कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दुई छोरीको हत्यापछि न्यायको गुहार माग्दै तारामान

महेश केसी

रुकम पूर्व — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई छोरीको हत्यारालाई कारवाही नभएको गुनासो बुबा तारामान बुढाले गुनासो गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तारामानले हत्याको आरोपमा अरुलाई नै देखाएर वास्तविक दोषी छुटेको आरोप लगाएका हुन् ।  एकै घरका दिदीबहिनी रिना र काली बुढाको शव गत चैत २२ गते फेला परेको थियो । 

दुई छोरीको हत्यापछि न्यायको गुहार माग्दै तारामान

रिपोर्टस् क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मृतकका बुबा तारामानले हत्यामा संलग्न भएका स्थानीय तीन जना युवाहरूको नाम समेत लिएर उनीहरूलाई सामान्य सोधपुछ गरेर प्रहरीले छोडेकोमा गुनासो समेत गरे । ‘छोरीको हत्या गरेका भनेर प्रहरीले गाउँकै दुई जनालाई पक्राउ गर्‍यो । तरउनीहरूले सुधार गृहबाट आफूहरूले हत्या नगरेको भनेर हत्याबारे खुलाएर लेखेको पत्र मैले रुकुम पूर्व प्रहरीमा बुझाए,’ उनले भने, ‘यसबारेमा प्रहरीले केही पनि गरेन । हत्यारा खुलमखुला हिँडिरहेका छन् । मैले न्याय पाइनँ ।’

उनले आफूमाथि ठूलो अन्याय भएको भन्दै हत्यारा जोगाउन चलखेल भएको हुनसक्ने अनुमान समेत गरेका छन् । ‘मेरा छोरीहरूको ज्यान लिने अरु नै हुनु । तर यहाँ अर्कैलाई देखाएर वास्तविक हत्यारा उम्किए,’ उनले भनेका छन् ।

एक वर्षअघि घरबाट सिस्नो टिप्न भनेर गएका रिना र काली भोलिपल्ट घर नजिककैको जंगलमा मृत भेटिएका थिए । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले चैत २४ गते हत्यामा संलग्न भएको आरोपमा सोही गाउँका १३ र ११ वर्षका दुई बालिकालाई पक्राउ गरेको थियो ।

ती दुई जनाले नै रिना र कालीको हत्या गरेको पुष्टि गर्दै घटना घटेको ३ महिनापछि रुकुम पूर्व जिल्ला अदालतले हत्यामा संलग्न भएका दुई बालिकालाई ६ महिनाका लागि सुधारगृहमा राख्न फैसला गरेको थियो ।

सोही फैसला अनुसार ६ महिना सुधारगृहमा बसेर निस्किएका दुई बालिकाहरूलाई समेत राखेर आयोजना गरिएको पत्रकार सम्मेलनमा ती दुई बालिकाले आफूहरू रिना र कालीको हत्या गरेको देखेपछि हत्याराले आफूहरूलाई पनि मार्ने धम्की दिएको र ज्यान जोगाउन हत्या स्वीकार गरेको बताएका छन् । उक्त हत्या गरेको स्वीकार नगरेपछि आफूहरूको समेत ज्यान जान सक्ने देखेर डरले हत्या गरेको स्वीकार गर्नुपरेको उनीहरूको भनाइ छ ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै उनिहरूले आफूहरूलाई हत्या कसरी, कुन तरिकाबाट गरेको र कसरी प्रहरीलाई बताउने भनेर समेत हत्याामा संलग्न भएकाले सिकाएको र आफूहरूले त्यहीअनुसार नै भनेको बताएका छन् । मृतकका बुबाले नाम लिएका तीन जनाको नाम भन्दै उनीहरूले नै हत्या गरेको यी बालिकाहरूले पनि बताएका छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी अञ्जना श्रेष्ठले हत्याबारे सम्पूर्ण अनुसन्धान गरिएको र प्राप्त दसी–प्रमाणका आधारमा नै दोसी पत्ता लगाएकोले प्रहरीको अनुसन्धानमा शंका नगर्न आग्रह गरिन् ।

‘घटनामा संलग्न भएका भनिएका तीन जनामाथि पनि हामीले अनुसन्धान र सोधपुछ गरेका छौं । तर उनीहरू हत्यामा संलग्न भएको अहिलेसम्म देखिएको छैन,’ उनले भनिन्, ‘अनुसन्धान पूरा होस् र प्रभावकारी होस् भन्ने चाहना त सबैको हुन्छ नी । यसकारण हामीले पूरा अनुसन्धान गरेका छौं र आवश्यक परेमा थप अनुसन्धान समेत गर्न सकिन्छ ।’

प्रकाशित : फाल्गुन ७, २०८० ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×