कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

गाउँको शिक्षा-स्वास्थ्य सुधार्न एक्लैले ६० लाख दान 

प्रकाश बराल

बागलुङ — गलकोट नगरपालिका-६ का ६३ वर्षीय झप्परबहादुर बस्नेतले माध्यामिक तह उत्तीर्ण गरेपछि उच्च शिक्षा पढ्न पाएनन् । गाउँघरमा उच्च शिक्षाको अवसर नभएपछि राजधानी पुगेर पढ्न गाह्रो थियो ।

गाउँको शिक्षा-स्वास्थ्य सुधार्न एक्लैले ६० लाख दान 

पढ्न नपाएको पीडा उनलाई गहिरो रुपमा रहेको थियो । हाल जापानमा रोजगारीमा रहेका बस्नेतले पत्नी खड्ककुमारीको सल्लाहमा गाउँमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लाखौं सहयोग गरेका छन् । एक वर्षभित्रमा बस्नेत दम्पतीले गलकोटको शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा ६० लाख रुपैयाँ बढी सहयोग गरेका छन् ।

गलकोट बहुमुखी क्याम्पसको शैक्षिक सुधार गर्न आयोजित महायज्ञमा २१ लाख सहयोग गरेका बस्नेतले तीन महिनाअघि गलकोट नगर अस्पताललाई १० लाख र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणको जग्गा व्यवस्थापनमा १५ लाख सहयोग गरेका हुन् । त्यसबाहेक गलकोट आँखा अस्पताल, एम्बुलेन्स खरिद र गलकोटमा हुने स्वास्थ्य शिविर, खेलकुद र अन्य कार्यक्रममा समेत उनले लगातार सहयोग गर्दै आएका छन् ।

जापानमा काम गर्दै आएका उनले आफ्नो पालामा शिक्षा र स्वास्थ्यमा सेवा पाउन नसक्दाको दुःख सम्झेर गाउँमा नियमित सहयोग गरेको बताए । ‘हाम्रो पालामा गाउँमा उच्च शिक्षा पढ्न पाइएन, त्यसैले हामी पढाइ पुरा नगर्दै मजदुरीमा निस्कन बाध्य भयौं,' बस्नेतले भने, ‘समयमा स्वास्थ्य सेवा र उपचार नपाएको दुःख पनि हामी सँगै छ ।’ उपचार अभावमा आमाबाबुलाई गुमाएको उनले पीडा सुनाए ।

गलकोट बहुमुखी क्याम्पसलाई गुणस्तरीय बनाउने र रोजगारमूलक विषय थप गर्ने लक्ष्यले गरिएको महायज्ञमा बस्नेतले सबैभन्दा धेरै २१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । ‘सरकारी बजेट नपाएपछि स्थानीयको स्रोत संकलन गर्न महायज्ञ गरेका हौं,’ क्याम्पस प्रमुख मुकुन्द्रसिंह भण्डारीले भने, ‘यो अभियानमा बस्नेत परिवारको महत्वपूर्ण योगदान भयो ।’ क्याम्पसले होटल म्यानेजमेन्ट र पर्यटनलगायतका व्यवहारिक र रोजगारमूलक संकाय थप गरेर पढाइ गर्ने लक्ष्य राखेको छ ।

२४ वर्षअघि बस्नेतका बाबुको पेन्सन बुझ्न सदरमुकाम जाँदा बाटोमा हृदयघात भएर मृत्यु भएको थियो । बागलुङ अस्पतालले मृत घोषणा गरेपछि उनको बागलुङमै दाह संस्कार गर्नु परेको थियो । झप्परबहादुर ६ दिनपछि मात्र काजक्रिया गर्न जापानदेखि आइपुगेका थिए ।

आमाको पनि २२ वर्षअघि काठमाडौंमा मृत्यु भएको बस्नेतले सुनाए । भाइहरुले काजक्रिया गरिरहेका बेला उनले आफू ढिलो गरी मिसिन आएको बताए । त्यो पीडा अरुलाई नपरोस् भनेर बस्नेत दम्पतीले गलकोट नगर अस्पतालमा मर्चरी स्थापना गरिदिएका हुन् । काजकिरियाका लागि बिदेशबाट आउनुपर्ने बाध्यता भएका छोराछोरीलाई उक्त मर्चरी उपयोगी भएको पौडेलले बताए ।

जापानमै बस्दै आएका गलकोट–३ का सन्तबहादुर खत्रीले पनि क्याम्पस व्यवस्थापन गर्न २० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । वडा नं ३ कै प्रेम बस्नेत र अमृता बस्नेतले १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको क्याम्पस व्यवस्थापन समितिका सदस्य हिमबहादुर भण्डारीले बताए ।

गलकोट समाज जापानमा आबद्ध भएकाहरुले गलकोटको शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै सहयोग गरेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । ‘हामीले उहाँहरुको सहयोगले धेरै काम गर्न सक्यौं,’ उनले भने, ‘बिदेशमा काम गरेपनि गाउँमा सहयोग गरिदिंदा शिक्षा र स्वास्थ्यमा फड्को मार्न सकेका छौं ।’

गलकोट नगरपालिका–३ का स्वर्गिय बाबुआमा बद्रीकुमार श्रेष्ठ र आमा बगेमकुमारीको स्मृतिमा छोरा निर्मलसहित श्रेष्ठ परिवारका सदस्यले भने १ करोड १ हजार सहयोग गरेका छन् । गलकोट–३ कै भीमबहादुर कुँवर र उनको छोराछोरी परिवारले पनि २६ लाख सहयोग गरेको वडा ३ का अध्यक्ष फमबहादुर खत्रीले जानकारी दिए । महायज्ञमा २० करोड संकलन गरेर गलकोट बहुमुखी क्याम्पसको शैक्षिक सुधार गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×