कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

तल्लो अरुणमा खाँदबारी क्षेत्रका २ सय ६८ परिवार प्रत्यक्ष प्रभावित हुने

भाद्र ११, २०८१
तल्लो अरुणमा खाँदबारी क्षेत्रका २ सय ६८ परिवार प्रत्यक्ष प्रभावित हुने

संखुवासभा — संखुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाबाट खाँदबारी नगरपालिका क्षेत्रका २ सय ६८ परिवार प्रत्यक्ष प्रभावित हुने भएका छन् । 

सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुनर्बास तथा पुन:स्थापनाको मस्यौदा प्रतिवेदन मंगलबार खाँदबारीमा सार्वनिक गरेको छ । उनीहरुको करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ । सतलजले प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड बढी मुआब्जा वितरण गर्ने जनाएको छ ।

तल्लो अरुण बन्ने पक्का भएपछि निर्माणकर्ता भारतीय सतलज कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग छलफल अघि बढाएको हो । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका २ चेवाबेंसीमा करिब १७.४ किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावरडेभलपमेन्ट कम्पनीका सीईओ अरुण धिमानले बताए । सतलजले अहिले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ । अरुण तेस्रोको निर्माण मोडालिटीमै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो ।

प्रकाशित : भाद्र ११, २०८१ १७:५२
x
×