कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री जम्कट्टेल

धुलिखेल — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताएका छन् । 

ठूला आयोजनाको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री जम्कट्टेल

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुंगामा आयोजना गरिएको जनमुक्ति मार्ग–तालढुंगा–सिक्रेदोभान–झुरझुरे सडकखण्ड आयोजना तथा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास र पालिकाको व्यवस्थापनमा शुक्रबारबाट सञ्चालनमा ल्याएको स्थानीय उत्पादन खरिद बिक्री केन्द्रको उद्घाटनका अवसरमा उनले प्रदेशको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले विगतमा छुटेका तालढुंगा करिडोर र पालिकास्तरीय आधारभूत अस्पतालका लागि आगामी आर्थिक वर्षको सम्बोधन गर्ने जानकारी दिए । डाँडापारिको तालढुंगालाई बनेपा र धुलिखेलसँग जोड्ने मुख्य सडक तालढुंगा–खोपासी सडकका लागि यसै वर्षबाट बजेट व्यवस्थापन गरी अगाडि बढाउने उनको भनाइ छ ।

संघीय सरकारले प्रदेश सरकारलाई सुम्पेको करिब तीन सयभन्दा बढी सडकको गुरुयोजना प्रदेश सरकारले बनाइसकेकाले अब ती सबै आयोजनाको काम निरन्तर अगाडि बढ्ने उनको भनाइ थियो ।

उनले परिवर्तनका लागि जनमुक्ति सेनाले ज्यानको बाजी लगाएर लडेर ल्याएको व्यवस्थालाई स्थापित गर्नका लागि हिजोको गौरवपूर्ण क्रान्ति र जनमुक्ति सेनासँग जोडिएको मार्गका रुपमा लिएर काम अगाडि बढाइरहेको उनले बताए । बीपी राजमार्गदेखि महाभारत पहाड हुँदै मदनभण्डारी राजमार्ग जोड्ने सडकका रुपमा जनमुक्ति मार्ग निर्माण भएको मुख्यमन्त्री जम्कट्टेलले बताए । सो क्रममा उनले पूर्वाधार विकासका सबै काम प्रदेश सरकारले जिम्मा लिने भएकाले अब स्थानीय सरकार कृषि उत्पादन र प्राविधिक शिक्षालाई अगाडि बढाउनका लागि योजना बनाउनतर्फ लाग्नुपर्ने धारणा राखे ।

प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले डाँडापारिको विकासका लागि शिक्षा क्षेत्रबाट सुधार गर्दै भौतिक पूर्वाधारका काममा प्रदेश सरकार स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताए । जनताको विकासप्रतिको चाहना पूरा गर्नका लागि संघीय सरकार साथमा नै रहेको उल्लेख गर्दै उनले जनतालाई सुविधा प्रदान गर्न सबै एकजुट भएर लाग्न आग्रह गरे ।

वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य तीर्थ लामाले विकासका काममा सबै राजनीतिक दल र नागरिक सबै एकजुट भएर काम गर्नका लागि एकबद्धता आवश्यक रहेको बताए ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले डाँडापारिका नागरिकले आफ्नै गाउँमा कालोपत्र सडक र सिंहदरबारको सुविधा घरआँगनमा नै प्राप्त गर्न सफल हुँदै गएको बताए ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सो क्षेत्रका नागरिकलाई विकासको अनुभव हुने गरी प्रदेश सरकारल बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिए । यहाँका नागरिकको दैनिक जीवनसँग जोड्ने आवश्यक उपभोग्य सामग्रीको व्यवस्थापनदेखि प्रशासनिक कामका लागि बनेपा धुलिखेल जोड्ने सडक सञ्जाल टुट्ने र हेटौँडा जोड्ने बाटो सिक्रेदोभानमा वाग्मती खोलाले छेक्ने भएपछि समसया झेल्नुपरेको बताउँदै अब जनमुक्तिमार्ग र खोपासी–तालढुंगा सडकखण्ड पक्की बनेपछि सहजता हुने अपेक्षा व्यक्त गरे ।

प्रकाशित : जेष्ठ २५, २०८१ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×