कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रकम उठाएर पाडी वितरण नगरेपछि वडामा तालाबन्दी 

दोलखा — पशुपालक किसानका लागि साझेदारी कार्यक्रमअर्न्तगत भैंसीको पाडी खरिदका लागि साझेदारी रकम उठाएर पाडी खरिद नगरेको भन्दै जिरी नगरपालिका–७ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरिदिएका छन् ।

रकम उठाएर पाडी वितरण नगरेपछि वडामा तालाबन्दी 

वडाले ५६ जना स्थानीयसँग साझेदारी कार्यक्रममार्फत पाडी वितरणका लागि ५ लाख ६० हजार रुपैयाँ उठाएर पाडी वितरण नगरेको भन्दै स्थानीयले बिहीबार वडामा ताला लगाएका हुन् । ताला लगाएपछि वडाको कामकाज ठप्प भएको छ ।

वाग्मती प्रदेश सरकारले विनियोजन गरेको साझेदारी कार्यक्रमअन्तर्गत जिरी नगरपालिकाले पशुपालन प्रवर्द्धन कार्यक्रम गर्न गएको आर्थिक वर्षमा १० लाख वडाका लागि विनियोजन गरेको थियो । तर उक्त वडाका अध्यक्ष शान्त नेपालीले साझेदारीका लागि रकम उठाएर पाडी खरिद नगरेर सम्पर्कविहीन बनेको भन्दै स्थानीयले तालाबन्दी गरेको बताएका छन् ।

यस्तै विपन्न तथा दलितका लागि कृषि तथा पशुपालनमा आएको २ लाख बजेटसमेत जनप्रतिनिधिले आफैले चौपाया किनेर दुरुपयोग गरेको स्थानीयको आरोप छ । अध्यक्ष शान्त नेपालीसँग सम्पर्क गर्न खोज्दा उनको फोन स्वीचअफमा राखिएको छ । वडाका सदस्य दिपक जिरेलले प्रदेशबाट साझेदारी कार्यक्रममार्फत ७ वडा छनौट भएको र १० लाख बजेट आएको बताए । पाडी वितरणका लागि साझेदारीअन्तर्गत सोहीअनुरुप किसानसँग निवेदन माग गर्दा ६० जना जतिको मात्रै आएको उनले बताए । सय जना किसानका लागि कार्यक्रम भएकाले गएको आर्थिक वर्षमा पाडी वितरण गर्न नसकिएको जिरेलले बताए ।

उक्त रकम पाडी वितरण नै नभएर फ्रिज भएकाले पैसा जम्मा गरेकाहरुको रकम फिर्ता हुने पनि उनले जानकारी दिए । उक्त वडाका वडा सचिव दिनेश जिरेलले भने आफूलाई साझेदारी कार्यक्रमका बारेमा जानकारी नभएको बताए । वडाको कामकाज भने तालाबन्दीका कारण ठप्प भएको उनले बताए ।

प्रकाशित : श्रावण ३, २०८१ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×