कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

१६ लाख भेडाबाख्रालाई खोप

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश सरकारले  प्रदेशभरका जिल्लाहरूमा भेडाबाख्रालाई पीपीआर रोग नियन्त्रण र रोकथामका लागि खोप लगाउन सुरु गरेको छ  ।  प्रदेश सरकारले सप्ताहव्यापी खोप अभियान बुधबारदेखि सुरु गरेको  हो ।

१६ लाख भेडाबाख्रालाई खोप

पीपीआर रोग भेडाबाख्राका लागि हैजाजस्तै मानिने रोग हो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मकवानपुरमा २ लाख ८ हजार भेडाबाख्रालाई खोप लगाइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बताए । मकवानपुरमा ३ लाख १३ हजार बाख्रा र २ हजार ५ सय भेडा रहेका छन् । प्रवक्ता कँडेलका अनुसार एक पटक खोप लगाइसकेका भेडाबाख्रामा ३ वर्षसम्म रोग प्रतिरोधात्मक क्षमता रहने भएकाले खोप लगाउन बाँकी भेडाबाख्रालाई प्राथमिकतामा राखेर खोप लगाइनेछ ।

मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले पीपीआरविरुद्धको खोप अभियानमार्फत प्रदेशभर पीपीआर रोग न्यूनीकरणका लागि जनचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको जानकारी गराए । कार्यक्रम प्रदेशका १३ वटै जिल्लाबाट एकैसाथ सुरु गरिएको छ ।

यसका लागि सम्बन्धित पशु सेवा कार्यालयद्वारा खोप अभियानका लागि स्थानीय तहको समन्वयमा खोप केन्द्र निर्धारण र भ्याक्सिनेटर नियुक्त गरिएको जनाइएको छ । प्रदेशभर १ हजार २ सय खोप केन्द्रबाट खोप लगाइने भएको छ भने ४ सय १८ जना भ्याक्सिनेटर खटिएका छन् । मकवानपुरमा १९ खोप केन्द्र रहेको छ । ती खोप केन्द्रमा ६३ जना भ्याक्सिनेटर खटिएका छन ।

मन्त्रालयले प्रदेशभर १५ लाख ९४ हजार भेडाबाख्रालाई खोप लगाउदैछ । सबैभन्दा बढी धादिङ जिल्लामा २ लाख २८ हजार र सबैभन्दा कम भक्तपुरमा १२ हजार भेडाबाख्रालाई खोप लगाइने भएको छ । खोप अभियान फागुन २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : फाल्गुन १६, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×