कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

'अभिभावक' पन्छी गिद्ध

भाद्र २२, २०८१
'अभिभावक' पन्छी गिद्ध

कपिलवस्तु — गिद्धको न आवाज मिठो हुन्छ, न स्वरुप राम्रो देखिन्छ । कतिपयले गिद्धलाई हिंस्रक, फोहोरी र घिनलाग्दो चराको रुपमा हेर्ने गरिन्छ। सिनो र फोहोरको डुंगुरमा देख्दा कतिपयले अशुभ पनि मान्छन् । तर, सिनो खान गरिरहेको लुछाचुँडी र पर्यावरणीय महत्वलाई हेर्ने हो भने त्यस्तो कदापि लाग्दैन।

सिकारी चरा भएपनि गिद्ध आफैँले सिकार नगरी मरेका जनावरको सिनो खाने हुँदा यसलाई अहिंसाको पुजारी मानिन्छ । अझ गिद्धले वन, मध्यवर्ती र संरक्षित क्षेत्रमा तथा निकुञ्ज भित्र र आसपास मरेका विषाक्त सिनो खाएर चितुवा र बाघलाई रोगब्याधि लाग्नबाट जोगाएर राम्रो अभिभावकत्व प्रदान गरिरहेको चरा तथा वन्यजन्तु विषेशज्ञ डा. हेमसागर बराल बताउँछन्।

‘सिकार गर्न नसक्ने र आहारा नपाएका बेला बाघ चितुवाले बिषाक्त सिनो खाने अवस्था आउन सक्छ,’ उनी भन्छन्, ‘त्यो सिनो वन्यजन्तुको भोजन हैन । त्यो विषाक्त आहारा खाए बाघ चितुवा बिरामी हुन सक्छन् । यसरीले गिद्धले दूषित सिनो पचाउन सक्ने क्षमताका कारण बाघ चितुवा जोगाउने अभिभावकको भूमिका निभाउँछ ।’

पछिल्लो समय संरक्षण र चेतनाको प्रभावका कारण मुलुकभर गिद्धको संख्या विस्तारै बढ्दै गएपछि संरक्षणकर्मी उत्साहित बनेका छन् । यसै सन्दर्भमा सेप्टेम्बर ७ का दिन विश्वभर १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवश मनाइदैछ । चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहेपनि गिद्ध पर्यावरणका लागि ठूलै भूमिका भएको पन्छी हो ।

प्रकृतिको कुचीकार गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मांसहारी जीवले करिब ३६ प्रतिशत मात्र सडेगलेका मासु र कंकाल खान्छन् । तर, गिद्धले अधिकांश सडेगलेका मासु र कंकाल खाएर वातावरणलाई प्रदूषणमुक्त गर्ने गिद्ध विषेशज्ञ कृष्णप्रसाद भुषालले बताए ।

सन् १९९० को दशकमा नेपाल र भारत लगायत दक्षिण एशियाली मुलुकमा अप्राकृतिक र नाटकीय रुपमा ९१ प्रतिशत बढी गिद्धको संख्यामा गिरावट आएको थियो । पछि सरकारी/गैरसरकारी क्षेत्रबाट थालेको संरक्षण प्रयास, कार्यक्रम र योजनाले गिद्धको संख्या बढाउँदै लगेको देखिन्छ । गिद्ध विनासको कारक बनेको पशु उपचारमा प्रयोग गरिने पीडानाशक डाइक्लोफेनेक औषधिको नेपालमा ०६३ जेठ २३ देखि प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लागेपछि गिद्ध हृास हुनेक्रम घटेको हो ।

गिद्धको पेटमा रहेको अत्यधिक अम्लीय रसले विभिन्न हानिकारक कीटाणु भएको सडेगलेको मासु पनि सहजै पचाउने विज्ञहरू बताउँछन् । तर, गिद्धको अभावमा फालिएको सिनो यसै सड्छ । यस्ता सिनो खाने कुकुर, स्याल, मुसा र झिंगा मार्फत रेबिज, प्लेग, आउ, हैँजा, झाडापखाला जस्ता सरुवा रोगमानिसमा फैलिने जोखिम हुन्छ । त्यस्तै, पशुचौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग सर्न सक्छ ।

विश्वमा २३ र नेपाललगायत दक्षिण एशियामा ९ प्रजातिका गिद्ध पाइन्छन् । मनिसभन्दा आठ गुणा टाढासम्म देख्ने गिद्धले औसत तीन दिनमा एक केजी सिनो खान्छ । सिनोको खोजीमा गिद्ध ३ सय किलोमिटर टाढासम्म उड्छ । अफ्रिकामा गरिएको एक अध्ययनले एउटा गिद्धले ११ हजार अमेरिकी डलर बराबर सिनो सरसफाईमा योगदान गर्छ ।

गिद्धलाई प्राकृतिक सफाइकर्मी भन्दा हुने पन्छी संरक्षण संघ (बिसिएन)का गिद्ध संरक्षण अधिकृत अंकिलबिलास जोशीले बताए । यसले ब्याक्टेरिया, भाईरस र रोगका कीटाणुयुक्त मृत जनावरलाई वातावरणबाट हटाउन महत्वपूर्ण भूमिका खेल्छ । ‘गिद्ध नहुने हो भने रोग फैलिन सक्छ,’ उनले भने, ‘त्यही भएर गिद्धको महत्व असीमित छ ।’

पशु उपचारमा दुखाइ कम गर्ने डाइक्लोफेनेक औषधिको व्यापक प्रयोगका कारण गिद्ध जोखिममा पर्ने गरेका थिए । उक्त औषधि प्रतिबन्धित भए पनि त्यस्तै प्रकृतिको किटोप्रोफिन, निमोसलाइड र एसिक्लोफेनेक जस्ता औषधि अझै प्रयोगमै छन् । यसले पनि गिद्धलाई प्रभाव पारिरहेको छ ।

यी औषधिको प्रयोग पनि पशु उपचारमा रोक्न औषधि ब्यवस्था विभागलाई पत्राचार गरिए पनि अझै नरोकिएको चराविद्हरु बताउँछन् । त्यस्तै, गाउँघरमा पशुचौपायालाई दुःख दिने कुकुर, स्याल र चितुवा जस्ता प्राणीलाई मार्न विष हाल्ने प्रचलनले पनि समस्या थपेको छ । विषादीको कारण मरेका पशुचौपाया खादा गिद्ध पनि मर्ने गरेका छन् ।

त्यसबाहेक गिद्धका विभिन्न पक्षबारे वैज्ञानिक अनुसन्धान, प्रजनन् केन्द्रबाट प्राकृतिक वातावरणमा छाडिएका गिद्धको अनुगमन, सुरक्षित आहारको व्यवस्था र वासस्थान संरक्षणका काम प्रभावकारी नहुँदा पनि चुनौती थपिएको गिद्ध विषेशज्ञ भुसालले बताए ।

उनका अनुसार गिद्ध पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो । पर्यावरणीय चक्र, जैविक विविधता र मानव जातिलाई स्वस्थ राख्नका लागि गिद्धको उपस्थिति राम्रो हुँदा यसको संरक्षणमा भने चाहेजति पहल भएको छैन् । पन्छी संरक्षण संघ लागे पनि अन्य सरोकारवालाले भने बेवास्ता गरेका छन् ।

यसैले गिद्धको महत्व र संरक्षणका बारेमा समेत स्थानीय त्यति सचेत छैनन् । सन् १९८० को दशकमा नेपालमा १० देखि १६ लाखको संख्यामा रहेका गिद्ध अहिले २० हजार आसपास छन् । सन् २००२ देखि २०११ सम्म पूर्वपश्चिम राजमार्गमा गरिएको सर्बेक्षणमा डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरा गिद्ध ९६ प्रतिशतले घटेको देखाएको थियो ।

यस्तो भयावह विनासका करण आईयुसीएनले नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये डंगर, सानो खैरो, सुन र लामो ठुडे गिद्ध अति संकटापन्न सूचीमा राखेको छ । सेतो गिद्ध संकटापन्न, हिमाली, राज र हाडफोर गिद्ध संकटको नजिक सूचीमा राखेको छ । र खैरो गिद्ध सामान्य अवस्थामा छन् । अति संकटापन्न प्रजाति आउँदो १० वर्षमा लोप हुने सम्भावना ५० प्रतिशत रहन्छ ।

नेपालमा पाइने गिद्धमध्ये ६ प्रजाति गिद्धले मात्र गुड बनाई बच्चा कोरल्छ । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुड बनाउने गर्छन् । अरू चरा प्रजाति जस्तै गिद्धको पनि भाले पोथी सजिलै छुट्याउन सकिन्न ।

गिद्धले आजीवन जोडी बनाउँछन् । गुड निर्माण, बच्चा कोरल्ने र हुर्काउने काम भालेपोथीले साझेदारीमा गर्छन् । हाडफोर र सेतो गिद्धको केही अवस्थाबाहेक अन्य प्रजतिका गिद्धले एक वर्ष (एक प्रजनन् अवधिमा) एउटा मात्र अण्डा पार्छ । गिद्धले कोरलेको बचेरा ७० प्रतिशतमात्रै हुर्कन सक्ने तथ्यांक छ ।

प्रकाशित : भाद्र २२, २०८१ १८:५१
×