कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अन्तर्राष्ट्रिय शिखर सम्मेलन : लुम्बिनीलाई ‘ब्राण्डिङ’ गर्ने लक्ष्य

घनश्याम गौतम

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको ‘बालबालिका, विकास र शान्तिका लागि लोरियट्स एण्ड लिडर्स अन्तर्राष्ट्रिय चौंथो शिखर सम्मेलन’को तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले विकासका लागि स्रोत जुटाउने उद्देश्यसहित लुम्बिनीको विश्वभर ब्राण्डिङ गर्ने गरी नोबेल पुरस्कार बिजेता र अन्य राष्ट्रक विकास साझेदार संस्थाका प्रमुखहरुलाई लुम्बिनीमा भेला गराउन लागेको हो । 

अन्तर्राष्ट्रिय शिखर सम्मेलन : लुम्बिनीलाई ‘ब्राण्डिङ’ गर्ने लक्ष्य

सम्मेलनबारे जानकारी दिने उद्देश्यले शनिबार बुटवलस्थित मुख्यमन्त्री सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले सम्मेलनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गर्ने र बुद्धका करुणा, अहिंसा एवं शान्तिको सन्देश प्रवाहमा सहयोग पुग्ने बताए ।

‘लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्ने हाम्रो प्रमुख उद्देश्य हो, अरु केही छैन,’ उनले भने, ‘हामी सम्मेलनको व्यवस्थापन, अतिथिहरुको सुरक्षा र सम्मेलनबाट लिन सकिने उपलब्धिहरुको अन्तिम तयारीमा जुटेका छौं । त्यसमा सबैको सहयोगका लागि आग्रह पनि गर्दछौं ।’

सम्मेलनमा सहभागी हुन विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरू र अन्य ३० जना विशिष्ट अतिथि आउने निश्चित भएको उनले बताए । सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्रका प्रमुख, सरकार प्रमुख, पूर्व प्रमुख, नोबेल पुरस्कार बिजेता, विश्वव्यापाी निर्णय निर्माता, विपन्नताबाट माथि उठेका अनुभवी युवा र युवा नेताहरुसहित नेपाली र विदेशी गरी ३ सय बढी विज्ञ सहभागी हुनेछन् ।

सम्मेलनमा मुख्यमन्त्री चौधरीले दिएको जानकारी अनुसार नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेहृम बोवी र टुवाको कर्मयान सहभागी हुने छन् ।

त्यस्तैगरी सन् २०१५ का नाबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसागै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउनेछन् ।

त्यस्तैगरी शिखर सम्मेलनको अवसरमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने निश्चित भएको छ ।

नोबेल पुरस्कार विजेतालाई पाल्पाको तानसेन, प्यूठानको स्वर्गद्धारी र बर्दिया राष्ट्रिय निकुञ्जमासमेत लैजाने तयारी छ । सम्मेलनमा विभिन्न १० शिर्षकमा कार्यपत्र प्रस्तुत हुने र लुम्बिनी घोषणा पत्र जारी हुने सरकारका प्रवक्ता एवं गृह मन्त्री सन्तोषकुमार पाण्डेयले बताए । सम्मेलनको उद्घाटन पूर्व विदेशी अतिथिहरुले बुद्ध जन्मस्थल मायादेवी मन्दिर परिषरबाट पदयात्रा गर्दै उद्घाटनका लागि लुम्बिनी सभाहलसम्म पुग्नेछन् ।

सम्मेलनका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रममै घोषणा गरेर ६ करोड ५० लाख रुपैंया बजेट बिनियोजन गरेको थियो । प्रदेश सरकारको निर्णय, संघीय सरकारको निर्णयपछि सम्मेलनको मिति तय भएको र प्रदेश सरकारले दातृ निकायबाटै स्रोतको व्यवस्थापन गरेर सरकारको कमभन्दा कम आर्थिक खर्चमा सम्मेलन सम्पन्न गर्ने मुख्यमन्त्री चौधरीले बताए ।

‘हामीले बढीमा साढे २ करोड मात्र सरकारको खर्च गर्दैछौं,’ उनले भने, ‘अन्य सबै रकम दातृ निकायबाटै सहयोग हुँदैछ । सहयोग आउनेक्रम जारी नै छ ।’ सम्मेलनले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्धनका लागि सम्भावनाको ढोका खोल्ने लुम्बिनी प्रदेश सरकारको विश्वास रहेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले बताए ।

प्रकाशित : फाल्गुन १९, २०८० १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×