कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

हेटौंडाका १९ वटै वडामा आँखाको पर्दा जाँच शिविर

प्रताप विष्ट

हेटौंडा — दिर्घ रोगका कारण आँखाको पर्दामा समस्या आउन सक्ने भन्दै हेटौंडा उपमहानगरपालिकाले नगरका १९ वटै वडामा आँखाको पर्दा जाँच कार्यक्रम सुरु गरेको छ । 

हेटौंडाका १९ वटै वडामा आँखाको पर्दा जाँच शिविर

हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग तथा टोलविकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा नगरका सम्पूर्ण वडामा रहेका मधुमेहका बिरामी तथा ५० वर्ष उमेर समूहका नगरवासीको आँखाको पर्दा जाँच कार्यक्रम सुरु गरेको हो । मधुमेह तथा उमेर हदका कारण आँखामा समस्या आउन सक्ने भन्दै मंगलबार हेटौंडा–ؘ१९ सान्नानीटारबाट थालिएको आँखा जाँच कार्यक्रमको नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । शिविर १९ नम्बर वडाको तीन स्थानमा सञ्चालन गरिएको छ ।

नगर प्रमुख लामाले दैनिक रुपमा नगरमा बढ्दै गएका दिर्घरोगीहरु लक्षित गरी आँखा जाँच कार्यक्रम अघि बढाएको बताइन् । नगरमा १९ वटै वडाका विभिन्न ठाउँमा पुगेर आँखाको अवस्थाबारे जानकारी लिने र उपचारमा सहयोग गर्ने नीति उपमहानगरले लिएको बताइन् । घरबाट हिँड्डुलका लागि असहज भएकालाई अस्पतालसम्म जानुपर्ने समस्या हटाउनका लागि उक्त कार्यक्रम वडा तहसम्म लगिएको बताइन् ।

वडाहरुमा पुग्ने शिविरबाट नगरवासीको आँखाको अवस्था पहिचान हुने र उपचारका लागि मद्दत पुर्‍याउने उद्देश्य रहेको भन्दै उनले उपचारमा समस्या हुनेलाई उपमहानगरले सहयोग गर्ने बताइन् । वडाहरुमा सञ्चालन हुने शिविरका लागि उपमहानगरले अस्पताललाई आँखा जाँचको मेसिन सहयोग गरेको छ ।

कार्यक्रममा सामुदायिक आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले शिविरमार्फत आँखामा सुगर, प्रेसरसहित अन्य समस्याबारे जानकारी गराइने बताए । अस्पतालमा आउने बिरामीहरुको तथ्यांकको आधारमा हेटौंडामा दिर्घ रोगका कारण आँखामा समस्या भएको बिरामीको संख्या धेरै रहेकाले उपमहानगरसँगको सहकार्यमा शिविर सञ्चालन गरिएको बताए ।

आँखा परीक्षण नभएका कारण पर्दामा समस्या आए उपचारका लागि खर्च बढी लाग्नबाट जोगाउन र समयमै उपचारमा लाग्न सहयोग पुर्‍याउन शिविर सञ्चालन गरेको जानकारी दिए । पहिलो दिनको शिविरमा ९० जनाको आँखाको पर्दा परीक्षण गरिएको छ । शिविरमा आएकामध्ये मधुमेह (सुगर) का कारण २० जना बिरामीको आँखामा समस्या देखिएको सामुदायिक आँखा अस्पतालका प्रशासन प्रमुख सुधीर भद्रले जानकारी दिए ।


प्रकाशित : श्रावण ८, २०८१ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×