कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

शिशुलाई प्रेमको भाषा पढाउँदै रेश्मा 

रुपा गहतराज

नेपालगन्ज — फुलमा भमरा झुम्मिएझैँ उनको वरिपरि बच्चाबच्ची झुम्मिन्छन् । कोठाभरी छरिएका खेलौना, भित्ताभरी कोरिएका नम्बरहरु बच्चाबच्ची भुलाउने माध्यम हुन् । खेल्दा-खेल्दै  एउटा हाँस्दा कोही रोइरहेका हुन्छन् । पालैपालो उनी सबैलाई थमथमाउँछिन् । उनीहरुको आनीबानीलाई नजिकबाट नियालिरहेकी २४ वर्षीया  रेश्मा खडकाले दिनभरी बच्चाहरु रेखदेख गर्ने काम गर्छिन् ।

शिशुलाई प्रेमको भाषा पढाउँदै रेश्मा 

पेशाले सशस्त्र प्रहरी महिला कर्मचारी उनको ड्युटी नै साना बच्चाहरुलाई रेखदेख गर्ने हो ।अहिले उनी बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर बागेश्वरीमा रहेको शिशु स्याहार गृहमा कार्यरत छिन् । उनले जागिरे जीवन सुरु गरेको तीन वर्ष भयो । नेपालगंन्ज उपमहानगरपालिका-१४, महेन्द्रनगरमा पर्ने बालेगाउँमा रहेको गणमा दिनभरी उनी बच्चाहरुसँग रुमलिन्छिन् । बिहान आठ बजेदेखि साँझ ६ बजेसम्म उनी बच्चाहरुलाई खेलाइरहन्छिन् ।

केन्द्रमा ३२ जना बच्चाहरु छन् । उनीहरुमध्ये एक वर्ष मुनिका १५ जना र एक वर्षभन्दा माथिका नौ जना रहेका छन् । ‘बच्चा स्याहार्न आफ्नै बच्चा हनुपर्छ भन्ने छैन । हरेक छोरी मान्छेमा मातृत्व भरपुर हुन्छ,’ उनले मुस्कुराउँदै भनिन् , ‘अहिले आफ्नै बच्चा हुन बाँकी भएपछि बच्चा कसरी हुर्काउने भन्ने अभ्यास गर्न पाएकी छु ।’ बाँकेको बैजनाथ गाउँपालिका-३ बनखेत घर भएकी रेश्माका पति भने सिबिलिएन हुन् उनी एक अस्पतालको ल्याबमा काम गर्छन् ।

दिनभरी बच्चाहरुसँग हुँदा पनि रेश्मालाई कहिले झर्को लाग्दैन । ‘अहिले त बानी परिसक्यो,' उनले भनिन्, 'सुरुमा अलि गाह्रो भयो । बिस्तारै सबै बच्चाहरु पनि मसँग झयाम्मिने भए ।' उनले त्यसै बच्चा स्याहार्ने जिम्मा पाएकी भने होइनन् । सिटिभिटी अर्न्तगत् सशस्त्र प्रहरी बल श्रीमती संघले राखेको दुई महिने तालिममा उनी युनिटको प्रतिनिधित्व गर्दै बच्चा रिझाउने सीप सिकेकी छिन् ।

‘तर एउटा बच्चाले चाँडो बुझ्ने भाषा भनेको प्रेम नै रहेछ,' अनुभव सुनाउँदै उनी भन्छिन्, 'जति गरेपनि बच्चाहरुलाई खेलौनाले भन्दा मायाले नै भुलाउन सजिलो हुने रहेछ ।' उनको अनुभवमा बच्चा हेर्ने काम सजिलो भने होइन ।

बच्चाहरुको पहिलो जिम्मेवारी रेश्माकै काँधमा भएपनि एकै उमेरका बच्चाहरु धेरै भएकाले उनलाई अर्की सहकर्मीले सुकुमा खडकाले सघाउँछिन् । साथै, बच्चाहरुका आमाहरु पालैपालो चार-चार घण्टापछि आएर बच्चाहरु रेखदेख गर्ने काम गर्छन् ।

बिहान ६ देखि १० बजेसम्म, दिउँसो १० बजेपछि दुई बजेसम्म, दुई बजेदेखि ६ बजेसम्म बच्चाका आमाहरुले शिशु स्याहार गृहमा ड्युटी गर्छन् ।यसरी शिशु स्याहार गृहमा राखिएका बच्चाहरु गणमा कार्यरत महिला कर्मचारीका हुन् । जो ड्युटीमा जाँदा आफ्ना बच्चाहरुलाई स्याहार केन्द्रमा छोडेर जान्छन् । शिशु स्याहार केन्द्रमा स्तनपान गराउने समयमा आमाहरु आउने गर्छन् । गणमा भने ४५जना महिला कर्मचारी कार्यरत छन् ।

प्रत्येक महिला कर्मचारीले बच्चा सानो हुँदासम्म गण भित्रै ड्युटीमा खटाउने गरिएको छ । उनीहरुलाई बाहिर फिल्डमा पठाइदैन । सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले भने, ‘महिलाहरुको वर्क टाइम र उनीहरुको पर्फमेन्स कुनै असर नहोस् भनेर गणभित्रै शिशु स्याहार केन्द्र सञ्चालन गरिएको हो । आमा भएपछि महिला कर्मचारीहरुलाई जागिर गर्न गाह्रो नहोस्, बरु मनोबल बढोस् भन्ने ध्येयले यस्तो प्रयास गरिएको हो ।'

प्रकाशित : फाल्गुन १८, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×