कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

लापर्बाहीले करेन्ट लागेर मृत्यु भएको भन्दै उजुरी

शिव पुरी

रौतहट — रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही टोलमा मंगलबार करेन्ट लागेर मृत्यु भएको घटनामा छिमेकीको लापर्बाही भन्दै पीडितले प्रहरीमा उजुरी दिएका छन् । नाङ्गो तार छाडेका कारण मृत्यु भएको भन्दै घटनाको छानबिन र कारबाहीका लागि पीडित परिवारले इलाका प्रहरी गरुडामा ज्यानसम्बन्धी कसुरमा निवेदन दर्ता गराएका हुन् ।    

देवाही गोनाही–७ गोनाही टोलका चुनलीलाल पासवानको छिमेकी रामदरेश यादवको खेतमा पानी पटाउने क्रममा गुल्टेन यादवले चलाएको मोटरको तारमा करेन्ट लागेर मृत्यु भएको मृतका भाइ रामनरेश पासवानले बताए ।

‘गुल्टेन यादवको मोटरबाट रामदरेस यादवको खेतमा पानी पटाउने क्रममा नाङ्गो तार छाडेकाले त्यसैमा परेर दाजुको मृत्यु भयो,’ उनले भने, ‘यो सरासर लापर्बाही हो । यसको छानबिन हुनुपर्छ ।’ पीडित परिवारले इलाका प्रहरी गरुडामा जाहेरी दिइसकेको बताए । मृतक पासवान आफ्नो खेतमा जाने क्रममा रामदरेशको खेतमा पानी पटाउन जडान गरिएको नाङ्गो तारमा परेर गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक उमाशंकरप्रसाद गुप्ताले विद्युत् करेन्ट लागेर मृत्यु भएका पासवानको परिवारले इलाका प्रहरी गरुडामा ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराइसकेको बताए । करेन्ट लागेर गम्भीर घाइते पासवानलाई तत्कालै सशस्त्र बेस क्याम्प देवाहीबाट खटिएका सशस्त्र प्रहरीले उपचारका लागि शिवनगर झाझ पुलस्थित ग्रान्डी अस्पतालमा लगेको थियो ।

उपचारकै क्रममा पासवानको मृत्यु भएको हो । प्राधिकरणको लापर्बाही र सेवाग्राहीकै कमजोरीका कारण करेन्ट लागेर मधेशमा सर्वसाधारणको मृत्यु हुने घटना बढिरहेको छ । तराई/मधेशमा २०७५ सालयताको पाँच वर्षमा ४ सय ४९ जनाको मृत्यु भइसकेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण २, २०८१ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा घुमाउरो तरिकाबाट सांसदको तजबिजमा खर्च गर्न पाउनेगरी बजेट बाँड्ने तयारीबारे तपाईंको राय के छ ?

×