रारम्भ गर्दा कसैले पत्याएनन् । उनले भने,‘जब तरकारी बेचेर राम्रो आम्दानी हुन थाल्यो । अहिले हरेक घर तरकारी खेतीमा लागेका छन् । घोडेसिन भन्ने वित्तिकै तरकारीको गाउॅको रुपमा चिन्ने गरेका छन् ।’

पहिले खेतबारीमा मकै, कोदो, गहुँ उत्पादन भइरहेको थियो । ‘त्यो उत्पादनले बर्षदिन पनि पुग्दैनथ्यो,’ ५० वर्षीया बिजुली बुढाले भनिन्,‘तरकारी खेती गर्दा गाउँको स्वरुप नै बदलिदिएको छ ।’ आफूहरूले उत्पादन गरेको तरकारीले राम्रो बजार अझै राम्रो बजार पाउन नसकेको र बजार व्यवस्थापन भए कृषक थप उत्साहित हुने उनले बताइन् । तरकारी खेती गर्न कृषि विकास कार्यालय र जिल्लाका विभिन्न संघसस्थाले पनि राम्रो सहयोग गर्दै आएका छन् । किसानहरुको तरकारी खेतीप्रतिको आकर्षण हेरेर पातारासी गाउँपालिकाले तरकारी पकेट क्षेत्रका रुपमा छनौट गरेको छ । छोराछोरीको पठनपाठन, घरखर्च व्यवस्थापन तरकारी बेचेर प्राप्त भएको रकमले चलेको स्थानीयले बताउँछन् । रैथाने बाली संरक्षणका लागि सात वटा पकेट क्षेत्र निर्धारण गरेको गाउँपालिकाले जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रावलले घोडासिन गाउँ तरकारी पकेट क्षेत्रका रुपमा छनौटमा परेको उनले बताए ।

रावलका अनुसार वडा १ स्यालागडी गाउँलाई फापर, २ पेरेलाई सिमी, ३ लाई कालीमार्सी धान र ४ लुमलाई चिनो तथा कागुनोको पकेट क्षेत्र घोषणा गरेको छ । ५ नम्बर वडाको लोर्पामा ओखर, ६ को उर्थुमा तरकारी र ७ को पट्मारामा आलुको पकेट क्षेत्र तोकिएको छ । रैथाने बाली संरक्षणमार्फत युवालाई गाउॅमै स्वरोजगार बनाउने पालिकाको योजना रहेको रावलले बताए ।


प्रकाशित : जेष्ठ ३, २०८१ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×