कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

परम्परागत सीप प्रवर्द्धन र स्थानीय उत्पादनलाई प्रदर्शन गर्न ‘तानसेन महोत्सव’

विगतमा पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले गर्दै आएको महोत्सव यसपटक तानसेन नगरपालिकाले गर्न लागेको हो ।
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिकाले परम्परागत सीप प्रवर्द्धन र स्थानीय उत्पादनलाई प्रदर्शन गर्न ‘तानसेन महोत्सव’ को तयारी गरेको छ । कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापार, तानसेन महोत्सव भन्ने मूल  आयोजना गर्न लागेको हो । पहिचान गुम्दै गएको पाल्पाली ढाका, सीप हस्तान्तरण हुन नसकेको पाल्पाली करुवा लगायतको प्रवर्द्धन महोत्सवमा गरिने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।  

परम्परागत सीप प्रवर्द्धन र स्थानीय उत्पादनलाई प्रदर्शन गर्न ‘तानसेन महोत्सव’

उनका अनुसार फागुन १९ देखि २९ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा महोत्सव चल्ने छ । महोत्सवमा पाल्पाली ढाका र करुवाको परम्परागत सीपको पेभेलियन रहने उनले बताए । लुम्बिनीमा हुने सम्मेलनमा सहभागी नोबल पुरस्कार विजेतालगायत अन्य सहभागीलाई पाल्पाली ढाका र करुवाका विषयमा जानकारी गराउने कार्यक्रम छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलनमा सहभागीलाई तानसेन महोत्सवको अवलोकन गराउने तयारी गरिएको उनले बताए ।

कृषि उत्पादन, लघु तथा घरेलु उत्पादन प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, बैंक तथा वित्तीय संस्था, सूचना प्रविधि, अटो मोवाइल, स्वास्थ्य, पर्यटन तथा स्वदेशी अन्य उत्पादनका स्टल रहनेछ । ‘नगरपालिकाले कृषि तथा पशुपालनमा ठूलो लगानी गरेको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘त्यसलाई देखाउने अवसरका रूपमा महोत्सवलाई लिएका छौं ।’

तानसेन नगरपालिका बाख्रापालन, तरकारी खेती, बंगुरपालनलगायतका क्षेत्रमा गैरसरकारी संघसंस्थासँग मिलेर कोभिडपछि ६ करोडभन्दा बढी लगानी गरेको छ । जसबाट देखिने प्रतिफललाई प्रदर्शन गर्न पनि यसपटक तानसेन महोत्सव आयोजना गरेको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताइन् । उनका अनुसार गरेको कामको प्रचारप्रसार गर्ने अवसरका रुपमा महोत्सवलाई लिएको हो । ‘काम गरिएको छ तर पनि देखाउने अवसर भएन,’ उनले भनिन्, ‘त्यसैले पनि यसलाई अवसरका रूपमा लिएर आगामी दिनमा नागरिकको सुझावअनुसार काम गरिनेछ ।’

विगतका वर्षमा भने पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले यस्ता मेला महोत्सव गर्दै आएका थिए । टुँडिखेल स्तरोन्नतिका कारण रोकिएको मेला महोत्सव गत वर्ष पाल्पा उद्योग वाणिज्य संघले गरेको थियो । त्यसअघि पाल्पा व्यापार संघले दमकडामा महोत्सव गरेको थियो । रामपुरमा रामपुर उद्योग वाणिज्य संघले महोत्सव गर्दै आएको छ ।

महोत्सव सञ्चालन गर्न विभिन्न उपसमिति गठन गरेको नगरप्रवक्ता यादवसिंह कार्कीले बताए । पर्यटन र कृषिको माध्यमबाट रोजगारको पहिचान साथै सिर्जना तथा आन्तरिक राजस्वको प्रवर्द्धनका लागि महोत्सव राखिएको उनले बताए । ‘स्थानीय भाषा, कला, संस्कृति, धार्मिक मुल्य र मान्यताको संरक्षण गर्ने महोत्सवको मुल उद्देश्य हो,’ उनले भने, ‘नगरपालिकाले स्थानीय प्रविधिलाई प्रोत्साहन र बाहृय प्रविधिको पहिचान गर्ने लक्ष्य लिएको छ ।’

महोत्सवलाई तीन लाख बढी दर्शकले अवलोकन गर्नेछन् । १० करोड बढीको कारोबार हुने अनुमान नगरपालिकाको छ । महोत्सव सञ्चालन गर्न भने टेन्डर आह्वान गरेर ठेक्का दिइएको छ । राजधानी राइड्स नेपाल कम्पनीले टुँडिखेलमा महोत्सव सञ्चालनको ठेक्का पाएको छ । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।

महोत्सवबाट ६१ लाख बढी राजस्व बचत हुने अनुमान नगरपालिकाको छ । बचत रकम तानसेन नगरको भौतिक पूर्वाधार निर्माणका साथै आवश्यक कार्यमा खर्च गरिने उनले बताए । महोत्वस स्थलमा प्रवेश गर्नका लागि ७० रुपैयाँ साधारण टिकट कायम गरिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ तथा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । ‘हामी सबैको उत्सव, हाम्रो महोत्सव’ मूल नारा राखिएको छ । टुँडिखेल मैदानलाई प्रयोजनमा ल्याएर आन्तरिक राजश्व वृद्धि गर्ने योजनाका साथ महोत्सव सञ्चालन गर्न लागेको हो । मेला संचालनको जिम्मा लिएको कम्पनीले ६१ लाख ४७ हजार ठेकेदार कम्पनीले नगरपालिकालाई बुझाइसकेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । महोत्सव संचालन गर्न विभिन्न प्रायोजक संस्थाले दिने रकम समेत नगरपालिकाले नै आम्दानी र खर्च गर्नेछ ।

प्रकाशित : फाल्गुन ११, २०८० १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×