कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘जनयुद्ध दिवस’ का नाममा रुकुम पूर्व र पश्चिमका ८ पालिकाले दिए सार्वजनिक बिदा

महेश केसी

रुकुम पश्चिम — आज फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिन सम्झँदै रुकुम पूर्व  र पश्चिमका ८ वटा स्थानीय तहले सार्वजनिक दिएका छन् । 'फागुण १ लाई जनयुद्ध दिवस’ का रुपमा मनाउन भन्दै माओवादी केन्द्रको नेतृत्वमा रहेका पालिकाहरूमा बिदा दिइएको हो । 

‘जनयुद्ध दिवस’ का नाममा रुकुम पूर्व र पश्चिमका ८ पालिकाले दिए सार्वजनिक बिदा

रुकुम पूर्वका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका तथा पश्चिमका चौरजहारी र आठविसकोट नगरपालिका एवं सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरेर बिदा दिएका हुन् । यी स्थानीय तहहरूले बिदा मात्रै नभएर आज विभिन्न कार्यक्रम समेत गरेर 'जनयुद्ध दिवस’ मनाउने जनाएका छन् ।

रुकुम पश्चिमको चौरजहरी नगरपालिकाले आज वडाहरूमा सहिदको सम्झना, चियापान, शुभकामना आदानप्रदान तथा शीतल माध्यामिक विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्ने कार्यक्रम रहेको नगर प्रमुख पुष्प वादीले जानकारी दिए । नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काद्वारा जारी गरिएको प्रेस नोटमा आज ‘चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यलय र सो अन्तर्गतका वडा कार्यालय र विद्यालयहरूमा समेत सार्वजनिक विदा दिने’ भनिएको छ ।

त्यस्तै रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाले पनि जनयुद्ध दिवसका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन तथा सांस्कृतिक कार्यक्रमको छैटौं संस्कारण आयोजना गर्दैछ ।

आठविसकोट नगरपालिका र त्रिवेणी गाउँपालकाले पनि सहिदको सम्झना गर्दै चियापान तथा शुभकामाना आदान–प्रदान गरेर दिवस मनाउने कार्यक्रम रहेको बताएको छ ।

यसैगरी रुकुम पूर्वका तीनवटै गाउँपालिकाहरूले ठूला औपचारिक कार्यक्रमको आयोजना नगरेपनि आजको दिनलाई विशेष रुपमा सम्झँदै सहिदहरूप्रति सम्मान एवं शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको बताएका छन् ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेको थियो । गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।

प्रकाशित : फाल्गुन १, २०८० ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×